ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”


एबीसी न्यूज
फाल्गुन ३०, २०८२ शनिबार  १ : ३० बजे

नेताहरूबीच सामाजिक सञ्जालमै तिक्त बहस, जिम्मेवारी, नेतृत्व र अवसरवादको आरोप

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित र ठूलो पराजय भोगेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र असन्तोष, निराशा र आरोप–प्रत्यारोपको श्रृंखला सुरु भएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र आत्मसमीक्षा सुरु हुने अपेक्षा गरिए पनि नेताहरूबीच सार्वजनिक रूपमा सामाजिक सञ्जालमै एकअर्कालाई लक्षित टिप्पणी गर्न थालेपछि विवाद थप चर्किएको छ।

विशेषगरी फेसबुकमा लेखिएका स्टाटसहरूले एमाले नेतृत्वबीचको आन्तरिक मतभेद, चुनावी रणनीतिमा असहमति र व्यक्तिगत आरोपसमेत सतहमा ल्याएको छ। महासचिवदेखि पूर्वमन्त्रीसम्मका नेताहरूले सार्वजनिक रूपमा लेखेका टिप्पणीहरू अहिले पार्टीभित्रको बहसको केन्द्र बनेका छन्।

महासचिव पोखरेलको स्पष्टीकरण : “योगेशजीले जिम्मेवारी नपाएको भन्ने चर्चा अपूर्ण !”

एमाले महासचिव शंकर पोखरेल ले उपमहासचिव योगेश भट्टराई लाई लक्षित गर्दै फेसबुकमा स्पष्टीकरण दिएका छन्। निर्वाचनका समयमा जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा चलिरहेको सन्दर्भमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनको फेसबुक स्टाटस यस प्रकार छ—

“अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ।

अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ।

तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु।

सायद योगेशजीको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ। भ्रम नपरोस् भनेर मात्र स्पष्ट गर्नु परेको हो।”

पोखरेलको यो टिप्पणीले निर्वाचन अभियानका क्रममा जिम्मेवारी बाँडफाँड र नेताहरूको भूमिकाबारे पार्टीभित्र मतभेद रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

प्रदीप ज्ञवालीको लामो टिप्पणी : “इतिहासकै गम्भीर धक्का”

एमाले नेता प्रदीप ज्ञवाली ले पनि निर्वाचन परिणामपछि फेसबुकमार्फत लामो टिप्पणी गर्दै पार्टी पङ्क्तिमा देखिएको अन्योल र निराशाबारे चर्चा गरेका छन्। उनले यो परिणामलाई एमाले इतिहासकै गम्भीर धक्का मध्ये एक बताएका छन्।

उनले लेखेका छन्—

“प्रिय कमरेडहरू,
निर्वाचन परिणामसँगै नेकपा (एमाले) पङ्क्तिमा एकखालको अन्योल र नैराश्य देखा परेको छ। प्रतिकूल परिणामका बीचमा यस्ता प्रतिक्रिया अस्वाभाविक होइनन्।

हामीले व्यहोरेको धक्का इतिहासकै गम्भीरतम मध्येको हो।

त्यसो त हामी असाध्यै असहज अवस्थामा निर्वाचनमा सहभागी भएका थियौँ। जुन पार्टीका ६४ भन्दा बढी कार्यालय ध्वस्त पारिएका थिए, जसका २ सयभन्दा बढी नेता कार्यकर्ताका घर खरानी बनाइएका थिए, जसका अध्यक्षलाई स्थान हद तोकेर केही दिन अगाडिसम्म काठमाडौँमै खुम्च्चाइएको थियो र जसका कार्यक्रमहरूमा बारम्बार धम्की, अवरोध र आक्रमण गरिएका थिए– त्यस पार्टीले निर्वाचनको सामना गर्नु आफैँमा अदम्य साहस, लोकतन्त्रप्रतिको अविचलित निष्ठा र जनतामाथिको भरोसाको दृष्टान्त थियो।

एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ। समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो। तर यस्तो धक्काको अनुमान भने थिएन। फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ।

यसका धेरै कारणहरू छन्। आन्तरिक छन्, बाह्य पनि छन्।

तीमध्ये कति समयमै ध्यान दिन या सच्याउन सकिने खालका थिए होलान्। कति भने काबु बाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए।

कतिपय नीतिगत विषय होलान्। कतिपय संरचनागत प्रश्न छन्। शैलीगत कारणहरू छन्। नेतृत्व पङ्क्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन्।

यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ।

समीक्षा गरिएन, ‘यो यस्तै हो’ भनियो या अरूलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झन् गहिरिँदै जानेछ।

तर वृहत्तर अर्थमा यो कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो।

नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन।

हामीले धैर्य गर्नुपर्छ। तर धैर्य मात्रै गरेर पुग्दैन। सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनुपर्छ।

बालकृष्ण समको कविताले भनेझैँ—

‘पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा,
पालुवा त्यसमा अर्कै त्यो वसन्त पलाउला।’

ढल्नु भनेको सकिनु होइन, फेरि उठ्नका लागि तयारी थाल्नु हो।

आउनुहोस्—फेरि उठ्ने तयारी थालौँ।”

गोकुल बास्कोटाको कडा प्रहार

यसैबीच एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा ले आफ्नै पार्टीका नेता शेरबहादुर तामाङ लाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

उनको फेसबुक स्टाटस यस्तो छ—

“भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाइलागेछन्।

म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन।

०३८ यताका इतिहास हेरौँ न।”

बास्कोटाको यो टिप्पणीले एमालेभित्र व्यक्तिगत आरोपको स्तरसम्म पुगेको आन्तरिक विवादलाई उजागर गरेको छ।

सामाजिक सञ्जालमा खुलेको एमालेको आन्तरिक संकट

निर्वाचनपछि एमालेभित्र सुरु भएको सामाजिक सञ्जालको बहसले पार्टीभित्र गहिरो आत्मसमीक्षा आवश्यक भएको संकेत गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले तीन कुरा स्पष्ट देखाएको छ—

  • चुनावी रणनीति र नेतृत्व शैलीबारे गम्भीर असन्तोष
  • नयाँ पुस्तासँग कमजोर संवाद
  • नेताहरूबीच बढ्दो व्यक्तिगत टकराव

यसैले अहिले एमालेभित्रको बहस केवल निर्वाचन हारको समीक्षा मात्रै होइन, पार्टीको भावी दिशा, नेतृत्व र संगठनात्मक संरचनाबारेको बहसमा रूपान्तरण हुने सम्भावना देखिएको छ।

एमाले आगामी दिनमा गहिरो आत्मसमीक्षाबाट पुनःउत्थानतर्फ अघि बढ्छ कि आन्तरिक विवादले थप संकट निम्त्याउँछ—त्यो भने पार्टी नेतृत्वले गर्ने निर्णय र व्यवस्थापनमा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सम्बन्धित

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com