ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा


एबीसी न्यूज
माघ १७, २०८२ शनिबार  २ : ४४ बजे

अधिकांश जनता नयाँ रोज्ने बताउँछन्, तर कुन नयाँ ?


विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर १ लाई यसपालि केवल एउटा निर्वाचन क्षेत्रको सीमामा बाँधिएको छैन। यो क्षेत्र अहिले पुरानो र नयाँ राजनीति, पार्टी र व्यक्तित्व, संगठन र जनलहरबीचको निर्णायक प्रयोगशाला बनेको छ।

यस निर्वाचनको केन्द्रमा दुई प्रतीक उभिएका छन्—
माटो र घण्टी।
माटो बोकेर मैदानमा उत्रिएका छन् धरानका मेयरका रूपमा उदाएका हर्कराज राई (साम्पाङ)। घण्टी बजाउँदै अगाडि बढिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)—जसको पछाडि बालेन शाहको छायाँ र ‘नयाँ विकल्प’को दाबी छ।

साम्पाङको उदय : माटोबाट संसदतर्फ

धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनेका हर्क साम्पाङ यसपालि श्रम संस्कृति पार्टी दर्ता गरेर ‘माटो’ चुनाव चिह्नसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।
उनी दलीय राजनीतिमा नयाँ भए पनि धरानमा उनको राजनीतिक प्रभाव पुरानो दलभन्दा कम छैन।

स्थानीय तह निर्वाचनमा साम्पाङले २० हजार ८२१ मत ल्याएर जित्दा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार किशोर राई १६ हजार ५९ मतमै सीमित भएका थिए। यही आँकडाले साम्पाङलाई अहिले पनि बलियो दावेदार बनाएको छ।

घण्टीको दाबी : नयाँ तर संस्थागत

अर्कोतर्फ, ०७९ को प्रतिनिधिसभा निर्वाचनमै देशको चौथो शक्ति बनेको रास्वपा पनि सुनसरी–१ मा पूरा ताकतका साथ उत्रिएको छ।
रास्वपाबाट गोमा तामाङ (सरिन) उम्मेदवार छन्—उनी ०७९ मा एमाले–जसपा गठबन्धनका अशोक राईसँग झिनो मतान्तरले पराजित भएकी थिइन्।

त्यसबेला अशोक राईले १७ हजार ५९ मत पाउँदा गोमा तामाङले १६ हजार ६०६ मत ल्याएकी थिइन्।
यस अर्थमा, घण्टी यहाँ नयाँ मात्र होइन—पहिले नै प्रतिस्पर्धी शक्ति हो।

पुराना दल : उम्मेदवार नयाँ, छवि पुरानो

सुनसरी–१ मा यसअघि पटक–पटक जित्दै आएको नेकपा एमाले, निरन्तर प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेस र कहिल्यै जितेको इतिहास बोकेको कम्युनिस्ट पार्टी पनि मैदानमा छन्।
तर जनमानसमा यी दलहरूलाई ‘पुरानो राजनीति’कै रूपमा हेरिएको छ।

  • एमाले : टिकाराम लिम्बु
  • कांग्रेस : सुजेन्द्र तामाङ
  • नेपाली कम्युनिस्ट पार्टी : सूर्यबहादुर भट्टराई

उम्मेदवार अनुहार नयाँ भए पनि दलको ब्रान्ड पुरानो भएकाले उनीहरू निर्वाचनमा असुरक्षित देखिन्छन्।

भूगोल र मतदाता

सुनसरी–१ मा:

  • धरान उपमहानगरपालिकाका वडा १–२० : १,१०,९३९ मतदाता
  • बराहक्षेत्र नगरपालिका वडा १–५ : २८,२४१ मतदाता
  • रामधुनी नगरपालिका वडा ६–७ : ११,२१३ मतदाता

कुल मतदाताको ठूलो हिस्सा धरानमै केन्द्रित छ, जहाँ नयाँ राजनीतिक चेतना तीव्र देखिन्छ।

जनमत : नयाँ चाहिन्छ, तर…

स्थलगत रिपोर्टिङका क्रममा भेटिएका अधिकांश मतदाताले एउटै कुरा दोहोर्याए—
“यसपालि पुरानालाई भोट छैन।”

वैदेशिक रोजगारीबाट फर्किएका चतराका अच्युत पोखरेल भन्छन्,

‘मैले कहिल्यै भोट हालेको थिइनँ। तर यसपालि नयाँलाई दिनुपर्छ भन्ने सोच छ।’

तर समस्या यहीँ छ—
नयाँ कुन ?

८२ वर्षीय मदनबहादुर बुढाथोकीको अन्योल धेरैको आवाज हो—

‘कोही माटो भन्छन्, कोही घण्टी। उद्देश्य के हो, स्पष्टसँग कसैले भनेको छैन।’

नयाँ–नयाँ भिडन्त र मत विभाजनको डर

घण्टी र माटो दुवै नयाँको प्रतीक भएकाले मत विभाजनको चिन्ता व्यापक छ।
धरान–१४ की प्रतीक्षा प्रधान भन्छिन्,

‘नयाँहरू मिलेर जानुपर्ने हो, तर उल्टै एक–अर्कालाई गाली गरिरहेका छन्।’

यही विभाजनले पुराना दललाई पुनर्जीवित गर्ने डर स्थानीयमा छ।

पुराना दलको रणनीति : अघोषित गठजोड ?

नयाँ शक्तिको बढ्दो प्रभावले एमाले, कांग्रेस र कम्युनिस्ट पार्टीलाई रक्षात्मक अवस्थामा पु¥याएको छ।
स्थानीय बुद्धिजीवीहरूका अनुसार यही डरले अघोषित गठबन्धनको चर्चा सुरु भएको हो।

विश्लेषक प्रा.डा. टंक न्यौपाने भन्छन्,

‘धरानमा एमालेको संगठन कमजोर छ, कांग्रेसको उपस्थिति पनि घटेको छ। यस्तो अवस्थामा नयाँलाई रोक्न पुराना अन्तिममा एउटै लाइनमा उभिन सक्छन्।’

एमालेका एक नेताले नाम नछाप्ने सर्तमा भने,

‘अन्तिममा तीन पार्टीले एउटै उम्मेदवारलाई सहयोग गर्ने अवस्था आउन सक्छ।’

साम्पाङका चुनौती

यद्यपि साम्पाङप्रति आकर्षण कायमै छ, मेयर पदबाट राजीनामा दिएर सांसद बन्न खोज्नुले उनलाई आलोचनाबाट मुक्त राखेको छैन।
धरान–१५ का लोकराज निरौला भन्छन्,

‘कार्यकाल नसक्दै छाड्नु अपरिपक्व निर्णय हो।’

उनका केही पुराना समर्थक पनि अहिले विमुख भएको गुनासो सुनिन्छ।

अन्तिम लडाइँ : दुई मोर्चा

सुनसरी–१ मा अहिले दुई स्पष्ट मोर्चा बनेका छन्—

  • नयाँ शक्तिहरू (घण्टी र माटो) : आपसमा मत काटिने डर
  • पुराना दलहरू : कुनै पनि हालतमा नयाँलाई संसद् छिर्न नदिने रणनीति

यदि पुराना दलहरू साँच्चै गठजोडमा उत्रिए भने निर्वाचन परिणाम अत्यन्त अप्रत्याशित हुन सक्छ।

तर चतरादेखि धरानसम्म मतदाताको साझा माग एउटै छ—
“जो जिते पनि धरानको पानी र बराहक्षेत्रको बाटो नबिर्सियोस्।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

बालेनको घरको गेटमा तोडफोड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com