
अछाम, २८ वैशाख । क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ । साँफेबगर नगरपालिका २ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरामा चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले जमीनमुनिबाट सुनचाँदी भेटाएको हो ।
यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेका थिए । उनीहरुले शुक्रबार फेरी थप २५ तोला सुन र ३० तोला चाँदी फेला पारेको हो ।
भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरबीच भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो । माटो चाल्ने क्रममा थप सुन फेला परेको बताइएको छ । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परिसकेको छ ।
उनीहरुको साथमा रहेको सुन अहिले प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो । जमीनमुनि अझै पनि सुन रहेको आशङ्कामा क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेको छ ।








प्रतिक्रिया दिनुहोस्