काठमाडौं, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बन्न नेपाल आएका करिब ३ सय खेलाडीहरुमा उत्साह जगाउन पाकिस्तानी मन्त्री डा.फेममिदा मिर्जा नेपाल भ्रमणमा छिन् ।
सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबार सम्म नेपालमा रहने कार्यक्रम रहेको छ । पाकिस्तानको अन्तरप्रान्तीय समन्वय मन्त्री डा. मिर्जाले पाकिस्तानी खेलाडीहरुको उत्साह बढाउनका लागि नेपालको तीन दिने भ्रमण तय गरेको पाकिस्तानी दूताबासले जनाएको छ ।
पाकिस्तानले आफ्नो भूमिमा सन् १९८९ मा चौथो र सन् २००४ मा नवौं साग आयोजना गरेको थियो । नेपालमा सम्पन्न तेह्रौं प्रतियोगिताले नेपाल र पाकिस्तानवीचको सम्बन्धलाई सुदृढ गरेको पाकिस्तानी मन्त्रीको भनाइ छ । विभिन्न खेलमा सहभागी हुन महिला र पुरुषतर्फ गरी ३ सय पाकिस्तानी खेलाडी नेपाल आएका छन् । पाकिस्तानले अहिलेसम्म दुई स्वर्ण, ३ रजत र ५ कास्य गरी १० वटा पदक हात पारेको छ ।
प्रतिक्रिया दिनुहोस्