आन्तरिक र बाह्य कारकलाई मुख्य जिम्मेवार ठहर्याउँदै १६५ क्षेत्रीय समितिलाई प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा अत्यन्त कमजोर नतिजा आएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हारका लागि आन्तरिक र बाह्य दुई प्रमुख कारण जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।
बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा पार्टी नेतृत्वले यो विश्लेषण प्रस्तुत गरेको हो । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ वटा वाम घटक मिलेर बनेको नेकपाले चुनावअघि आफूलाई निर्णायक शक्ति बनाउने आन्तरिक अनुमान गरेको थियो । तर प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी जम्मा १७ सिट मात्र जितेपछि पार्टीले गम्भीर समीक्षा सुरु गरेको छ ।
आन्तरिक कारणहरू
बैठकमा प्रस्तुत गरिएको प्रारम्भिक प्रतिवेदनमा आन्तरिक कमजोरीलाई मुख्य जिम्मेवार ठहर गर्दै निम्न कारणहरू औंल्याइएको छ :
- क्रान्तिपछि आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसक्नु
- संगठनात्मक समायोजन नहुनु
- विचारधारात्मक काम र प्रशिक्षणको कमी
- युवाहरू पार्टीमा आकर्षित नहुनु
- वाम शक्तिहरूबीच एकता कायम नहुनु
- परिवर्तनको उपलब्धि जनतालाई बुझाउन नसक्नु
- भएका कामको प्रभावकारी प्रचार प्रसार नहुनु
- सिद्धान्त र व्यवहारबीचको ठूलो अन्तर
- अवसरवादी र व्यक्तिवादी कार्यशैली
- प्राविधिक जनशक्ति र स्रोत-साधनको अभाव
- जनतासामु विकल्पको रूपमा प्रस्तुत हुन नसक्नु
बाह्य कारणहरू
पार्टीले बाह्य कारकलाई पनि उत्तिकै महत्व दिएको छ । जसमा :
- पुराना दलविरोधी अभियान
- वाम शक्तिमाथि निरन्तर प्रहार
- भूराजनीतिक स्वार्थ र बाह्य शक्ति केन्द्रको चलखेल
- डिजिटल सुनामी (सामाजिक सञ्जालको प्रभाव)
- लोकप्रियतावादी शक्तिको तीव्र प्रचार
- विदेशमा बस्ने नेपालीको भूमिका
रहेका छन् ।
क्षेत्रीय समितिलाई निर्देशन
निर्वाचन परिचालन समितिले फागुन २८ मा प्रारम्भिक समीक्षा गरेको थियो । बैठकले अब १६५ वटै निर्वाचन क्षेत्रका समितिलाई चुनावी हारको ठोस कारणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
नेकपाले यी प्रतिवेदनको आधारमा थप गहन छलफल गरी पार्टीको भावी रणनीति तय गर्ने बताएको छ ।








प्रतिक्रिया दिनुहोस्