काठमाडौँ : काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर उठिबास लगाएको केही घण्टामै एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार शुक्रबार दिउँसो सरकारी टोलीले सुकुम्बासी बस्तीका घरटहरा भत्काउन सुरु गरेपछि आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्दै गरेका ती पुरुषले अचानक बागमती नदीमा हाम फालेका थिए। स्थानीयले तत्काल उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन सकिएन।

नेपाल प्रहरीको टोलीले बागमती नदीबाट उनको शव बाहिर निकालेको छ। बल्खुस्थित बागमती नदीमा ६१ वर्षका एक पुरुष मृत फेला परेका छन् । दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रज्वल लिम्बूका अनुसार उनी आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका थिए । ‘उनी म बस्ने जागरण टोलकै हुन्,’ उनले भने । मृतक लामो समयदेखि बल्खुको फलफूल मण्डीमा काम गर्दै आएका थिए ।
मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताइन् ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक इन्द्रबहादुर राई हुन् । उनले भने, ‘मृतकका परिवारसँग सम्पर्क हुँदै छ ।’ प्रत्यक्षदर्शीका अनुसार घर भत्काइएपछि उनी निकै हतास र तनावमा देखिएका थिए।

विस्थापनको पीडामा दोस्रो आत्महत्या
सुकुम्बासी बस्तीमा सरकारी डोजर चल्न थालेपछि उत्पन्न मानसिक तनाव र भविष्यको अन्योलताका कारण आत्महत्या भएको यो दोस्रो घटना हो। यसअघि थापाथली सुकुम्बासी बस्तीमा डोजर चल्ने सूचनाले आतंकित भएका एक १७ वर्षीय किशोरले ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेका थिए।
नदी किनारका बस्तीहरू खाली गराउने क्रममा विकल्प र उचित व्यवस्थापन नहुँदा विस्थापितहरूमा गहिरो मानसिक आघात (Trauma) पुगेको छ।
गहिरिँदो मानसिक संकट र प्रश्न
एकपछि अर्को आत्महत्याको घटनाले सुकुम्बासी बस्ती व्यवस्थापनको सरकारी शैलीमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
- पहिचान र व्यवस्थापनको अभाव: विस्थापितहरूलाई कहाँ राख्ने भन्ने ठोस योजना नहुँदा नागरिकहरूमा चरम असुरक्षाको भावना पैदा भएको छ।
- मनोवैज्ञानिक दबाब: वर्षौँदेखि बसेको ओत गुम्दा, सामानहरू सडकमा अलपत्र पर्दा र बालबच्चाको भविष्य अन्योलमा देख्दा अभिभावकहरू चरम मानसिक दबाबमा परेका छन्।
सुकुम्बासी बस्ती हटाउँदा नागरिकको आत्मसम्मान, मानवअधिकार र बाँच्न पाउने हकको न्यूनतम ख्याल समेत नगरिएको भन्दै मानवअधिकारवादी र नागरिक समाजले राज्यको यस कदमको कडा आलोचना गरिरहेका छन्।








प्रतिक्रिया दिनुहोस्