काठमाडौं, १२ माघ । माघ १० गते शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान पठाएको थियो ।सोही दिन पोस्टमार्टमका लागि अस्पतालमा अर्को किशोरीको शव पनि ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालियो, जुन राधिकाको भएको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कारका लागि लगे । तर त्यो शव राधिकाको नभई निशाको थियो ।शनिबार पोस्टमार्टमका लागि शव अस्पताल पुर्याए पनि प्रहरीले परिवारका सदस्य आएपछिमात्रै आवश्यक प्रक्रिया अघि बढाउने बतायो । सोमबार बिहान आमा(बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो १ बजे पोस्टमार्टम गराउनका लागि अस्पताल तयार भएको थियो ।
तर अस्पतालमा भएको शव सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको भएको खुल्यो । साथै राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य पनि सार्वजनिक भयो ।तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने निशाकै परिवारले शव बुझिसकेको र पछि मात्र आफ्नो नभएको दाबी गरेपछि शव हेरफेर भएको थाहा भएको प्रतिक्रिया दिएका छन् ।घटनाप्रति आक्रोश व्यक्त गर्दै स्थानीयवासी तथा आफन्तजनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए ।
केही समय राजमार्ग अवरुद्धसमेत भएको थियो ।स्थानीयहरूले चिकित्सक तथा अस्पताल सञ्चालक समितिका अध्यक्षमाथि कडा कारबाहीको माग गरेका छन् ।यसैबीच जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनामा दोषी देखिएका व्यक्ति वा निकायमाथि कानुनअनुसार कारबाही हुने बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्