ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि कर्जा नपाउँदा पाँचथरका किसान समस्यामा


bhawani desk
भाद्र ९, २०७५ शनिबार  ५ : ३३ बजे

पाँचथर, ९ भाद्र । पाँचथर फिदिम बजारमा लामो सयमदेखि व्यवसाय गर्दै आएका भरत अधिकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नका लागि कृषि कर्जा लिन बैंक धाएको झण्डै डेढ वर्ष हुनथाल्यो, तर अहिलेसम्म उहाँले कुनै पनि बैंकबाट कर्जा पाउन सकेको छैन् ।

उहाँ मात्र होइन्, उहाँजस्तै बैंकबाट कर्जा नपाएर कृषिजन्य व्यवसाय गर्न नपाएको धैरै छन् । स्थानीय तीर्थ मिश्र, उदय तिम्सिना र इन्द्र गुरुङले पनि संयुक्त लगानीमा दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागि कृषि कर्जा लिन सिविल बैंक धाएको डेढ वर्षभन्दा बढी भइसक्यो तर पनि कर्जा पाउन सकेको छैन् ।

दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागि झण्डै रु एक करोड ३१ लाख लाग्दो रहेछ तर व्यक्तिगत लगानीमा त्यो सम्भव छैन् । त्यसैले सरल ब्याजका लागि अर्थात ५ प्रतिशतमा मात्रै उपलब्ध हुने कृषि कर्जाका लागि फिदिम बजारमा रहेको सिविल बैंक धाएको डेढ वर्ष बितिसक्दा पनि कर्जा पाउन नसकेको गुणासो उनीहरुको छ ।

“झण्डै पाँचवर्ष अघिदेखि आफूले फिदिम– ३ स्थित पौवाभञ्ज्याङमा डेरी तथा चिज उत्पादन केन्द्र प्रालि सञ्चालन गरेका छौं, त्यही केन्द्रलाई व्यवस्थित गर्दै यसलाई प्रशोधन केन्द्रमा रुपान्तरण गर्ने र त्यसबाट दूध प्याकेजिङ गरेर बजारमा लैजाने उद्देश्य राखेर प्रशोधन केन्द्र सञ्चालन गर्न लागेका हौं”, अधिकारीले भन्नुभयो, “बैंकले कहिले कृषि कर्जामा नीतिगत कार्यान्वयनको अभाव तथा जोखिम बहन गर्न नसक्ने बहाना देखाउँदै पन्छिने गरेको छ ।

तरलताको अभावलगायत विभिन्न बहानामा बैंकहरुले कृषि कर्जा दिन मानिरहेका छैनन्, उहाँको भनाई छ । बैंकले कूल लगानीको २० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति छ । तर सदरमुकाम फिदिममा अहिले डेढ दर्जन बढी सरकारी तथा वाणिज्य बैंक र वित्तीय संस्था भए पनि थोरैले मात्र २० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेका छन् ।

कृषि क्षेत्रमा लगानी गर्ने भने पनि बैंकले कृषि कर्जाअन्तर्गत भनेर ट्र्याक्टर र पिकअप खरिदका लागि ऋण दिने गरेका छन्, स्थानीय तीर्थ मिश्रले भन्नुभयो, “सरकारले कृषकलाई सरल रुपमा कृषि कर्जा दिने भनेर नीति त बनाउँछ, तर त्यो नीति बैंकले पालना गरेको पाइँदैन्, यसका लागि राष्ट्र बैंकले कडाइका साथ सुपरिवेक्षण गर्नुपर्ने हुन्छ ।”

यस्तै लामो समयदेखि अलैँचीखेती गर्दै आउनुभएका पाँचथर फाल्गुनन्द गाउँपालिकास्थित आङसराङका कृषक गणेश मिश्रले अलैँची खेती विस्तारका लागि कृषि कर्जा लिन धेरैवटा बैंक धाए तर अन्तिममा कृषि विकाश बैंक फिदीम शाखाबाट रु पाँच लाख ऋण लिए बताउनुभयो ।

त्यो सरलीकृत नभई १० प्रतिशत व्याजमा कर्जा लिए, उहाँले भन्नुभयो, “धेरै बैंक चाहारियो, तर कृषिमा र त्यसमाथि पनि अलैँची खेती विस्तारका लागि बैंकहरुले पत्याउँदै पत्याएन ।” उहाँले अलैँची तथा अलै्रची विरुवाको बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

सरल ब्याजमा ऋण प्रवाह गर्नुपर्ने भए पनि कुनै पनि बैंकले सरल रुपमा ऋण प्रवाह नगरेको नेपाल अलैँची व्यवसायी महासङ्घ पाँचथरका जिल्ला अध्यक्ष खेम अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषकले अलैँची खेतीको विस्तार, प्रर्वद्धन र विभिन्न प्रजातिको बिरुवा रोपनका लागि रकम लगानी गरेर काम गर्न खोजिरहे पनि बैंकले अलैँची खेतीमा कर्जा प्रवाह गर्न सकेको छैन ।”

सरल रुपमा कृषि कर्जा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकको नीतिअनुरुप यहाँका बैंकले उपलब्ध गराउनुपर्ने उहाँको भनाइछ ।

अहिलेसम्म अलैँची खेतीको लगानी गर्न भनेर कृषकलाई बैंकले ऋण दिए पनि बजारमा चलेकै १० देखि १५ प्रतिशत ब्याजदरमा मात्रै ऋण दिएको उहाँको भनाइ छ । राष्ट्र बैंककले बनाएको नीतिअनुसार कृषि कर्जाका लागि सरल ब्याजमा कृषकलाई लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै राष्ट्रिय कृषक समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखे्रलले पटक पटक विभिन्न बैंकलाई सरल ब्याजमा ऋण प्रवाह गर्न आग्रह गरे पनि यसतर्फ कुनै कारवाही हुन सकेको छैन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपक नेपालले अहिले पनि बैंकले कृषकलाई सरल ब्याजदरमा बनेको नीतिअनुसार ऋण प्रवाह गर्नुपर्नेमा जोड दिदैं यो नीतिको प्रभावकारी कार्यान्वयनमा सम्बन्धीत निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ पाँचथरका जिल्ला अध्यक्ष मित्रप्रसाद काफ्लेले कृषि क्षेत्रअन्तर्गत जिल्लामा बढी उत्पादन हुने अलैँची, अदुवा, चिया, दूध लगायतका क्षेत्रमा लगानी बढाउन बैंकहरु गँभीर हुनुपर्नेमा जोड दिनुभयो ।

तर बैंकले कृषि कर्जा उपलब्ध गराइरहेको दाबी गरेका छन् । अहिले फिदिम– १ स्थित मेनलाइनमा रहेको गुडबिल फाइनान्सले मात्रै कूल लगानीको ७० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको दाबी गरेको छ ।

फाइनान्सका शाखा प्रमुख विक्रम तिवारीले भन्नुभयो, “अहिले हामीले फिदिम बजारका व्यवसायीलाई भन्दा पनि गाउँका कृषकलाई बढी ऋण प्रवाह गरिरहेका छौं ।” उहाँले “गाउँमा अलैँची, अदुवा, कुखुरा, बाख्रा र पशुपालनमा ७० प्रतिशत लगानी गरेका छौ भन्नुभयो ।”

नेपाल राष्ट्र बैंकको प्रभावकारी सुपरीवेक्षण नहुँदा पनि कृषि क्षेत्रमा बैंकले लगानी गर्न डराइरहेकोे उहाँको ठम्याइ छ । यसका लागि राष्ट्र बैंकले नै बनाएको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्दछ ।

अहिले बैंकहरुले ऋण नदिनुमा राष्ट्र बैंकको सुपरीवेक्षणका अलावा भौगोलिक विकटता, सडकको असुविधा, सम्बन्धित क्षेत्रमा बैंकको पर्याप्त ज्ञान नहुनु तथा कृषकको समेत बैंकमा पहुँच नहुनु जस्ता कारण रहेको उहाँ बताउनुहुन्छ ।

सिभिल बैंक शाखा कार्यालय फिदिमका प्रमुख धु्रव बाँस्कोटाले सिभिल बैंकले कृषि क्षेत्रमा गर्नुपर्ने लगानी गरेको दाबी गर्नुहुन्छ । बैंकले कृषि तथा ऊर्जा क्षेत्रमा गर्नुपर्ने २० प्रतिशत लगानी गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सरलीकृत रुपमा ऋण प्रवाह गर्न नसके पनि बजारमा चल्ती रहेको ब्याजदरका आधारमा कृषकलाई ऋण प्रवाह गरिरहेका छांै ।” अहिले कृषकले १२ देखि १४ प्रतिशतसम्म ब्याजदरमा ऋण लिएर कृषि क्षेत्रमा लगानी गर्नुभएको उहाँले बताउनुभयो । तर अलैँची, अदुवा, दूधका क्षेत्रमा मात्रै नभएर कृषि, पशुपालन लगायतका क्षेत्रमासमेत आफूहरुले लगानी गरिरहेको दाबी प्रमुख बाँस्कोटाको छ ।

कृषि विकास बैंकले पनि कूल लगानीको ३३ प्रतिशत रकम कृषि तथा उर्जा क्षेत्रमा लगानी गरेको जनाएको छ । बैंकका शाखा प्रमुख अर्जुन ढुङ्गानाले भन्नुभयो, “कृषि तथा ऊर्जा क्षेत्रमा बैंकले २० प्रतिशत लगानी गर्दा पुग्ने भए पनि ३३ प्रतिशतसम्म लगानी गरेको छ ।”

कृषि लगानीतर्फ सरलकृषि कर्जामा व्यक्तिगत रुपमा कृषकलाई रु १० लाखसम्म लगानी गरेको बताउँदै उहाँले भन्नुभयो, “सरलीकृत ब्याजअन्तर्गत कृषकलाई रु एक करोडसम्म रकम उपलब्ध गराएका छांै ।” अलैँची, अदुवाको भाउमा उत्तारचढाव भइरहने हुँदा यस्तो क्षेत्रमा धेरै लगानी गर्न नसकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com