काठमाडौं, ९ मंसिर । काठमाडौको सुन्दरता बचाउन र विद्युत वितरणलाई व्यवस्थित गर्दै जोखिम अन्डर ग्राउण्ड अर्थात जमिनमूनिबाट विद्युतको वितरण प्रक्रियाको लागि सर्बेक्षण सकिएको छ । अवको २ वर्षमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको तारलाई अन्डर ग्राउण्ड गर्ने गरी काम सुरु भएको छ ।
काठमाडौमा अव्यवस्थित तारले शहरलाई कुरुप बनाएको छ । बिजुली, टेलिफोन, इन्टरनेट, केवल लगायतका अनेकौं तार र गुजुल्टोले शहरको सुन्दरता मात्रै बिगारेको छैन, सर्वसाधारणको सुरक्षालाई पनि जोखिममा पारेको छ । शहरी सौन्दर्यतालाई सफा राख्न र बिजुलीको तारबाट हुनसक्ने असुरक्षित अवस्थालाई सम्बोधन गर्न नेपाल बिद्युत प्राधिकरणले ड्रिलिङ गरेर तारको अन्डर ग्राउण्डिङ गर्ने काम सुरु गरेको छ । प्राधिकरणले काठमाडौंको तारलाई अन्डर ग्राउण्ड गर्नका लागि भर्खरै सर्बेक्षण सकाएको छ । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युतको अन्डर ग्राउण्ड गर्नका लागि सर्बेक्षण सकिएपछि ड्रिलिङको काम सुरु गर्ने तयारी थालिएको छ । अन्डग्राउण्डका लागि सबै सर्बेक्षण प्रक्रिया पूरा भइसकेकोले यही पुस १ बाट ड्रिलिङ प्रक्रिया सुरु हुने प्राधिकरणले जनाएको छ । जसबाट ९० हजार ग्राहकले लाभ लिने बिद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
भारतीय कम्पनी केइआइ इण्डष्ट्रिज कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेगरी काम सुरु गरेको ६ महिना सर्बेक्षणमा काम सकाएको हो । पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत ड्रिलिङको काम गरिने छ । दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा पनि अन्डर ग्राउण्ड लाइन बनाउने बोलपत्र आवाहान गरिएको प्राधिकरणले जनाएको छ ।
सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । जसले केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा अन्डर ग्राउण्ड तरिकाले नै पाइप राखिनेछ । विद्युत प्राधिकरणले विजुलीका तारसंगै टेलिफोन, इन्टरनेट, केवलका तारहरु समेत अन्डरग्राउण्डिङ हुनसक्ने जनाएको छ ।
ड्रिलिङ प्रक्रियाबाट बिद्युत, इन्टरनेट, केबल लगायतका तारलाई जमिन मूनीबाट लैजा“दा सुरक्षा चुनौतिलाई कम हुनेछ भने शहरको सुन्दरतालाई समेत बढाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्