ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक चिकित्सामा बरदान बन्दै म्याग्दीका तातोपानी कुण्डहरु


admin
मंसिर २५, २०७५ मंगलबार  १ : ४९ बजे

गलेश्वर, २५ मङ्सिर । प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरु बरदान सावित भएका छन् ।

खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरुबाट आक्रान्त व्यक्तिहरुका लागि यहाँका तातोपानी कुण्डहरु लाभदायी भएका हुन् ।

जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा अहिले देशैभरिबाट बेनी नपा–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउनेहरुको भीड लागेको छ ।

कात्तिक अन्तिम साता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किए पछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ ।

म्याग्दी जिल्लाका काली, म्याग्दी र रघुगङ्गाको किनाराका धेरै ठाउँमा तातोपानीका कुण्डहरू छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानी कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् ।

सदरमुकाम बेनीबजारबाट नौ किलोमिटर पश्चिम बेनी नपा–४ मा म्याग्दी नदीको किनारमा अवस्थित सिङ्गा–तातोपानीे कुण्ड देशकै प्रशिद्ध तातोपानीको कुण्ड हो ।

कुल ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४०० जनाले स्नान गर्न, डुबेर उपचार गर्न वा आनन्द लिन सक्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

यो तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्री सेल्सियस र मूलमा ५४–५७ डिग्री सेल्सियस रहेको छ । यो कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुई हप्तासम्म नुहाउने गरिन्छ ।

यहाँ डुबेर उपचार गराउन देशैभरबाट बिरामीहरु आउने गरेका छन् । पछिल्लो समय पक्षाघात भएका बिरामीहरुसमेत तातोपानी कुण्डमा उपचारका लागि आउने गरेका र पहिलाको भन्दा निको भएर फर्किने गरेका समितिका कर्मचारी मेखी खत्रीले बताउनुभयो ।

बाथ रोगबाट पीडित आफ्नो बुबालाई उपचारका लागि तातोपानीमा लिएर आउनुभएका झापा दमकका सोमप्रसाद सिग्देलले एक हप्ता तातोपानीमा डुबेर उपचार गर्दा बुबालाई धेरै निको भएको र अरु एक हप्ता यहाँ डुबेर फर्किने बताउनुभयो ।

यहाँ नेपालका मात्र होइन नेपालसँग सिमाना जोडिएको भारतका रुपैडिया, नानपारा, विहार, गोरखपुरलगायत भारतका विभिन्न ठाउँहरुबाट समेत बिरामीहरु डुब्न आउने गरेका समितिले जनाएको छ ।

यो कुण्डमा स्नान गर्न सजिलो होस् भनेर वरिपरि पर्खालले घेरेर पोखरी बनाइएको छ । तातोपानी कुण्डमा विसं २०४२ सालभन्दा पहिले आजभोलिको जस्तो सुविधा थिएन ।

होटल, लजको व्यवस्था नभएको हुनाले ओडारमा बस्नु पर्दथ्यो । स्थायी स्नान कुण्डको व्यवस्था नभएको हुनाले माघ, फागुन र चैत महिनामा मात्र कुण्डमा डुब्न आउने मानिसको भीड हुन्थ्यो ।

यातायातको अभावले टाढाटाढाबाट मानिसहरू आउन सक्दैनथे । विसं २०४२ सालमा म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा तातोपानी व्यवस्थापन समिति गठन भएको थियो । तथापि सो समितिले खासै काम गर्न सकेन ।

तातोपानी कुण्डको महत्व बढाउन र यसको संरक्षण गर्न विसं २०४५ सालमा प्रबुद्धकुमार शाक्यको अध्यक्षतामा ‘तातोपानी कुण्ड भौतिक सुधार तथा व्यवस्थापन समिति’ गठन भएपछि यो कुण्ड व्यवस्थित तरीकाले सञ्चालन हुँदै आएको स्थानीय विक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

यो तातोपानी कुण्डको महत्व बढ्दै गएपछि यहाँ स्नान गर्न आउने मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसकारण कुण्डमा स्नान गर्न आउने मानिसहरूको चापलाई ख्याल गरी व्यवस्थापन समितिले यो कुण्डको मर्मत र क्षमता विस्तार गरेको छ ।

रघुगङ्गा तातोपानी कुण्ड : रघुगङ्गा गाउँपालिका–५ को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगङ्गाको किनारमा एक तातोपानीको कुण्ड छ । यो कुण्डलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दाले विभिन्न किसिमका पूर्वाधारको विकास गरिरहेका छन् ।

यो कुण्डमा स्नान गर्न कुइनेमङ्गले, चिमखोला, झिं, दग्नाम, दोवा, पाखापानी, पात्लेखेत, बेग, राखु पिप्ले र भगवतीका बासिन्दा आउने गर्दछन् । यहाँ माघ महिनादेखि असार महिनाको पहिलो हप्तासम्म स्नान गर्न सकिन्छ ।

भुरुङ–तातोपानी कुण्ड: अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ तातोपानी भन्ने ठाउँमा कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ । यसलाई तप्तकुण्ड भनिन्छ । यसको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरूले आफूलाई पायक पर्ने मुहानमा नुहाउने चलन छ ।

यद्यपि तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ ।
मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानीको तप्तकुण्डको विशेष चर्चा गरिन्छ ।

मुक्तिनाथ जाने तीर्थ यात्री र मुस्ताङको भ्रमणमा आउने पर्यटकहरूले यो तातोपानीको भरपूर उपयोग गर्ने हुनाले यसको महिमा बढेको हो भन्ने कुरामा कुनै द्विविधा छैन । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरू प्रशस्त मात्रामा आउने गर्दछन् ।

तिनीहरूले विश्राम गर्ने स्थलको रूपमा तातोपानी क्षेत्रलाई रोजेको हुनाले यहाँ बाह्रैमास पर्यटकहरू भेटिन्छन् । तातोपानी बजारमा सँधै नै पाश्चात्य मुलुकका मानिसहरू भेटिने हुनाले यो क्षेत्रलाई नेपालको युरोप भन्ने पनि चलन छ ।

मुदीको (फल्तीखेत) तातोपानी कुण्ड ः म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरि गाउँपालिका–३ मुदीको बगर भन्ने ठाउँमा म्याग्दीखोलाको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित नभएको हुँदा स्थानीय मानिसले मात्र स्नान गर्दछन् । धवलागिरि हिमाल आरोहणका लागि आउने पर्वतारोहीहरूले पनि यसको उपयोग गर्ने गर्दछन् ।

तातोपानीमा गन्धकको गन्ध र बीरेनूनको विशेष किसिमको स्वाद आउँछ । गन्धक आफैंमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिँदैन । त्यसकारण तातोपानी कुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना नहुने चिकित्सकहरुले बताएका छन् ।

तातोपानीको कुण्डमा डुब्नाले गाँठा–गुठी परेको, सुन्निएको, बाथ रोग, पेट दुख्ने, फुल्ने र डकार आउने जस्ता पेटसम्बन्धी रोग, छालामा आउने विभिन्न चर्मरोग तथा हाड जोर्नी, दुख्ने, सुनिने, नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको ठाउँमा चिसोका कारण दुख्ने रोग निको हुन्छ ।

तर, उच्च रक्तचाप र विविध कारण रिङ्गटा लाग्ने व्यक्तिले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नु पर्दछ । म्याग्दीका तातोपानीका कुण्डमध्ये सिङ्गा–तातोपानी र भुरुङ–तातोपानीको विशेष महिमा छ ।

समितिको तथ्याङ्कअनुसार सिङ्गा–तातोपानीमा २०६२ पुषदेखि २०७४ साल कात्तिक २० गतेसम्ममा अर्थात करीब १२ वर्षमा १ लाख १० हजार जनाले स्नान गरेको देखिन्छ । यसमध्ये ३० हजार भन्दा बढी व्यक्तिहरु पूर्णरुपमा निको र अन्य आंशिक रुपमा निको भएर फर्केका कुण्ड समितिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

सम्बन्धित

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com