ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !


एबीसी न्यूज
माघ १७, २०८२ शनिबार  ६ : ०१ बजे

काठमाडौं, : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै तिखो व्यंग्य प्रहार गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई ‘देश जलाउने’ र ‘देश बनाउने’ दुई ध्रुवबीचको लडाइँ बताउँदै ओलीले बालेनलाई ‘बतासे अण्डा’ र ‘बतासको खेती’ गर्ने व्यक्तिको संज्ञा दिए। यो टिप्पणीले झापा क्षेत्र नम्बर ५ मा ओली–बालेनबीचको प्रत्यक्ष टक्करलाई थप रोचक र तातो बनाएको छ।

शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्ने प्रतिस्पर्धा छ। हामी देश बनाउने कित्तामा छौं। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।”

उनले आफ्नो परम्परागत गढ झापा–५ मा बालेनको प्रवेशलाई कटाक्ष गर्दै थपे, “मेरै ठाउँमा पनि ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगेका छन्।” बालेनको नाम नलिई उनले व्यंग्यपूर्ण रूपमा भने, “अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको। बतासे अण्डाबाट चल्ला निस्किँदैन। यी बतासका खेती गरिरहेका छन्। संगठन छैन, उद्देश्य छैन, विचार छैन। भोलि उठेर कहाँ जाने थाहा छैन। फर्किने हो कि होइन, त्यो पनि थाहा छैन।”

ओलीले थप चर्को स्वरमा भने, “पुल्ठो झोस्न, आगो बाल्न, देश बिगार्न, भड्काउन, तोडफोड गर्न, लुटपाट गर्न, आगजनी गर्न जान्नेहरूले यस्ता कुरालाई क्रान्ति भनेर महिमामण्डन गर्छन्। यस्ता आकाशे खेती हुन्। धर्तीमा जनतासँग पुगेका छैनन्। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन। एउटा मोबाइल भाँडोबाट होडलो मच्चाएका छन्।”

उनले आफ्नो पक्षलाई बलियो देखाउँदै भने, “हामी मोबाइल प्रयोग गर्छौं तर देश र जनताको हितमा काम गर्छौं। देश समृद्ध, सुरक्षित र जनता सुखी बनाउँछौं। हामी बिचलित हुँदैनौं।”

अध्यक्ष ओलीले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै टिकट नपाएको झोकमा पार्टी परित्याग गर्नेहरूले आफ्नो वास्तविक चरित्र देखाएको बताए।

ओलीले पार्टी छोड्नेहरूलाई एमालेको विचार र संगठनभन्दा पनि व्यक्तिगत पद चाहिएको रहेछ भन्ने पुष्टि भएको जिकिर गरे।

‘उनीहरूलाई पार्टी चाहिएको रहेनछ, व्यक्ति चाहिएको रहेछ,’ ओलीले थपे, ‘अहिले त केही दिएर पार्टीमा टिकाउनुहुन्थ्यो होला, अर्का पल्ट नदिएका बेला उही हो। अलिक माथि पुर्‍याउनुस्, अलिक बलियो बनाउनुस्, अलिक प्रभावशाली बनाउनुस्, नपाउने बित्तिकै फेरि पार्टी छोड्दिन्छन्।’

विद्रोही उम्मेदवार र पार्टी छोड्नेहरू यसपटक टिकट नदिनु नै सही निर्णय भएको उनको तर्क गरे।

‘कस्तो चिनिएछ भने यसपल्ट, चिनेरै नदिएको ठीकै भएछ। यसपल्ट दिएको भए झन् भड्खालो हुन्थ्यो, हामी सबैले बोकेर हिँड्थ्यौँ,’ उनले भने, ‘अर्को पल्ट पाइन्न भनेपछि फेरि छोड्थे। पार्टीलाई त झन् ठुलो धोका हुन्थ्यो।’

कार्यक्रममा बोल्दै ओलीले ओखलढुंगाबाट प्रदेश सभाका लागि उम्मेदवार बनेकी युवा नेत्री अस्मिता थापा र अन्य उम्मेदवारहरूलाई विजयको शुभकामना दिए। उनले पुराना अनुहारले मात्र सधैं अवसर पाउनुपर्छ भन्ने नरहेको भन्दै युवाहरूलाई अगाडि बढाइएको बताए।

अध्यक्ष ओलीले एमालेको उद्देश्य र गन्तव्य सही रहेको भन्दै स्वार्थ पूरा नहुँदैमा पार्टी गलत नहुने बताए।

उनले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको भन्दै सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय रहन निर्देशन समेत दिए।

जेनजी आन्दोलनमा पनि ओलीको सफाइ

सोही दिन ओलीले जेनजी आन्दोलन (भदौ २३–२४ गते भएको युवा विद्रोह) बारे भिडियो सन्देश जारी गरे। उनले आन्दोलनमा गोली चलाउने आदेश आफूले नदिएको स्पष्ट पारेका छन्। आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गर्दै उनले भने, “भ्रममा नपर्नुहोस्। यो उपद्रव थियो, क्रान्ति होइन।”

झापा–५: राजनीतिक ‘हट सिट’ बन्दै

ओलीले २०४८ सालदेखि जित्दै आएको झापा–५ मा बालेनको उम्मेदवारीले चुनावी माहोल निकै तातेको छ। ओलीले आफूलाई ‘देश बनाउने’ शक्तिको प्रतिनिधि ठहर्‍याउँदा बालेनले युवा, वैकल्पिक राजनीति र सामाजिक सञ्जालको शक्तिलाई आधार बनाएका छन्। यो क्षेत्र अब पुरानो पुस्ता र नयाँ पुस्ताको सीधा टक्करको केन्द्र बनेको छ।

ओलीको यो टिप्पणीले निर्वाचन अभियानलाई थप व्यक्तिगत र भावनात्मक बनाएको छ। बालेन पक्षबाट जवाफ आउने क्रम जारी छ, जसले मतदातालाई झन् विभाजित पार्ने देखिन्छ। झापा–५ को नतिजाले नेपालको आगामी राजनीतिक दिशा निर्धारण गर्न सक्छ – यो लडाइँ अब केवल सीटको होइन, विचार र पुस्ताको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com