चितवन, १९ साउन । चितवनमा इन्धन भण्डारण केन्द्र स्थापना गर्न आयल निगमका भ्रष्ट कर्मचारीले अनेकौ उपाय प्रयोग गरेका छन् । निगमले करोडौ घोटाला गर्न टोले गुण्डादेखि नेपाल प्रहरीसमेत प्रयोग गरेको पाइएको छ । सस्तोमा जग्गा खरिद गरेर निगमलाई महंगोमा बेच्न निगमका भ्रष्ट कर्मचारी र जग्गा दलालको साठगाठ राम्रै देखिन्छ । चितवनमा सामान्य खेती मात्र हुने जमिनको सरकारी मुल्याङकन प्रति कठ्ठा बढीमा दुई लाख पर्छ । यस्ता जमिन चलनचल्तीमा ५ देखि ६ लाख रुपैयाँमा बिक्ने गरेको छ । तर, आयल निगमका कर्मचारी र दलालको मिलेमतोमा प्रति कठ्ठा ५ देखि ६ लाख रुपैयाँ पर्ने जमिन आयल निगमलाई १५ लाख रुपैयाँ भन्दा बढी मुल्यमा बिक्रि गरिएको छ । चितवनमा जग्गाको चलनचल्तीको मुल्यलाई आधार मान्दा आयल निगमका कर्मचारीले ३७ करोड भन्दा बढी घोटाला गरेका छन् ।
नेपाल आयाल निगमले चितवनमा इन्धन भण्डारण केन्द्र स्थापनाका लागि २३ बिघा १२ कठ्ठा ३ धुर जग्गा खरिद गरिसकेको छ । निगमले २०७३ साल फागुन २२ गते र २०७४ साल असार २७ गरी दुई पटकमा १२ जनाबाट जमिन खरिद गरेको मालमोत कार्यालय खैरहनीले जानकारी दिएको छ । निगमले ७४ करोड ८३ लाख ७७ हजार ५ सय ७५ रुपैयाँमा जमिन खरिद गरेको हो । मालमोत कार्यालय खैरहनीका अनुसार निगमले औसतमा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपैयाँ तिरेको छ । तर, यो मुल्य चलचल्तीको मुल्यभन्दा दोब्बर हो ।
चितवनको जग्गाको मुल्य
आयल निगमले जमिन खरिद गरेको चितवाको लोथरमा सरकारले जमिनको मुल्य प्रति कठ्ठा १ लाख ५० हजार रुपैयाँ मात्र तोकेको छ । तर, त्यस क्षेत्रको जमिन चलनचल्तीमा प्रति कठ्ठा २ देखि ३ लाख रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ । निगमले जमिन किनेको लोथर राप्ती नगरपालिका भित्र पर्छ । राप्ती नगरपालिकाका मेयर प्रभा बराल समेत आयल निगमले जग्गा खरिद गरेको क्षेत्रमा चलनचल्तीमा प्रति कठ्ठा २ देखी ३ लाख रुपैयाँमा किनबेच भएको बताउछिन् ।

दोब्बर मुल्यमा किनेर ३७ करोड घोटाला
आयल निगमको लागि जग्गा खरिद गर्न स्थानीय दलाल समेत सक्रिय थिए । दलालहरुले स्थानीय मार्फत शुरुमा नै प्रति कठ्ठा ३ लाख पर्ने जग्गा करिब ८ लाख रुपैयाँमा खरिद गरेका थिए । तर, आयल निगमका कर्मचारीले त्यही जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपैयाँमा खरिद गरेका छन् । दलालले स्थानीयलाई तिरेको मुल्य हिसाव गर्दा निगमले किनेको २३ बिघा जमिनको वास्तविक मुल्य ३७ करोड ७७ लाख २० हजार मात्रै हुन्छ । तर, निगमले ७४ करोड ८३ लाख ७७ हजार ५ सय ७५ रुपैयाँमा जमिन खरिद गरेको छ । निगमले तिरेको मुल्यबाट वास्तविक जग्गाधनीले पाएको मुल्य घटाउने हो भने आयल निगमका कर्मचारीले ३७ करोड ६ लाख ५७ हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेका छन् ।
निगमले कसरी किन्यो दोब्बर मुल्यामा
चितवनमा जग्गा खरिदको प्रकृया हेर्दा आगल निगमका भ्रष्ट कर्मचारी र जग्गा दलालको राम्रै साठगाठ प्रष्ट हुन्छ । आयल निगमले जग्गा खरिदका लागि बोलपत्र आह्वान गर्नुभन्दा अगाडी नै जग्गा दलालहरुले हाल निगमले खरिद गरेको जमिन किनिसकेका थिए । निगमलाई जमिन बेच्ने १२ जना मध्ये तीन जना जयराम थापा, अनन्तप्रसाद घिमिरे र सुरेशराज घिमिरे जग्गा दलाली गर्ने मानिस हुन । उनीहरुले, निगमले जग्गा खरिदका लागि बोलपत्र आह्वान गर्नु अगाडी नै आयल निगमको लागी भन्दै स्थानीयबाट प्रति कठ्ठा ८ लाख रुपैयाँमा ३५ जना स्थानियको करिब १० बिघा १९ कठ्ठा १२ धुर जमिन खरिद गरेका थिए । तिनै दलालले पछि निगमलाई प्रति कठ्ठा १५ लाख ८५ हजार रुपैयाँमा जमिन बेचेका हुन । तीन जना दलाललाई स्थानीयले राजी खुशीमा जग्गा बेचेका होइनन्, दलालहरुले उनीहरुलाई धम्कि दिएर जमिन खरिद गरेका थिए । दलालहरुले जग्गाधनीलाई धम्काएर जमिन लिएको स्थानीयवासीले नै पुष्टी गरेका छन् ।
सेटिङमा बहालवाल डीआइजी
नेपाल आयल निगमलाई जमिन बेच्ने १२ जना मध्ये बाँकी ९ जनामा नेपाल प्रहरीका बहालवाला डीआइजी सुदिप आचार्य पनि छन् । उनका परिवारका दुई सदस्यले समेत जमिन बेचेका छन् । डीआइजीसँगै अन्य ३ जनाले पनि नेपाल आयल निगमको नाममा सिधैं जग्गा पास गरेका छन् । आयल निगमलाई सिधै जमिन पास गर्ने डीआइजी आचार्यले आफुले १५ लाख नै मुल्य पाएको बताउँछन् । तर, डीआइजीसँगै जमिन बेच्ने अरु जग्गा धनीले भने प्रति कठ्ठा ८ लाख रुपैयाँ मात्र पाएका छन् । मालपोत कार्यालय खैरहनीको रेकर्डमा भने डीआइजी आचार्यसँगै जमिन बेच्नेहरुले समेत प्रति कठ्ठा १५ लाख ७० हजार पाएको देखिन्छ । आफुहरुले बेचेको जमिन आयल निगमले दोब्बर मुल्यमा किनेको थाहा पाएपछि यतिखेर वास्तविक जग्गाधनीहरु चकित परेका छन् ।

दलाल र निगमका कर्मचारीका रोचक साठगाठ
आयल निगमलाई चितवनमा जमिन बेच्ने दलाल अनन्तप्रसाद घिमिरे निगमका भ्रष्ट कर्मचारीसँग राम्रै साठगाठ भएका दलालको रुपमा देखा परेका छन् । घिमिरे रौतहटवासी हुन । आयल निगमले जमिन खरिद गर्ने कुरा पहिलेनै जानकारी पाइसकेका घिमिरे आयल निगमभन्दा पहिला चितवन पुगेका थिए । उनले, पहिले नै चितवनका तीर्थराज पाठक, शिवज्योति श्रेष्ठ, सहदेव खड्का, सूर्यबहादुर खड्का, सकुन्तला राई, लक्ष्मीमाया कार्की, पेमा डोल्मा थिड, जानुका कुमारी राई र सत्यदेवी खड्कासँग ४ विघा ३ कठ्ठा ९ धुर जग्गा प्रति कठठाको ८ लाखको दरमा आयल निगमका लागि भन्दै खरिद गरेका थिए । पछि उनैले त्यो जमिन निगमलाई १५ लाख भन्दा बढी मुल्यमा बेचेका छन् । निगमले जग्गा खरिदका लागि बोलपत्र आह्वान नै नगरी निगमको नाममा जग्गा खरिद गर्नेमा रोल्पा घर भएका जयराम थापा पनि हुन । थापाले समेत निगमका कर्मचारीसँगको मिलेमतोमा चितवनवासी १७ जनाबाट ४ बिघा ५ कठ्ठा १५ धुर जमिन ८ लाखको दरले किनेर आयल निगमलाई १५ लाख भन्दा बढी मुल्यमा बेचेका हुन । निगमले बोलपत्र आह्वान नै नगरी कुनै दलालले निगमका लागि भन्दै जमिन खरिद गर्नुले निगमका ठूला कर्मचारीबाटै ठूलो घोटालाको प्रपञ्च रचिएको पुष्टी हुन्छ ।
चोरका अनेकौ चाल । नेपाल आयल निगमको जग्गा खरिद प्रकृयामा पनि त्यस्तै भएको छ । करोडौ भ्रष्टाचार गर्न उद्धत निगमका ठूला कर्मचारीले जग्गा खरिदको क्रममा अनेकौ उपायको प्रयोग गरेका छन् । र, उनीहरु करोडौं घोटाला गर्न सफल भएका छन् । हाम्रो खोजबाट पत्ता लागेको प्रमाण अनुसार देशका चारै स्थानमा जग्गा खरिदका लागि निगमका महाप्रवन्धक गोपालबहादुर खड्का स्वयम् लागिपरेका थिए । महाप्रवन्धक खड्काले नै निगमले जमिन खरिद गरेको चारै स्थानका दलाल र सम्बन्धित सबै पक्षसँग सेटिङ मिलाएका थिए । अरु धेरै प्रकरणमा आएका महाप्रवन्धक खड्का यो घोटाला प्रकरणमा भने उम्कने अवस्था छैन ।







प्रतिक्रिया दिनुहोस्