ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई पार्टी एकता कसैलै रोक्न सक्दैन : ओली -प्रचण्ड (दस्तावेजसहित)


ABC News

काठमाडौं २१ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजिनक गर्दै पार्टी एकता अनिवार्य रहेको बताएका छन् । दुई पार्टीबीचको एकता कसैले रोक्न नसक्ने केपी शर्मा ओली र प्रचण्डले बताए ।
घोषणापत्रको पार्टी एकतासम्वन्धी मुख्य अंश
‘विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रुपमा रहेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) का बीच २०७४ साल असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा भयो । यो घोषणा कार्यान्वयनको पहिलो कदमका रूपमा हामीहरू राष्ट्रव्यापी तालमेल र वामगठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएका छौं ।

यस कदमसंगै नेपाल र संसारभर तरंग सृजना भएको छ । कम्युनिष्टहरुको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका पूँजीवादीहरु आफ्नो ऐस र आरामको स्वर्ण युग समाप्त हुने भयले विक्षिप्त भएझैं कम्युनिष्ट अधिनायकवादको हौवा पिटाउन थालेका छन् । पूँजीवादीहरुले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरूको हताश मनस्थितिको परिचायक भन्दा अरु केही होइन ।

हाम्रा दुई कम्युनिष्ट पार्टीहरुको यो एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लेखित ‘समान राजनीतिक विचाराधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधान अनुरुप छ । यो एकताको पहल नेपालका आम श्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछ्यौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिवद्धता पनि हो । यो एकता राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक हो । यस महाअभियानमा सामेल हुन हामी विभिन्न कम्युनिष्टहरुका अतिरिक्त सबै वामपन्थी, देशभक्तहरु र सच्चा लोकतन्त्रवादीहरुलाई आह्वान गर्दछौं ।

विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, संसारका अधिकांश देशहरुको उच्चस्तरमा विकास र दु्रतगतिमा विकसित भइरहेका दुई छिमेकी मुलुकहरुको अगाडि अब नेपाललाई संसारकै अल्पविकसित, गरीब, पिछडिएको, परनिर्भर र हेपिएर बस्न वाध्य मुलुकका रूपमा कदापि राख्नु हुँदैन । राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य गर्नुपर्दछ । नेपालसंग समृद्धिका अथाह आधारहरु छन् । राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्ने वीर पुर्खाका सन्तानहरु हामी श्रमशक्तिका रुपमा छन् छौं । नेपालको विकासका निम्ति संसारभरीबाट करौडौं हातहरु सहयोगका निम्ति तयार छन् । मात्र, यी सबै सकारात्मक पक्षहरुलाई उपयोग गर्न सक्ने राष्ट्रिय नेतृत्वको खाँचो छ । यस्तो नेतृत्व क्षमता एकतावद्ध भइरहेका यी दुई कम्युनिष्ट पार्टीहरुसंग मात्र छ । यही क्षमतालाई उजागर गर्न हामी दुई पार्टीहरुले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने घोषणा गरेका छौं ।

नेपालको संविधानले सामाजिक–आर्थिक रुपान्तरणसहित समाजवाद–उन्मुख व्यवस्थातर्फ मार्गनिर्देश गरेको छ । संविधानको यसै मार्गनिर्देश बमोजिम अगाडि बढ्न हामी प्रतिवद्ध छौं । एक्काइसौं शताव्दीमा हामीले निर्माण गर्ने समाजवाद विगतको भन्दा पृथक हुनेछ । आजको समाजवाद आजकै विशेषतामाथि आधारित भएर मात्र निर्माण गर्न सकिन्छ र गर्नुपर्दछ । त्यसैले संविधानमा यो युगका विशेषतासहितको समाजवाद निर्माण गर्ने सङ्कल्प गरिएको छ । प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यता नेपाली समाजवादका विशेषताका रूपमा रहने छन् । यो नेपाली जनताको चाहना र देशको आवश्यकता हो । यस समाजवादमा देश विकासका लागि राष्ट्रिय पूँजीको संरक्षण, विकास र परिचालन गरिने छ । जनताको समर्थन प्राप्त हुँदा हामीले राज्यको नेतृत्व गर्ने छौ, समर्थन प्राप्त भएन भने प्रतिपक्षमा रहने छौं । तर संविधानसम्मत समाजवाद उन्मुख प्रणालीलाई भत्काएर राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने प्रयाशलाई भने सफल हुन दिइने छैन ।

पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ । एकीकरणको काम पूरा नहुँदासम्म दुबै पार्टीका सबै कमिटीहरु र जनसंगठनहरु यथावत संचालित हुने छन् । निर्वाचन सम्पन्न भएपछि पार्टी एकीकरणका निम्ति आवश्यक कामहरु अघि बढाइने छ । जतिसक्यो छिटो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरी विधिवत एकीकृत पार्टी निर्माण गरिने छ । केही कानूनी जटिलता र भावनात्मक पक्षलाई ध्यान दिदैं आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर जनता बीच जान नसकिएकाले निर्वाचनमा दुबै पार्टीका चुनाव चिन्हहरु प्रयोग गरिने छन् । नेकपा(एमाले)का उमेदवारहरुका निम्ति सुर्य चिन्हमा मतदान गरिने छ र नेकपा(माओवादी केन्द्र)का उमेदवारहरुका निम्ति गोलाकारभित्र हसिया हथौडा चिन्हमा मतदान गरिने छ ।

३ ः शान्ति, समृद्धि र स्वतन्त्रता ः हाम्रो आधारभूत प्रतिबद्धता

(क) नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षा र राष्ट्रको समृद्धि हाम्रो आधारभूत प्रतिबद्धता हो । नेपालको संविधानले निर्देशित गरेअनुरुप राष्ट्रिय स्वाधीनता एवं हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गरिनेछ । संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवं लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गरिने छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको आवश्यकता र राष्ट्रिय हित अनुरूप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गरिने छ तथा आवश्यकता अनुसार यसको परिमार्जन र विकास गरिनेछ ।

(ख) नेपाली जनताको महान संघर्षद्वारा प्राप्त समाजवाद–उन्मुख लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिसहित जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासनप्रणालीलाई संस्थागत गरिएको नेपालको संविधानको पूर्ण स्वामित्व लिंदै त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

(ग) नेपालको संविधान कार्यान्वयन गर्दै बहुदलीय प्रतिस्पर्धा सहितको लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढिकरण, मानवाधिकारको प्रत्याभूति, सुशासन र पारदर्शितालाई बलियो तुल्याइने छ । आवधिक निर्वाचनबाट ताजा जनादेश प्राप्त गर्ने र असहमति एवं प्रतिपक्षको कदर हुने प्रणालीको अनुशरण गरिने छ । भौगोलिक तथा सामाजिक र सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सबैका लागि न्याय, सम्मान र अवसर सुनिश्चित गर्दै सामाजिक सद्भाव कायम गरिनेछ । सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता, दिगो शान्ति र स्थायित्व कायम गरिने छ । शान्ति र स्थायित्वको वातावरणमा आर्थिक विकास र समृद्धि हासिल गरिने छ । राष्ट्रिय हितलाई सर्वोपरी राख्दै स्वाधीनता र अखण्डता सुदृढ गरिनेछ । असल छिमेकी सम्बन्ध, पारस्परिक लाभ, सम्मान, समानता, अन्तर्राष्ट्रिय उत्तरदायित्व, सार्वभौम समानता, न्यायोचित सम्बन्ध, प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको अभ्यास गरिने छ ।

(घ) राष्ट्रको मुख्य कार्यभार तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि भएकाले तदनुरुप कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना निर्माण गरिने छ । यसको लक्ष्य सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्ध समाजवाद हुनेछ । सामन्तवादका अवशेषहरूलाई समाप्त पारिने छ । राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरिने छ । सार्वजनिक क्षेत्रसंगै नीजि क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ विकास गरिने छ । अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा स्थापित गरिने छ ।

(ङ) शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गरिने छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोगका कामहरु यसै अवधिमा सम्पन्न गरी मुलुकमा दिगो शान्ति स्थापना गरिने छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिहरु र सबै विस्थापितहरुलाई स–सम्मान पुनसर््थापित गरिने छ ।

(च) मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरीब जनताको हितका पक्षमा व्यवस्थित कार्ययोजना संचालन गरिने छ । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताको हक, हित, पहिचान र स्वाभिमानको पक्षमा हाम्रा कामहरु निर्देशित हुनेछन् ।

(छ) सबै वर्ग, तह र समुदायका जनतालाई समान रूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पारिनेछ । दृढतापूर्वक राष्ट्रिय स्वाधीनता र हितको रक्षा गरिनेछ ।

४ ः स्वच्छ निर्वाचन, वामपन्थी सरकार ः राष्ट्रिय समृद्धिको बलियो आधार

संघीय संरचनाका तीनै तहको निर्वाचनलाई हामीले नेपालको समृद्धिका दिशामा निम्ति महत्वपूर्ण प्रस्थानबिन्दुका रुपमा लिएका छौं । नेपालको राजनीतिलाई सिंगो समाजको आर्थिक सामाजिक रुपान्तरण र समुन्नत एवं समृद्ध समाज निर्माणको माध्यमका रूपमा विकास गरिने छ ।

कहिल्यै कसैको उपनिवेश नबनेको देशका जनता हुन पाएकोमा हामी गौरव गर्दछौं । छिमेकीहरू सयौं वर्ष उपनिवेशमा रहँदा समेत हाम्रो देश स्वतन्त्र रूपमा शिर ठाडो पारेर खडा भइरह्यो । हाम्रो देश विश्वकै सुन्दर देशहरूमध्ये पर्छ र हामी त्यस्तो सुन्दर देशका जनता हुन पाएकोमा गर्वित छौं । हाम्रो मुलुक शाक्यमुनी बुद्धको जन्मस्थल, सर्वोच्चशीखर सगरमाथा, सीता जन्मस्थल जनकपुर र पशुपतिनाथको देशका रूपमा विश्वव्यापी परिचय प्राप्त गरेको देश हो । यो जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिले सम्पन्न भएको र ऊर्जा, कृषि, पर्यटन, फलफूल तथा जडिबुटी र मानव संशाधन जस्तो आर्थिक विकासको प्रचुर आधार र पर्याप्त संभावना भएको देश हो । यससंग भूगर्भमा धातु र अधातुजन्य बहुमूल्य रत्नहरु तथा युरेनियम र पेट्रोलियम पदार्थका भण्डारहरु रहेका छन् । यिनलाई प्रयोग गरेर द्रुतत्तर गतिमा नेपाली जनतालाई समृद्ध बनाइने छ ।

नेपाली जनताले निरंकुशतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापनापछि तीव्र आर्थिक विकास र त्यसको प्रतिफल समान रूपमा उपभोग गर्न पाउने अवसरको अपेक्षा गरेका छन् । जनताको यो अपेक्षालाई पुरा गर्ने तर्फ हामी पहिलो वर्षदेखिनै प्रभावकारी कदम चाल्न सुरु गर्ने छौं । गरिबी, बेरोजगारी र अभावबाट जनतालाई मुक्त गर्नेतर्फ ठोस पाइला चालिने छ । लामो समयको संक्रमणकाल र नेपाली राजनीतिमा देखिएको परामुखी प्रवृत्ति, चरम सत्तालोलुपता, भ्रष्टाचार एवं सुशासनको अभाव र नवउदारवादी आर्थिक नीतिको अन्ध पक्षपोषणका कारण संसारकै गरीब हुन परेको अवस्थालाई परिवर्तन गरिने छ । त्यसका निम्ति उपयुक्त नीति र कार्यक्रमहरु यो घोषणापत्र मार्फत हामीले अगाडि सारेका छौं । यो घोषणापत्रमा नयाँ युगका विशेषतामा आधारित नेपाली जनताको समृद्धिको ठोस कार्ययोजना समावेश गरेका छौं । यसलाई पूरा गर्न आगामी निर्वाचनबाट हामीलाई सुविधाजनक बहुमत सहितको सरकार गठन गर्ने जनादेशका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आव्हान गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com