प्रधानमन्त्रीज्यू, तपाईंले आफैंलाई अन्याय गर्ने छुट छैन

पार्टी एकताका सन्दर्भमा जस्तासुकै सहमति भएपनि तपाईंको स्वास्थ्यले साथ दिएसम्म तपाईं नै प्रधानमन्त्री हुनुपर्दछ र हुनुहुन्छ भनेर मैले तपाईंलाई धेरै पटक ढुक्कसँग भन्दै आएको थिएँ



सम्माननीय प्रधानमन्त्रीज्यू ,
तपाईं यतिबेला सामान्यतया नसोचिएको विरामीपनका कारण अस्पतालको शैयामा भएको अवस्थाले म मर्माहत भएको छु । सर्वप्रथम यथाशिघ्र तपाईंको पूर्ण स्वास्थ्यलाभसहित यथाशिघ्र राजपाटको नियमिततामा फर्कनका लागि कामना गर्दछु । यी शव्द केवल औपचारिकता नभएर भावनात्मक सम्वन्धको रसी जोडिएका कारणले पत्रकारिताको व्यवसायिकताभन्दा बाहिरबाट म तपाईलाई पत्र लेखिरहेको छु ।
म शुरुमै भन्न चाहन्छु, तपाईंले मसँग धेरै अन्तरङ्ग प्रसङ्गहरु बताउनुभएको छ । मेरो पुस्तक अवतरणको विमोचन र त्यसको दोस्रो तथा अङ्गे्रजी संस्करणका सन्दर्भमा व्यक्त भावनाले नै हाम्रो सम्वन्ध र सामीप्यताका सन्दर्भमा कुनै फूलबुट्टाको केही जरुरी छैन । त्यही सन्दर्भमा मैले तपाईं सबैभन्दा बढी आफैंप्रति लापर्वाह भएको पाएको छु । त्यसमाथि तपाईंको बेलामौकामा आउने मुख्याईंलाई आफ्नै स्वास्थ्य अवस्थाप्रति झोक्ने तपाईंलाई एकरत्ति पनि अधिकार छैन । किन कि तपाईं देशको केवल प्रधानमन्त्री मात्र होइन । जसरी नेपाल एकीकरण गरेको सन्दर्भमा पृथ्वीनारायण शाहका बंशजले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन‘ भन्दै आए । ठिक त्यसैगरी अहिले तपाई बलियो बहुमतसहितको कार्यकारी प्रमुख र दुई किनाराका मानिएका दललाई तपाईं लगायत प्रचण्डको सानो दुःखले कायम गरेको स्थिति पक्कै पनि होइन । त्यसको तपाईं सवैभन्दा अग्लो स्थानमा उभिएको तिखो मानिस पनि हो ।

२०७२ सालको संविधान निर्माण, त्यसपछि बनेको तपाईंको नेतृत्वको सरकार र त्यसको असफलता तथा पछिल्लो पटक ०७४ मा अकल्पनीय रुपमा दुनियालाई चकित तुल्याउने र नेपालीलाई खुशीमा पुल्क्याउने काम तपाईं र प्रचण्डको विचित्रको निर्णय क्षमता र अद्भूत मेहनतको प्रतिफल हो । त्यसको जगदेखि शिरसम्मको नेतृत्व गर्ने अवसर इतिहासले तपार्ईलाई सुम्पेको छ । बेला मौका तापईं हामीले त्यतिबेला गर्ने अनुमान र आशङ्काको पहाड र अहिले तपाईं सवार राज्य नामक डुङ्गाको खतरा उत्तिकै डरलाग्दो छ । यसको मतलव त्यहाँ आशा र उत्साहको संकेत छैन भन्ने होइन । त्यसमाथि राजनीतिक स्थिरतालाई केन्द्रीय विषय बनाएर चुनाव लडिसकेपछि पार्टी एकताका सन्दर्भमा जस्तासुकै सहमति भएपनि तपाईंको स्वास्थ्यले साथ दिएसम्म तपाईं नै प्रधानमन्त्री हुनुपर्दछ र हुनुहुन्छ भनेर मैले तपाईंलाई धेरै पटक ढुक्कसँग भन्दै आएको थिएँ । सौभाग्यवस पछिल्लो पटक तपाईं अस्पताल जानु पहिले नेकपाको सचिवालयबाटै त्यसको औपचारिक निर्णय हुनु अर्को सुखद परिघटना हो । तर त्यसलाई तार्किक निश्कर्षमा पु¥याउनका लागि तपाईं जसरी पनि स्वस्थ हुनै पर्दछ । विगतको जस्तै उत्साह र इच्छाशक्तिका साथ सरकार र नेकपाको डुङ्गालाई व्यवहारिक रुपमा नै अवतरण गराउनका लागि तपाईं र प्रचण्डको क्याप्टेनसिपको कुनै विकल्प छैन । तसर्थ तपाईंको राज्यसञ्चालन र समृद्धिको हुट्हुटीले चिकित्सक र चिकित्सकीय सुझावमाथि ठट्टा गर्ने अधिकार तपाईंलाई पटक्कै छैन भन्दा अन्यथा नमान्नु होला ।


प्रधानमन्त्रीज्यू, तपाईं स्वस्थ हुँदा मात्र इतिहासले सुम्पेको जिम्मेवारी तपाईंहरुले सहजै पूरा गर्न सक्नु हुनेछ । त्यसका लागि जति मैले तपाईंलाई जान्दछु, त्यसका आधारमा भन्दा कृपया आफ्नै स्वास्थ्यप्रति बेसरोकार बन्ने र अन्य पीडाजस्तै तपाईंको स्वास्थ्यमा देखिने पीडा लुकाउने चेष्टा गर्दै नगर्नुस् । त्यसो गर्दा केहीसमय बढी वा केही दिन अस्पताल बस्नु पर्दा केही आपत्ति आइलाग्नेवाला छैन । तर तपाईं पटक पटक तपाईंकै लापरवाहीका कारण अस्वस्थ भइरहने अवस्थालाई तपाईं स्वयंले बाहेक कसैले पनि नियन्त्रण गर्न सक्दैन । मलाई थाह छैन, अहिले तपाईंले यो टिप्पणी पढ्न सम्भव नभएपनि तपाईंका सहयोगीहरुले अवश्य पढ्लान र ति साथीहरुले तपाईं र राधिका अन्टीलाई पक्कै पनि रिर्पोटिङ गरिदिए हुन्थ्यो भन्ने मेरो आग्रह छ । विशेषगरी राजेशजीले यस कुरालाई मनन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
इतिहास व्यक्तिले बनाउँछ कि आम जनताले भन्ने विषयमा लामा लामा बहस गर्न सकिन्छ । तपाईं हामी इतिहासको निर्माणको निर्णायक शक्ति जनतालाई मान्दछौं । यद्यपि जनताले पनि इतिहास बनाउन वारेस दिएका हुन्छन् आफ्नो मतमार्फत । यसअर्थमा तपाईं नेपाली इतिहासको पुरानो सुईलाई बदल्ने आम नेपालीको वारेसप्राप्त व्यक्ति भएका हुनाले तपाई स्वस्थ हुनुको कुनै विकल्प छैन । यसको अर्थ तपाईंले आफ्नै जीवनकालतिर फर्केर हेर्नुभयो भने करिब करिब एक नेताले गर्न सक्ने सबै काम पूरा गरिसक्नु भएको छ । त्यो रेकर्डका हिसाबले भन्दा पनि परिणामका रुपमा नै । त्यसमा अव चिन्ता गरिरहनु पर्ने कुनै आवश्यकता छैन । तर आन्दोलनका प्रति तपाईं गर्न अझ धेरै बाँकी छ ।


तपाईं विरामी भएको यो पहिलो पटक होइन । विगत ४३ वर्षदेखि लगातार तपाईंभित्रकै रोग र देशको राजनीतिक रोगका विरुद्ध लगातार लड्दै आउनु भएको छ । त्यससन्दर्भमा ताली र गालीको पनि तपाईंले गज्जबकै रेकर्ड बनाउनु भएको छ । तपाईंकै हाँस्यरसजसरी नै । त्यो बेग्लै पाटो हो । तर कलाइमेक्समा तपाईं र प्रचण्डले नेपालको विभाजित भएर आजित भएको कम्युनिस्ट आन्दोलनलाई जसरी एकीकृत गर्दै दुनियाको बहाव अर्कैतिर बहेको डङ्का पिटिरेहेका बेला तपाईं दुई जनाले नेपाली पुरानो राजनीति दपर्णको तस्बीर नै बदल्नुभयो । सम्भवत तपाईं र प्रचण्डको नेपालका लागि सबैभन्दा ठूलो देन त्यही हो भन्नु अन्यथा हुने छैन ।
तर इतिहासको समीक्षा नभएर तपाईं वर्तमानलाई हाँकिरहने अवस्थामा रहेकाले आफ्नो स्वास्थ्यप्रति इमान्दार बन्नु पर्दछ भन्ने मेरो विशेष आग्रह छ। तपाईंको स्वास्थ्य तपाईंले राम्ररी पढ्न नसकेपनि महसुस सहजै गर्न सक्नुहुन्छ । त्यो महसुस भएको अवस्थालाई विश्लेषण गर्ने चिकित्सकीय प्रणालीलाई हाँसीमजाक गरिदिनु भएन भनेमात्र तपाई ०६२ पहिलेजस्तै तन्दुरुस्त हुने सम्भावना रहन्छ भन्ने मेरो आशा छ ।
मैले देशको कार्यकारी प्रमुख र बालकोटदेखि बालुवाटारसम्मको यात्रा र सम्वादका सन्दर्भभा भएका कुराकानीका आधारमा मात्र गम्भीर आरोपित गर्ने धृष्टता गरेको छैन । ‘सामान्य दुखले आज्र्यको‘ वर्तमान नेपालको अवस्था नभएका कारण तपाई स्वस्थ हुनै पर्दछ । स्वस्थको अर्थ दैनिक देशका सबै जिल्लाहरुको दौडाहा गरिरहनु पर्दछ भन्ने पक्कै पनि होइन । नीतिगत रुपमा आरामदायी कुर्सीमा बसेर नै तपाईंले नेतृत्व गर्ने विरलै प्राप्त हुने उर्वर अवस्था देश र पार्टीमा तयार छ यतिबेला । पार्टी राजनीतिका अनेकखाले उतारचढाव र अरोपप्रत्यारोपलाई सहजै पचाउँदै देश नै जुरुक्कै उचाल्ने अर्को क्याप्टेन समेत तपाईंसँगै हुनुहुन्छ । त्यसो हुने वित्तिकै हालै सचिवालयबाट निर्णय गरिएको तर तपाईं र मैले अर्जुनदृष्टि बनाएको घोषणाले राजनीतिक घुरमैलो अवस्था समाप्त भएको छ । यस गुरुत्तर दायित्वका लागि पनि तपाईं स्वस्थ हुँदा मात्र सार्थक हुनेछ ।
नेपालकै एउटा उदाहरणबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । २०६३ मङ्सिर ५ गते अहिलेको संसद भवन रहेको तत्कालीन सम्मेलन केन्द्रमा प्रचण्डसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने समारोह नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो र सार्वजनिक कार्यक्रम थियो । अझ यतिसम्म कि प्रचण्ड सार्वजनिक भएको दिनमा कोइरालाले ओछ्यानमै पल्टेर प्रचण्डसँग झण्डै ६ घण्टा लामो छलफल गरेपछि गरिएको ८ बुँदे समझदारी सार्वजनिक समारोहमा समेत कोइराला तल झर्नु भएन । तर उहाँ त्यसपछि ०६६ सम्म बेडमा रहेरै पनि मानसिक रुपमा स्वस्थ भएका कारण देशलाई नेतृत्व गर्नुभयो । यद्यपि काँग्रेसभित्र अनेक उतारचढाव आए । तर राजनीतिक मूल मियो आधारभूत रुपले खलबलिन पाएन । जब कोइरालाको निधन भयो । त्यसपछि देशकै राजनीतिक अवस्था र नेपाली कांग्रेस कुन तहसम्म ओरालो लाग्यो भन्ने नेकपाका नेताहरुले र विशेषगरी प्रधानमन्त्रीज्यूले स्मरण गर्नु बढी सान्दर्भिक होला कि ?

अघिल्लो पटक ग्रान्डी अस्पतालमा तपाईंको मृगौलाको डायोलोसिस गरेर बेडमा झर्ने बेलामा तपाईलाई मैले विरामी भएको सबैभन्दा नजिकबाट हेरेपछि मेरो मनमा अनेक तर्कनको लहर जारी छ । तर ती लहरभित्र तपाईंकै रहर र उद्धेश्यलाई परिपूर्ति गर्ने कुराको जालो सबैभन्दा बढी तैरिएको पाउँछु । यस्तो चाहना सम्भवत म जस्तो गैरपार्टी सदस्यलाई त छ भने तपाई र नेकपा भनेर देशभर अहोरात्र छटपटाएका कार्यकर्ता र समर्थकहरुलाई कति होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीज्यू, तपाईंको राजपाटको प्रमुख समस्या पछिल्लो पटक हामीले बालुवाटारमा बसेर जे छलफल गरेका थियौं । त्यहीं नै छ । त्यसभन्दा दायाँ वायाँ समस्या होला कि भनेर सोच्नु केही जरुरी छैन । त्यो अवस्थामा आज पनि तात्विक अन्तर नआउनु भने आफैमा निकै ठूलो विडम्वना हो । चिनिया क्रान्ति र व्यवस्थाका सन्दर्भमा क. माओ र पछि क. देङस्याओपिङले भनेजस्तै आफैंप्रति र त्यही पेरिफेरिमा निर्मम बन्न जति हिम्मत गर्न सकिन्छ, त्यही आयतनमा सुशासन, व्यवस्थाको दीर्घजीवन र प्रणाली स्थापित हुने कुरा तपाई स्वस्थ भएपछि सोचिरहनु पर्ने विषय हो ।
अन्तमा फेरि पनि हाँस्यरसका नायक तथा प्रिय प्रधानमन्त्री छिटो स्वस्थ हुनुहोस् ।

उही तपाईंको शुभेच्छुक

29 [email protected]

    Comment Here!


सम्बन्धित समाचार

View All