काठमाडौं, १७ माघ । नेपालले झन्डै ५ वर्ष अघि देशको नक्सामा अद्यावधिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका बासिन्दा आउँदो फागुन २१ गतेको चुनावमा पनि नसमेटिने भएका छन् । नेपालले २०७७ सालमा सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको भए पनि त्यहाँका बासिन्दाले अझै मतदानमा सहभागी हुन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार नक्सामा थपिएका बस्तीका बासिन्दाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र बनाएका छैनन् । यी कागजात बिना मतदानमा सहभागी हुन पाइँदैन । भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रका बासिन्दाले भारतीय नागरिकता र रासन कार्ड लिएका पाइएको ब्यास गाउँपालिकाले जनाएको छ ।
भारतीय सेनाको प्रत्यक्ष निगरानीमा रहेको त्यस क्षेत्रमा नेपालीहरू सजिलै आवातजावात गर्न पाउँदैनन् । निर्वाचन आयोगले कालापानी क्षेत्रका नजिक पर्ने छाङ्गरू र टिङ्करमा दुई वटा मतदान केन्द्र तोकेको थियो तर ती क्षेत्रका बासिन्दा जाडो यामम जिल्ला सदरमुकाम खलङ्गामा बस्ने भएकाले अस्थायी मतदान केन्द्र पनि खलङ्गामै सारिएको छ ।
नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने यी क्षेत्र नेपालको भू–भाग रहेको दाबी गर्दै आएको छ । सन् १९६० मा भएको भारत–चीन युद्धपछि यो क्षेत्रमा भारतीय सेनाको उपस्थिति रहेको छ ।








प्रतिक्रिया दिनुहोस्