बुटवल, माघ ९ – रूपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कार्भिका थापा ले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता गरेकी छन्।
थापाले आफ्नो निर्णयको कारण सार्वजनिक गर्दै लेखेकी छन्,
“तपाईंहरूलाई थाहै छ, म विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन र सीप आर्जन गर्दै आएको छु। पछिल्ला ८ वर्षदेखि नेपालमै फर्केर त्यही सीप प्रयोग गर्दै काम गर्ने अवसर पाएकी छु। युवाहरू विदेश जान बाध्य नहून्, राष्ट्रमै बसेर देश सेवा गर्न सकिन्छ भन्ने सोचका साथ मैले यो उम्मेदवारी दिएको थिएँ।
अध्ययनको क्रममा प्राप्त स्थायी आवास अनुमति पत्र (ग्रीन कार्ड) परित्याग गरेपछि उम्मेदवारी दिन सकिन्छ भन्ने मेरो बुझाइ थियो। आजको दिनसम्म मैले कुनै अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन। तर पछि नेपालको संविधानको धारा २९१ अनुसार, कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी पाएँ। संविधानको सम्मान गर्नु हाम्रो सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु।”
थापाले भनिन् कि उनले कुनै विरोध वा उजुरी नपरेको भए पनि, राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले सहमति र सम्मानका साथ आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेकी हुन्।
उनी भन्छिन् कि उम्मेदवारी फिर्ताले उनको सेवा भावना समाप्त गर्ने छैन। राजनीतिमा वा बाहिर रहेर पनि उनी प्रविधि, उद्यमशीलता, युवा र महिला सशक्तीकरण, साथै सुशासनका लागि काम जारी राख्नेछिन्। थापाले स्पष्ट कानुनी आधार तयार भएपछि फेरि जनता सामु उभिने तयारीमा रहेको जानकारी दिइन्।








प्रतिक्रिया दिनुहोस्