भरतपुर, चितवन — एबिसी टेलिभिजनको ‘इलेक्सन एक्सप्रेस’ कार्यक्रम अन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालसँग गरिएको विशेष कुराकानीमा उनले भरतपुर महानगरको सफल अनुभवलाई संघीय संसदसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार दाहा संग विशेष अन्तर्वार्ता एबीसी टेलिभिजनका प्रधान सम्पादक शुभ शंकर कंडेल ले लिनुभएको हो।
देशभर चर्चित उम्मेदवारमध्ये एक मानिएकी दाहाल दुई कार्यकाल भरतपुर महानगरपालिकाको मेयर भइसकेकी हुन्। महानगरको नेतृत्व सम्हाल्दा उनले राजनीतिक रूपमा अल्पमतमा रहँदा पनि सर्वदलीय समन्वयमार्फत विवादरहित र परिणाममुखी कार्यशैली अपनाएको दाबी गरिन्।
उत्साहजनक चुनावी अभियान
दाहालका अनुसार निर्वाचन क्षेत्रका २८ वटै वडामा घरदैलो अभियान सम्पन्न भइसकेको छ। “जनताको अपार विश्वास, माया र साथ पाइरहेको छु,” उनले भनिन्, “विगत कार्यकालको कामबाट सन्तुष्टि व्यक्त गर्ने मतदाताको संख्या उल्लेख्य छ।”
मेयर पदबाट कार्यकाल सकिन करिब १५ महिना बाँकी रहँदा राजीनामा दिएको विषयमा उठेका प्रश्नबारे उनले भनिन्, “भरतपुरलाई न्याय गरेको छु भन्ने आत्मसन्तुष्टि छ। अब अझ ठूलो दायरा र जिम्मेवारीमा रहेर योगदान दिन चाहन्छु।”
समन्वयकारी नेतृत्वको दाबी
चितवनलाई उनले ‘देशभरबाट बसाइँसराइ हुने, राजनीतिक रूपमा सचेत र प्रतिस्पर्धात्मक जिल्ला’ को संज्ञा दिँदै यस्तो परिवेशमा सर्वसम्मत निर्णय गराउनु आफैंमा उपलब्धि भएको बताइन्। उनका अनुसार कार्यपालिका र नगरसभाका अधिकांश निर्णय सर्वसम्मत भएका थिए।
“पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गरियो भने विवाद हुँदैन,” दाहालले भनिन्, “मैले व्यक्तिगत स्वार्थ राखिन, त्यसैले भ्रष्टाचार वा अनियमितताको आरोप सामना गर्नु परेको छैन।”
पारदर्शिता र सुशासनमा जोड
स्थानीय तहमा देखिएका खर्च अभाव र भ्रष्टाचारका गुनासोबीच भरतपुरलाई पारदर्शी र उच्च पुँजीगत खर्च गर्ने पालिकाको रूपमा स्थापित गरिएको उनको दाबी छ। उनले आफूविरुद्ध कुनै आर्थिक अनियमितताको आरोप प्रमाणित नभएको उल्लेख गर्दै खुला बहसका लागि तयार रहेको बताइन्।
संघीय भूमिकामा फराकिलो दायरा
संघीय सांसदको भूमिकाबारे उनले कानुन निर्माणमा सीमित नहुने स्पष्ट पारिन्। “संसदबाटै सरकार बन्छ, र सरकारको काम विकास निर्माण पनि हो,” उनले भनिन्, “स्थानीय तहमा कार्यान्वयन गरेको अनुभवलाई अब जिल्ला र राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्य छ।”
चितवनलाई देशको केन्द्रीय ‘हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा एकीकृत योजना अघि बढाउने उनको भनाइ छ।
क्षेत्र नम्बर ३ का प्राथमिकता
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत पश्चिम चितवन र माडी क्षेत्रका समस्या फरक–फरक रहेको उल्लेख गर्दै दाहालले माडीका लागि सडक स्तरोन्नति, रिउ नदी तटबन्धन, जंगली जनावरबाट हुने जोखिम न्यूनीकरण, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने बताइन्।
भरतपुर क्षेत्रमा भने सहरी सौन्दर्यीकरण, सडक बत्ती, सीसी क्यामेरा, ट्राफिक व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा विस्तार, ग्रामीण सडक तथा खानेपानी योजनामा उल्लेखनीय प्रगति भएको उनको दाबी छ।
दाहालले अन्त्यमा भनिन्, “विकास केवल सडक निर्माण मात्र होइन, दिगो र समावेशी परिवर्तन हो। भरतपुरमा सुरु भएको विकास मोडेललाई अब संघीय तहबाट अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्छु।”








प्रतिक्रिया दिनुहोस्