
काठमाडौं, १५ जेठ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गर्नुभएको हो ।
अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख कृष्णबहादुर महराले बैठक शुरु हुनासाथ अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । सरकारले वार्षिक अनुमान पेश गर्दा प्रत्येक मन्त्रालयलाई छुट्याएको रकमअनुसारको लक्ष्य प्राप्त भयो/भएन, त्यसको विवरण पनि पेश गर्नुपर्नेछ ।
अर्थमन्त्रीको हैसियतले डा खतिवडाले दोस्रो पटक सरकारको वार्षिक बजेट पेश गर्नुभएको हो । अघिल्ला वर्षझैँ यस वर्ष बजेट कार्यक्रमको अवलोकनका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण नगरिएको संसद् सचिवालयबाट थाहा भएको छ । नेपालको उद्योग वाणिज्य क्षेत्रका विशिष्ट महानुभावहरु प्रस्तुत बजेट कार्यक्रम अवलोकन गर्न ठूलो सङ्ख्यामा संसद् भवन आउनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्