काठमाडौं, ९ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिने विषयमा पार्टीभित्र आन्तरिक छलफल सुरु गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिएका हुन्। यसअघि निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीको निर्णयअनुसार उम्मेदवार बनाइएको थियो। तर सो क्षेत्रमा विभिन्न दलबाट उम्मेदवारी दिएका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्न थालेका हुन्।
पार्टी स्रोतका अनुसार, भट्टराईसँग युवाहरूले निर्वाचन प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अभिभावकको भूमिकामा रहन आग्रह गरेका छन्। ‘डा. साहबलाई चुनाव लड्नु भन्दा मार्गदर्शक र अभिभावकको भूमिका निर्वाह गर्न उपयुक्त हुने धारणा राखिएको छ,’ स्रोतले भन्यो।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद रहेकाले यस विषयमा अन्तिम निर्णय आजै हुने सम्भावना रहेको छ। पार्टीभित्र व्यापक छलफल भइरहेकाले भट्टराईको निर्णयले गोरखा–२ को चुनावी समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
डा. भट्टराईको अन्तिम निर्णयसँगै गोरखा–२ को निर्वाचन प्रतिस्पर्धा थप स्पष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।








प्रतिक्रिया दिनुहोस्