सेना, प्रहरी, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत् सम्बन्ध कायम रहेको स्पष्ट
काठमाडौं — नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति पार्टीको स्थापित नीति र मूल्य–मान्यताविपरीत भएको ठहर गरेको छ ।

शुक्रबार केन्द्रीय सचिवालय बैठकले करिब ६ घण्टा लामो छलफलपछि बादलको भनाइ सच्याउने निर्णय गरेको छ । बैठकपछि महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा सेना, प्रहरी, कर्मचारीतन्त्र (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको र भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पारिएको छ ।
बैठकको मुख्य निष्कर्ष
- बादलको अभिव्यक्ति पार्टी नीतिविपरीत थियो ।
- प्रधानमन्त्री बालेन्द्र शाहसहित निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई ।
- फागुन २१ को निर्वाचनबाट अभिव्यक्त जनमतलाई सम्मान गर्ने ।
- सुरक्षा निकाय, न्यायालय, कर्मचारीतन्त्रप्रति कुनै वैरभाव नरहेको ।
- निर्वाचनमा पार्टीको कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको ।
एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै निर्वाचनमा सहयोग गर्ने सबै पक्ष — मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी र नागरिक समाजलाई धन्यवाद दिएको छ ।
बादलले के भनेका थिए ?
बिहीबारको बैठकमा बादलले रास्वपाको विजयलाई ‘नीलो क्रान्ति’ को वैधानिकता भनेका थिए । उनले भदौ २३–२४ को जेनजी आन्दोलनलाई ‘अवैधानिक’ भन्दै नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ तथा ‘अदृश्य शक्तिहरू’ को निर्णायक भूमिका रहेको टिप्पणी गरेका थिए ।
पार्टीभित्रको असन्तुष्टि
बादलको अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमै असहमति जनाएका थिए । शुक्रबारको बैठकमा पनि अधिकांश नेताले उक्त धारणा ठीक नभएको बताएका थिए ।
एक शीर्ष नेताले बैठकपछि भनेका छन्, “उहाँ एमाले त आउनुभयो, तर बुझाइ भने माओवादी कालको जस्तै रहेछ ।”
विज्ञप्तिको पूर्णपाठ
आज नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौं बैठक कार्यबाहक अध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पन्न भयो । बैठकले निम्न प्रस्ताव पारित गरिएको छः
१) यही २०८२ चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो। निर्वाचन समितिले निर्धारित प्रक्रिया पुरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ। र, लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्दछ । यस निर्वाचनका सम्बन्धमा पार्टीपङ्क्ति, खासगरी युवापङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ। बैठकले दल नेतामा सर्वसम्मतिका साथ निर्वाचित हुनुभएकोमा कमरेड रामबहादुर थापालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ।
२) बैठकमा यही २०८२ चैत १९ गते सम्पन्न प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ। त्यसैगरी, बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयज्यूहरूलाई बधाई ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
३) बैठकले नेकपा (एमाले) नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिला दिदीबहिनीहरू विरूद्ध भइरहेको लगातारको साइबर आक्रमणको घोर निन्दा एवम् भ्रत्सना गरेको छ। साथै नियोजित आक्रमणको विरूद्ध कडारूपमा प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन समस्त पार्टीपङ्क्तिलाई आह्वान गरेको छ। त्यसैगरी, साईबर आक्रमणमा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
४) बैठकले वर्तमान सरकारको विधार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।
५) सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। ६) पश्चिम एशियमा जारी हिंसाका कारण बीसौं लाख नेपालीहरू असुरक्षित बनेका छन्। हिंसाकै कारण एक नेपालीको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नेपाल फर्कन चाहनेहरू चिन्तित अवस्थामा छन्। बैठकले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरेको छ। शंकर पोखरेल
महासचिव
अन्य निर्णय
बैठकले सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयको विरोध गर्दै फिर्ता लिन माग गरेको छ । साथै, सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै त्यसको पनि विरोध गरेको छ ।
पश्चिम एशियाको हिंसाबाट प्रभावित नेपालीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्कन चाहनेहरूलाई व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
एमालेले पार्टी पंक्तिलाई यो विषयमा सार्वजनिक टिप्पणी नगर्न पनि आह्वान गरेको छ ।
बादलले संसद्मा बादलल के भनेका थिए ?
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका आफ्नो अमूल्य जीवनको आहूति दिने भाद्र २३ र २४ लगायत सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
सम्माननीय सभामुख महोदय,
नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत १३ गते भव्य धार्मिक अनुष्ठान मार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो ।
यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रुपमा क-कसको निर्णायक भूमिका रह्यो, तथ्यहरुले के स्पष्ट गर्दछ भने मुख्य त नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउण्डेसन एनजीओ आदि संस्था एवं पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो ।
त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेका तर्फबाट धेरै धरै बधाइ भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसकसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछ भने अदृष्य शक्तिहरु, टीओबी, एआई, एल्गोरिदम, गोयबल्सहरु, जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराको रुपमा स्थापित गरे ।
जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले । त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरुलाई पनि नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधरण प्रश्नहरु जन्माएको छ । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनैतिक नेतृत्व र निजी निवासहरु, प्रहरी चौकी, व्यवसायिक प्रतिष्ठानहरु सुनियोजित ढंगबाट जलाइयो । कुन उद्देश्य प्राप्तिका लागि कसले ती अवोध विद्यार्थीहरुलाई निषेधित क्षेत्र तोड्न उक्साइयो ?
कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरु २३, २४ गते तिलस्मी रुपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफतार गरियो ? कुन उद्देश्य प्राप्ति गर्न राजनीतिक नेतृत्वहरुलाई गिरफतार गर्ने प्रपञ्ज रिचिँदैछ ?
कुन उद्देश्य प्राप्तिका निम्ति देशब्यापी रुपमा दमन चक्र र राज्य आतंक मच्याइँदैछ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरुको संगठित हुन पाउने मौलिक अधिकारहरुलाई बलात् खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सिर्जना गरिँदैछ ?
सम्मानीय सभामुख महोदय,
निश्चय पनि यी प्रश्नहरुको भविष्यले सही जवाफ दिदै जानेछ । तर यी प्रश्नहरु र यस्तै यस्तै प्रश्नहरु हामी सम्पूर्ण तागत सहित राज्यलाई सोध्नेछौं । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौ ।
सम्मानीय सभामुख महोदय,
यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीयज्यूहरुलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
अन्त्यमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्ना कमकमजोरीहरुलाई सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्दछ । त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ ।
धन्यवाद ।








प्रतिक्रिया दिनुहोस्