प्रिय कमरेड घनश्यामजीलाई आग्रहपूर्ण पत्र

सरकारको डुङ्गामा सवार भएर गुटीय गन्धा नालीमा मुख जोत्ने कुरा चाहिं साँच्चिकै हजम नहुने कुरा हो है ।



प्रिय कमरेड, घनश्याम भुसालजी कृषिप्रधान देशको कृषि मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा तपाईंका आर्थिक रुपान्तरण सम्वन्धी सार्वजनिक खपतको अभिव्यक्ति वास्तविकातामा परिणत होस् भन्ने कामना गर्दछु । मैलै यहाँ घनश्यामजीलाई दाई नभनेर किन कमरेड भनें भने यो शव्दावली उहाँहरुको प्याटेन्ट जस्तो र मेरा लागि चित्ताकर्षक सम्वोधन हो वामपन्थीहरुका लागि । मैले तपाईंलाई पत्र लेखिरहेको बेला म पोखरामा मेरो अखिलिय मित्र विद्या भट्टराईको निर्वाचन क्षेत्रको अवलोकनका क्रममा सुन्दर पोखरामा छु ।

संयोग नै मान्नु पर्दछ अघिल्लो हप्ताको सोमबार धनश्याम भुसाल, लुम्विनीकै प्रेदश सांसद फकरुद्धिन खान, लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, मित्र सुधीर शर्मा र म लुम्बिनीनमा चलिरहेको न्युज फेस्टिवलमा ‘लुम्विनी सम्पदा, समृद्धि र समाज‘ विषयमा अन्तरक्रिया गरिरहेका थियौं । मित्र चन्द्रकिशोरले हामीहरुलाई मोडरेट गरिरहेका थिए ।

त्यसभन्दा पहिले हाम्रो सत्र शुरु हुनुभन्दा पहिले बाहिर चिया गफका क्रममा धेरैले सम्भावित घनश्याम कमरेडलाई ‘मन्त्रीज्यूलाई बधाई, दाईलाई मन्त्री भएको हेर्न पाइयोस्‘ भनिरहेका थिए । सँगै उभिएको मैले घनश्यामजीकै मुखबाट नै पुनर्पुंष्टि गर्ने उद्धेश्यकासाथ हाँसो गरेजसरी ‘उहाँ मन्त्री बन्नुहुन्न‘ फ्याट्ट के भनेको थिएँ । घनश्यामजीले मुन्टो फर्काउँदै कुरा अन्यत्र मोड्नु भयो । मेरो सूचना प्रथम व्यक्तिबाटै पुष्टि भयो । मलाई नेकपाका बारेमा अन्दरुनी कथा बेलामौकामा थाह हुने हुनाले यसपटक घनश्यामजी मन्त्री बन्ने निश्चित भएको जानकारी थियो । तर मञ्चमा बसेको बेलामा के लागेछ उहाँलाई अन्तरक्रिया चलिरहँदा मेरो कानमा उहाँले ‘तपाईंले भनेकै सत्य हो, मलाई बनाउन्नन्‘ भन्नुभयो । मैले कुनै प्रतिक्रिया जनाइन् । शायद त्यतिबेलासम्म उहाँको मथिङ्गलमा अन्तरक्रियाको विषयभन्दा बढी चियागफको व्यंग्य र मेरो कुराले विभिन्न रुपमा काम गरेको हुनसक्छ ।

अन्तरक्रियाकै बीचमा मैले पटक पटक सत्ता र सरकारको आलोचना तथा लुम्विनी र समृद्धिलाई जोड्ने क्रममा घनश्यामजीलाई नै बढी ‘प्रोभोक‘ गरिरहेको थिएँ । त्यही बीचमा दर्शक दिर्घामा बसेका नारायण वाग्ले लगायतका साथीहरुले यो कार्यक्रम नै घनश्यामजीलाई मन्त्री बनाउन आयोजना गरेको त होइन् भनेर हललाई हँसाएका थिए । तर अन्तरक्रियाभर घनश्याम कमरेड विषयान्तर भएर बढ्ता स्थानीय बनेको मलाई महसुस हुँदा उहाँको सार्वजनिक खपतको बौद्धिकतामा ह्रास आएको त होइन भन्ने लागेको थियो । किनकि लुम्विनी कुनै पनि अर्थमा स्थानिय विषय नभएर राष्ट्रिय रुपमा समृद्धिको एउटा जबर्जस्त आधार हो भने अन्तराष्ट्रिय रुपमा सुनौलो कुटनीतिक कवच समेत हो ।

घनश्यामजी ०३६ सालदेखि नेपालको राजनीतिक आन्दोलनमा चर्चाको शिखर र फेदमा उक्लने र झर्ने व्यक्तिको नाम हो । यसका अनेक आयाम छन् । विशेष गरी ०५१ सालको निर्वाचनदेखि घनश्यामजीको संसदीय राजनीतिमा प्रवेश भएतापनि उहाँले सार्वजनिक छवि एक सार्वजनिक माक्र्सवादी बुद्धिजीवीको बनाउन सफल हुनुभयो । परिणाममा उहाँका नेपालको अर्थ राजनीति र माक्र्सवादको नयाँ व्यख्यासहितका दुई कृति सार्वजनिक भएका छन् । सर्वथा एकीकृत वाम आन्दोलनका पक्षधर कमरेड एमाले–माओवादी एकताका बेला बेसरोकार रहन पुग्नुभयो । यति सम्म कि केपी शर्मा ओली र प्रचण्डले एकताको कागजमा २०७४ असोज १४ गते हस्ताक्षर गर्नुभन्दा एक हप्ता अघि भएको तत्कालीन एमाले पोलिटव्युरो बैठकमा घनश्यामजीले ओलीलाई बाम आन्दोलन विरोधीसम्मको आरोप लगाउँदै लामै फरकमत नामक फिराद जारी गरेबाट त्यसको पुष्टि हुन्छ । यद्यपि त्यो आरोपको अन्तर्य कम्युनिस्ट आन्दोलन एकीकृत हुनु पर्दछ भन्ने नै थियो ।

घनश्यामजीले नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएका कतिपय आधारभूत प्रस्थापनाप्रति समेत आलोचनात्मक अभिव्यक्ति दिंदै आउनु भएको थियो । यसै वर्षको शुरुवाततिर आउँदा उहाँले संसदमा ‘भ्रष्ट्राचारका लागि सबै दलबीच राष्ट्रिय सहमति हुने गरेको‘ बताएर चर्चामा आउनुभयो भने प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रश्न खडा हुन पुग्यो । सार्वजनिक रुपमा पनि भुसाल कमरेडले राजपाट मेरो काम होइन समेत भन्दै आउनु भएको थियो ।


तर रोचक प्रसंग के छ भने ०६७ सालमा प्रचण्डले ‘सर्जिकल स्ट्राइक‘कै रुपमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाएपछि भुसाल कमरेड प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नाममा बालुवाटारको मात्र मन्त्री बन्नुभएको थियो । त्यस्तो मन्त्री बन्ने सौभाग्य २०४७ सालपछि संभवत भुसाललाई मात्र मिल्यो । त्यो छ महिने बालुवाटारे मन्त्रीकालमा उहाँले संसदीय राजनीतिको गन्धित वा सुगन्धित संस्कार कति बुझ्नुभयो र अब कुन ठाउँमा उभिनुहुन्छ भन्ने गम्भीर प्रश्न सहित कृर्षि मन्त्रीको कार्यभार सम्हाल्न आइपुग्नुभएको छ । यो कार्यकाल समाजमा भनिने गरेको बालुवामा पानी खन्याएको जस्तो नहोस् ।

नेपालको अर्थ राजनीतिक रुपान्तरण भन्ने उहाँको पहिलो कृतिको मुख्य आधार नै नेपालको कृषि प्रणालीलाई सुधार गरेर आत्मनिर्भर बनाउने तथा निर्यातको तहमा विकास गर्नु पर्ने भन्ने छ । अब त्यो काममा कति कोशिश गर्नुहुन्छ साँच्चिकै घनश्याम कमरेडको परीक्षा शुरु भएको छ । त्यसमाथि रेल नेपालमा ल्याएर के पठाएर समृद्धि हुन्छ भन्ने प्रश्न प्रदीप गिरि र भुसाल कमरेडले एउटै लवजमा प्रश्न गर्दै आउनु भएको थियो । दक्षिण वा उत्तरको रेल वा ट्रकमा नेपालबाट पठाउने त कृषि तथा मासुजन्य पदार्थ नै हो भन्ने कुरा व्यवहारमा उतार्ने ठाउँमा ओलीले भुसाल कमरेडलाई नै जिम्मा दिएर अर्को गम्भीर चुनौति दिनुभएको छ पुरस्कृत गर्दै । के यस विषयमा मेरा आदर्श लेखक र अध्येता कमरेड उत्तीर्ण हुनुहोला ? वा यथास्थितिमै गुटगत जम्वोरीकासाथ रसिकहरुको बीचमा हराउनु होला भन्ने चिन्ता गर्ने जमात नेकपामा पक्कै पनि निकै ठूलो होला ।

एउटा नमिठो सन्दर्भ के छ भने घनश्यामजीकै आजकलको अनन्य मित्र राम कार्की जब मन्त्री हुनुभयो तव पूर्णरुपमा स्खलित हुनुभएको थियो । त्यसअघि कार्कीलाई नजिकबाट नचिन्नेहरुका नजरमा उहाँ भयङ्कर विद्धान र बौद्धिक हुनुहन्थ्यो । तर उहाँको सहबास विजातीय कर्मचारीहरुको अरनखटनमा कहिले रारा त कहिले शैलुङ भएर वितेको तत्कालीन माओवादीका सञ्चारकर्मी मित्रहरुलाई बढी थाहा छ होला । त्यही बीचमा उहाँको अहिले हटकेक बनेको राष्ट्रिय चारित्रिक विषय त्यतिबेला माओवादीभित्रै दविएको थियो रे । यद्यपि अहिले यस्तो पुरानो घाउ कोट्याएर कसैलाई पीडा दिनु आवश्यक छैन ।

तर त्यस्तो प्रवृत्तिप्रति गम्भीर आक्रमण गर्नै पर्दछ नेकपा हाइकमाण्डले । दैवसंयोगले वाम एकता हुँदा प्रधानमन्त्रीकै जिल्लाबाट सांसद बन्ने भाग्यमानी बन्न पाउनुभएको छ अहिेले कार्की । शान्ति प्रक्रिया शुरु हुने बेला कार्कीका लागि पनि मेरो आवास एक नियमित विसौनीजस्तो थियो । जब कार्की मन्त्री भए आजपर्यन्त एकपटक मन्त्रालयमा र अर्को पटक तत्कालीन अध्यक्षसहितको मञ्चमा मैले उहाँलाई झापामा भेटे बाहेक भेट हुनु परेका छैन । यसअर्थमा जे भएको छ राम्रै भएको छ । भविष्यमा पनि राम्रै हुनेछ । तर मेरो आशा र कामना छ, घनश्याम कमरेड त्यस्तो हुनु हुनेछैन । मैले मेरो एकजना साथी ढल्यो भनेर टिप्पणी गर्न नपरोस् ।

सम्भवत यो क्याविनेटमा केही समय उहाँ चर्चामा छाइरहनु हुनेछ । तर परिणाममा के हुन्छ भन्न सकिंदैन । यदि उहाँको रोजाइकै मन्त्रालय कृषि नै थियो भने त्यो सुन्दर संयोग र सुअवसर बन्नेछ । रोजाइको विषयमा घनश्याम कमरेड जत्तिका मानिसले केही गर्न सकेनन् भने उनका अग्रज चक्रपाणी र घनश्याममा विभेद नहुने मात्र होइन नेकपाका लागि नै एक विडम्वनापूर्ण घटना बन्नेछ । बाँकी दिनमा अरु बौद्धिक भनिनेहरु मन्त्री बन्न डराउनु पर्नेछ । नेकपाभित्र यदि साँच्चिकै ‘अर्गानिक बौद्धिक‘ नेताहरु छन् भने । यद्यपि यो मन्त्रिपरिषद्मा अझै पनि बेमेलका विचित्र तमासाको लस्कर बाँकी नै छ ।

केही संयोग र अनुभूति

घनश्याम कमरेडसँग मैले प्रत्यक्षसँगै काम गर्ने अवसर सम्भवतः उमेरको फरकपनले पाइन । तर ०५४ सालमा तत्कालीन एमालेभित्रको महाकाली बवण्डरमा हामी एकै ठाउँमा थियौं । म सधैं घनश्याम कमरेडको प्रशंसक रहें लामोसमयसम्म । विशेषगरी उहाँको पहिलो कृति प्रकाशनका सन्दर्भमा अलिक बढी सम्वाद पनि भयो । तर मेरो पेशा र स्वभाव तथा उहाँको क्षेत्र र रुचिका कारण हामी भौतिक रुपमा बढी अन्तरघुलित भएनौं । संयोगले वर्तमान सरकारमा योगेश भट्टराई स्व. रबीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा मन्त्री बन्नुभएको छ । म यी दुवै जनाको कार्यकर्ता थिएँ कुनै बेला ।

रबीन्द्रजी मन्त्री भएको शायद तीन महिनापछि अलिक बढी लामो–लामो कुराकानी हुन थालेको थियो । मेरो काम त्यही थियो आलोचना गरिरहने विग्रनबाट सच्चिन जानेको सुझाव दिने । पछि योगेशजी मन्त्री बन्नुभन्दा दुई दिन पहिले हामी झण्डै तीन घण्टाजति राजनीतिक सेरोफेरो र उहाँको मन्त्री बनेपछि हुनसक्ने सम्भावित अवस्थाका बारेमा चर्चा ग¥यौं । त्यसयता संयोगबस् सार्वजनिक कार्यक्रममा आक्लझुक्कल भेट भएर पूर्ववत् अखिलिय व्यंग्य र हाँसो बाहेक बढी हुन सकेको छैन । राजपाट त्यस्तै हो । मसँग प्रायः नेताहरुसँग सत्ताबाहिर हुँदा दुनियाले अकल्पनीय मान्नेखालको सम्वन्ध भइरहन्छ । तर मित्रहरु सत्तामा गएपछि उहाँहरुको खोजीविना म खोज्दै जान्न, सत्ताले साथीहरुलाई बाहिर आउन दिन्न होला शायद । त्यसपछि सम्वन्ध पातलो हुन्छ । तर सत्ता बहिर्गमन लगत्तै कतिपयसँग सम्वन्ध पूर्ववत् भएका पनि छन् । घनश्याम कमरेड मन्त्री भएकै दिन एउटा कुनै सन्दर्भका लागि प्रभाकरलाई फोन गरेको थिएँ । जबाफ अभिवादनसँगै ‘म मन्त्री भएको भए तपाईंले फोन गर्नु हुने थिएन, मन्त्री नभएका कारण कुराकानी हुँदैछ‘ भन्दा हामी निकै लामो हाँसो हाँस्यौं । उहाँले झण्डै एक दशकपछि मलाई ठिकै बुझ्नुभएछ । पहिले उहाँमा पनि मेराबारेमा विचित्र पूर्वाग्रह थियो बेफ्वाँक्मा ।

यो मन्त्रिपरिषद्मा अर्को एकजना मेरो अनन्य मित्र मान्न मिल्ने वर्षमान पुन पनि हुनुहुन्छ । उहाँ पनि मन्त्री भएपछि एकपटक मेरै अफिसमा अर्कै कामका लागि आएका बेला एक घण्टा बढी कुराकानी ग¥यौं । रोटी तरकारीको खाजा खाएर मेरो च्याम्वरबाट उठ्ने बेला उहाँले आफ्नै बारेमा अफबाह फैलिइरहेको विषयमा मलाई प्रश्न गर्नुभयो । मैले त्यसको जबाफ ‘तपाईंभित्र नै खोज्नुस्‘ भन्ने सल्लाह दिएँ । त्यसपछि भेट समेत भएको छैन भन्दा हामीलाई चिन्नेहरु छक्क पर्न पनि सक्छन् ।

बर्षमानजी थलिएर झण्डै अन्तिम अवस्था रहेको बेला म उहाँसँगै पहिलो ११ दिन बैंककको समितिभेज अस्पतालमा सहयोगी समेत बनेको थिएँ । त्यसमा मलाई कुनै हिनताबोध नभएर सन्तोष नै छ । मैले एकजना नेकपाको भरभराउँदो साथीलाई सहयोग गर्न पाएँ । त्यो बेला बर्षमानजीको अवस्था कस्तो थियो भन्ने कुरा सबैभन्दा बढी प्रचण्ड र ओनसरी घर्तिजीलाई बढी राम्ररी थाह हुनुपर्दछ । त्यो समय २०७२ हिउँदको थियो । देशमा ओली नेतृत्वको माओवादी समेतको बामपन्थी सरकार थियो । पुन विरामी रहेको बेला बरोबर चिन्ता गर्ने व्यक्ति केवल प्रचण्डका अलवा प्रभाकर मात्र हुनुहुन्थ्यो । तर ०७४ को आधाउधीतिरबाट अनन्त र प्रभाकरको सम्वन्ध कस्तो भइरहेको छ भन्ने कुरा मध्यपश्चिमतिरका साथीहरुले नरमाइलो लाग्ने गरी सुनाउँछन् । त्यस्तो नभएको भए राम्रो हुन्थ्यो ।

त्यस्तै यो मन्त्रीपरिषदमा अर्को एकजना मेरो अखिलिय मित्र भानुभक्त ढकाल पनि हुनुहुन्छ । उहाँसँग योगेश र रबीन्द्रजी जस्तो आत्मीयता भएन । तर कुनै आग्रह पूर्वाग्रह पनि रहेन । तर मेरो नजरमा तत्कालीन एमालेका अलग अलग गुटका दुई हस्ती थिए भट्टराई र ढकाल । उहाँसँग पनि प्रम ओलीकै शव्दमा सम्बन्ध र भेटघाट ‘त्यस्तैउस्तै खालको‘ रहँदै आएको छ । तर मैले मेरो फोरमबाट कहिल्यै पनि भट्टराई र ढकाललाई सकेसम्म बराबरी नै सघाएँजस्तो लाग्छ । आजको नेकपाको परिवेश समेत देख्दा गैर पार्टी सदस्य बनेर किनारमा धकेलिने मेरो निर्णय वास्तवमै मेरा लागि सबैभन्दा उपयुक्त रहेछ भन्ने निश्कर्ष दिनानुदिन बलियो बन्दै गएको छ । आन्दोलन वा देशलाई सघाउन कुनै दलको सदस्य वा विशेष पद वा शक्तिको अभ्यास मात्र सवैथोक होइन भन्ने रोजा लक्जेम्वर्गको भनाइले मलाई गहिरोगरी प्रभाव पारेको छ। तर नेपालका लागि आवश्यकता रोजा नभएर लेनिन जस्तै चंख, गतिशील र स्थितिलाई आफ्नो नियन्त्रणमा लिन विना हिच्किचाहट अघि बढ्ने नेतृत्वको नै हो । त्यो नेकपाले ओली र प्रचण्डबाटै खोज्नुको पनि कुनै विकल्प केही कालखण्डका लागि समेत देखिंदैन । कि कसो घनश्याम कमरेड ?

संयोग नै मान्नु पर्दछ कि यो सरकारक प्रधानमन्त्री र पार्टी अध्यक्ष तथा केही सीमित मन्त्रीहरुसँग भने निरन्तर सम्वाद र उहाँहरुकाप्रति आलोचना जारी छ । मेरो आलोचनाको केन्द्र बामपन्थीको साझा घोषणापत्र र नेकपाको राजनीतिक प्रतिवेदन लागू गर्न र पार्टी एकतालाई अभेद्य बनाउन साँच्चिकै तपाईंहरु कति गम्भीर हुनुहुन्छ भन्ने नै हो । किनकि नेकपा बनाउने अभियानमा म कहिंकतै भएजस्तो लाग्दछ, त्यसको बलियो प्रमाण ‘अवतरण‘ र ‘ऐतिहासिक एकताका आधारहरु‘ नामक पुस्तक नै हुन् । त्यसको केन्द्रमा देशमा स्थिर सरकारले समृद्धिको यात्रा अघि बढाओस् भन्ने नै हो । त्यसको भूमिका र शुभकामनामा ओली र प्रचण्डले व्यक्त गरेको धारणा सर्वाधिक महत्वको छ । त्यो कामलाई पूरा गर्न सबैभन्दा बढी भूमिका यो सरकारका सदस्यहरुले नै खेल्नु पर्दछ । यसो भन्दा कसैले विरोध गरेको ठान्दछ भने वा मेरा मित्रहरु भट्टराई, ढकाल, पुन र भुसालहरु समेतले अन्यथा मान्दछन् भने पनि सत्य फेरि त्यही नै हो । यतिमात्रको नाम लिनुको अर्थ यो सरकारका अरु कसैको पनि अनदेखा पक्कै पनि होइन । जम्माजम्मी युवा पङ्तिmलाई बढी घच्घच्याएको मात्र हो । यसै सन्दर्भमा हालै बहिर्गमनमा पर्नुभएका मित्र गोकर्ण विष्टले मसँग दुई पटक लामो अनौपचारिक बसाईमार्फत सुझाव लिनु भएको थियो । निश्कर्षमा मैले देशमा रोजगरी सिर्जना नभएसम्म अनावश्यक रुपले स्थितिलाई भड्काउनु हुँदैन भन्ने लगायतका मसिनाखालका व्यथिति भइरहेका कुराप्रति समेत मैले सचेत गराएको थिएँ । अन्तत उहाँ पनि त्यसबाट मुक्त हुन सक्नुभएन कि ? यद्यपि पार्टी राजनीति र आगामी दिनको बाटे विष्टको बन्द भएको निश्कर्ष निकाल्न मिल्दैन ।

अन्तमा एउटा कुरा भनिहालौं, यहाँ घनश्यामजीलाई पत्र लेख्दा जोडिएका पात्र बाहेक अन्य कसैको चर्चा नगरिनु अन्य कसैकाप्रति कुनै आग्रह वा अरुचि भने होइन । सबैका बारेमा कमसेकम मैले मसिनोगरी मेरो फोरममार्फत वाच गरिरहेको छु । त्यसको केन्द्रीय राडारमा नेकपाका दुई क्याप्टेन नै हुनुहुन्छ । यही सन्दर्भभा भन्नु अन्यथा हुँदैन होला मन्त्रीमण्डलका पुनर्गठन अघिमात्र भएको नेकपाको निर्णय विशेषतः दुई अध्यक्षको कार्यविभाजन पार्टी एकता भएको छ महिना नपुग्दै मैले दुवैजनालाई यसो गर्नुको कुनै विकल्प छैन भनेको थिएँ । त्यसमा उहाँहरुले सहमति पनि जनाउनुभएको थियो । मैले त्यसो भन्नुको अर्थ नेकपाको मात्र चिन्ताले थिएन कि देशलाई अस्थिरताको अराजनीतिक भुमरीबाट व्यवहारत स्थिरताको सन्देश दिएर राज्यप्रशासनयन्त्रलाई सही ट¥याकमा ल्याएर यतिबेलासम्म समृद्धिका लागि धेरै काम गरिसक्नु पर्ने थियो । अन्तत ः ‘देर आयो दुरुस्त आयो‘ भनेजस्तै भयो । त्यसका लागि दुई अध्यक्ष, सचिवालय र पृष्ठभागबाट भूमिका खेल्नेहरु सबै धन्यवादका पात्र छन् । उहाँहरुको निर्णयले देशको आकाश यही हिउँदे मौसममा लागेजस्तो राजनीतिक तुवाँलो हटेको छ । पार्टी एकताले अर्को उचाई प्राप्त गरेर ‘आ—आफ्नो बाटो हिंड्ने‘ रुचिवालाहरुलाई निरुत्साहित गरेको छ । यो सन्देश सामान्य हुँदै होइन ।

फेरि पनि युवा पङ्क्ति, जसलाई नेकपाले मात्र नभएर समाजले पनि मसिनोगरी वाच गर्दै ठूलो आशा गरिएका मित्रहरुले नेतृत्वलाई सच्याउने, सही दिशामा हिंडाउन आन्तरिक रुपमा नै पहल गर्ने, निर्विकल्प रुपमा पार्टी एकताको घोषणा र उद्धेश्यलाई सफल बनाउने नै हो । अन्तमा फेरि मेरा प्रिय कमरेड घनश्यामजी बुद्धको कुनै उपदेश वा माक्र्सको कुनै भनाई अघि सारेर आफैले रोजेको मैदानबाट नभाग्नुहोला । यही मेसोमा प्रभाकर छुट्नुभयो कि जोगिनु भयो अहिल भन्नु भने हतारो हुनेछ ।

त्यो सँगसँगै घनश्याम कमरेड आजको ओजलाई सके बढाउनुहोला नभएपनि कम नगराउनुहोला । यो पनि भन्नु अन्यथा हुँदैन होला कि सरकारको डुङ्गामा सवार भएर गुटीय गन्धा नालीमा मुख जोत्ने कुरा चाहिं साँच्चिकै हजम नहुने कुरा हो है । त्यसमाथि विजातिय समूह र कोटरीसँगको अनेकखाले सहवास अब नेकपा, नेकपा नजिकका शुभेच्छुकले मात्र होइन सिङ्गो समाजले नै वाच गरिरहेका हुुन्छ भन्ने कमरेडले मन्त्रीका रुपमा बदंिलंदा भुल्नु हुनेछैन । अरु सबै सजिलो कुुरा हो, तर आफ्नै आदर्शमा खरो उत्रनु चाहिं साँच्चिकै अग्नीपरीक्षा हो ।
उही तपाईंको शुभेच्छुक
२०७६ मङ्सिर ७, पोखरा

यो पनि हेर्नुहोस् एक बर्ष अघि गरिएको अर्थराजनीतिक रुपान्तरण सम्बन्धी अन्तर्वार्ता

 

    Comment Here!


सम्बन्धित समाचार

View All