काठमाडौँ, २१ फागुन । आज फागुन २१ गते संघीय संरचनामा गएको देशमा आइतबार संघीय सांसदहरूको सपथ भएको छ । प्रदेशमा सरकार गठन भएका छन् । नयाँ संविधानअन्तर्गत देशले नयाँ बाटो लिएको छ । कम्युनिष्टहरू एकैथलोमा उभिएर देशलाई राजनीतिको नयाँ शिराबाट अघि बढाउने नागरिकमाझ प्रतिबद्धता गरेका छन् ।

जुन सपना ती सहिदहरूले देखेका थिए । त्यही आजको दिनले ४६ वर्षअघिको घटना ताजा गराइदिन्छ, जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टहरूले कम्युनिष्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४६ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा र्पुयाउने झापा विद्रोहसँगै ढलेका तिनै सहिदहरुलाई सरकारले २०७२ फागुन १८ गते राष्ट्रिय सहिदका रूपमा घोषणा र्गयो ।
झापा आन्दोलनका क्रममा तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोसी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा फउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।
नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानाबारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यसअघि झापाको अर्जुनधारा नगरपालिकाभित्र सालबारीमा सहिद पार्कको निर्माण गरिएको छ । पाँचै सहिदको पूर्णकदको शालिक उभ्याइएको छ ।
तर जनतामा परिवर्तनको आभास दिलाउने किसिमका काम गर्न अझै बाँकी रहेको बामपन्थी कार्यकर्ताहरुको भनाई छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुन अघि छुट्टा छुट्टै कार्यक्रम गरेर मनाइने गरेको फागुन २१ गतेको स्मृतिसभा यस पटक भने संयुक्त कार्यक्रम गरेर मनाइँदैछ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुखानी जाने कार्यक्रम छ।







प्रतिक्रिया दिनुहोस्