सिरहा, १९ मंसिर । सिरहाको लक्ष्मीपुपतारी गाउँपालिका वडा नम्बर –४ स्थित ईकाला प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये चारजना पक्राउ परेका छन्। भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो। एकजना तत्कालै पक्राउ परेका थिए। सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर –१२ स्थितमा वडाध्यक्षको लागि शनिबार उपनिर्वाचन हुँदै थियो। जनकपुरमा विवाहपञ्चमी सुरु भएको थियो। एकदिन अघि शुक्रबार धनगढीमाई नगरपालिकामा बम फेला परेको थियो। अधिकांश प्रहरी निर्वाचन, विवाह पञ्चमी र बम राख्ने व्यक्ति खोज्नतिर लागे।
स्थानीय तहको कार्यालयमा पनि प्रहरी परिचालन गरिएको थियो। प्रहरी चारैतिर खटिएको सूचना पाएको मौका छोपेर लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –४ स्थित इकाला प्रहरी कार्यालय महेशपुर पतारको हिरासतबाट ११ जना थुनुवामध्ये ८ जना भागे। भागेका एकजना तत्कालै पक्राउ परे। सात जना अझै फेला परेका छैनन्। साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडी पट्टिको ताल्चा तोडेर भागे। प्रेसर कुकुरको डण्डीले ताल्चा तोडेको प्रहरीले जनाएको छ।
फरार हुनेमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रणधीरकुमार यादव, २१ वर्षीय गणेश साह, १७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन्। प्रहरीका अनुसार आठजना फरार भएकोमा वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय सञ्जय यादव तत्कालै पक्राउ परे। फरारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनु भयो। ‘सीमा सिल गरिएको छ। ठाउँठाउँमा प्रहरी खटाइएको छ’, उनले भने।
छानबिन समिति सिरहामा
प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धान गर्न एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। जुन समिति सिरहा आएर छानबिन गरिरहेको छ। के–कति कारण र कमजोरीले थुनुवा फरार भएका हुन् भन्नेबारे टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
अपुग जनशक्तिले सुरक्षा चूनौती
दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चूनौती देखिएको छ। जिल्लामा नेपाल प्रहरीतर्फ ९९० जनाको दरबन्दी भए पनि २७२ दरबन्दी रिक्त छन्। घटना भएको दिन शनिबार त सिरहाबाट १०७ जना प्रहरी जनकपुर र महोतरी विवाह पञ्चमी र उपनिर्वाचनमा खटाइएको थियो। ११३ जना जिल्लाभरिबाट कल्याणपुर नगरपालिका वडा नम्बर –१२ मा भएको उपनिर्वाचनमा खटाइएको थियो।
घटना भएको इलाका प्रहरीमा ४० जनाको दरबन्दी छ। तर त्यहाँ २७ जना मात्रै कार्यरत छन्। उपनिर्वाचनको दिन त्यहाँबाट केही प्रहरी बाहिर पठाइएको थियो। केही प्रहरी कार्यालय बाहिर खटिएका थिए। सुरक्षाकर्मी कम भएकै बेला हिरासतबाट थुनुवा फरार भएका हुन्। साँझ थुनुवालाई खाना खुवाउने बेला एकजना महिला प्रहरी हतियारसहित थुनुवाको सुरक्षामा खटिएका थिए। उनी केही सामग्री लिन त्यहाँबाट हटेपछि थुनुवा ताल्चा तोडेर भागेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्