
काठमाडौं, १७ भदौ । मेडिकल सिटिका रुपमा परिचित चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट मुत्यु हुनेको संख्या ४ पुगेको छ ।
डेङ्गु र स्क्रबटाइफसबाट चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसी जानकारी दिनुभयो । केसीका अनुसार पछिल्लो पटक गैंडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । गैंडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको पनि डेङ्गुको कारण मृत्यु भएको छ । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।
दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताउनुभयो । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेका छन् । स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।







प्रतिक्रिया दिनुहोस्