काठमाडौं, १६ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आंशका व्यक्त गरेका छन् ।
शनिवार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आशंका व्यक्त गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा दिए । यसको पछाडिका कारणहरु अहिले खोजि भइरहेको उनको भनाइ छ । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाको भुमिका कस्तो रह्यो ?सरकारको भुमिका कस्तो रह्यो? निर्वाचन आयोगको भुमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ?यी सबै कुराहरु एक दिन स्पष्ट हुने उनको विश्वास छ । निर्वाचनका दौरान सेना, सरकार र निर्वाचन आयोगको भुमिकाका साथै मतपत्रको अवस्थाका विषयमा प्रश्नहरू उठिरहेको उनको भनाइ छ ।
नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख गरे । पछिल्लो निर्वाचन परिणामलाई एक अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै अध्यक्ष नेपालले आफ्ना कार्यकर्ताहरूलाई विचलित नहुन आग्रह गरे। उनले विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा रक्षात्मक हुनुपर्ने स्थिति नरहेको बताए । उनले अहिले निर्वाचित भएका नयाँ दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनीहरूलाई मुलुकको परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे जानकारी नभएको टिप्पणी गरे ।
उहाँले भन्नुभयो,‘पछिल्लो कालमा २०४७ सालमा संविधान बनाइरहेको बेलामा पनि महिलाहरुको विशेष उपस्थितिको कुरा, दलितहरुको विशेष उपस्थितिको कुरा त्यतिखेर पनि त्यहाँ अनिवार्य गरिएको थियो । जब हामीले संविधान सभाबाट संविधान बनाउने ठाउँमा आइसकेपछि स्वभाविक रुपमा महिलालाई प्रत्येक पालिकाहरुमा, राज्यका निकायहरुमा एउटा प्रमुख पदमा पुरुष राखिन्छ भने अर्को पदमा महिला हुनुपर्छ भनेर मान्यताका साथ हामीले प्रतिनिधित्वको व्यवस्था, नेतृत्वको ठाउँमा समेत पु¥याउने गरी संवैधानिक व्यवस्था गर्न पुगेका छौं । त्यसैगरी चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँहरुमा पनि महिलाहरुको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ । त्यसैले यी सबै कुरा यी अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरुलाई ? उनीहरुले कुनै भुमिका खेलेका छन् ? त्यो बेलामा भुमिका खेल्ने को हुन् ? किन म अहिले के देख्छु भन्दाखेरि हाम्रा साथीहरु कता–कता डिफेन्सिभ भएको म पाउँछु । डिफेन्सिभ भनेको रक्षात्मक । विरोधीहरु आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति । केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो । यसका पछाडिका पनि कारणहरुको खोजी भइरहेको छ । बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले । के–के हो ?सेनाको भुमिका कस्तो रह्यो? सरकारको भुमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भुमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो रु यी सबै कुराहरु पनि एक न एक दिन खुल्दै जाने पनि छ ।’
विगतको योगदानको रक्षा गर्दै आगामी दिनमा दृढताका साथ अघि बढ्न उनले पार्टी पंक्तिलाई आह्वान गरे ।








प्रतिक्रिया दिनुहोस्