
काठमाडौं, २३ पुस । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेश भएको छ।
खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो। अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि पछिल्लो समय चलाइएको सबैभन्दा ठूलो विगो दावी गरिएको मुद्दा हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ। खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दावी अभियोगपत्रमा गरिएको छ।
उक्त मुद्दामा प्रतिवादी खड्कालाई भने अदालतमा हाजिर गराइएको छैन। सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए।







प्रतिक्रिया दिनुहोस्