दमक,७ माघ । दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू दुईतिहाइ मत ल्याएर विजयी बन्ने दाबी गरेका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै ७० प्रतिशत मत एमालेमा आउने बताए । बुधबार (माघ ७) झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरूसँगको भेटमा उनले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको बताए ।
गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्यभन्दा बढी आपराधिक कार्यहरू भएको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा भन्दा पनि आपराधिक कार्य गर्दा मृत्यु भएको उल्लेख गरे । त्यो त आपराधिक घट्ना हो नि । नगरपालिका किन जलाएको, विजनेस कम्प्लेक्स किन जलाएको ? उनले भने, दमक नमुना सहरको रूपमा विकास भइरहेको छ ।
त्यो भवनमा भ्यू टावर होइन आईटी हबको रूपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतंकित पारेर पनि हुन्छ ? उनले दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सबैका आँखाअघि छर्लंग रहेको उल्लेख गरे । यस क्षेत्रको नदी कटान बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्न बाँकी रहेछ भने बुझाउन उनले आग्रह गरे । उनले बालेनलक्षित टिप्पणी गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकको व्यवस्थापनबारे थाहा नहुने बताए ।








प्रतिक्रिया दिनुहोस्