झापा, ६ माघ २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । तर उनको यो उम्मेदवारीको सबैभन्दा ठूलो विशेषता भनेको ‘मिडियासँग बोल्न नचाहने’ र आफ्ना चुनावी एजेन्डा तथा क्षेत्र रोज्नुको कारणबारे कुनै प्रतिक्रिया नदिनु हो ।
मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बालेनले दर्ता नम्बर ४ मा मनोनयन दर्ता गराएका हुन् । बिहान ११:१० बजे कार्यालय पुगेका उनको प्रक्रिया कागजात अपूर्ण भएकाले डेढ घण्टा लम्बियो । भूमिनन्द बराल प्रस्तावक र भेषराज भट्टराई समर्थक रहेको उनको मनोनयन दिउँसो १२:४० मा मात्र टुंगियो ।

तर सबैभन्दा चर्चित कुरा उनको ‘साइलेंट’ बाहिरिने शैली थियो । मनोनयन सकेर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधे :
- झापा–५ किन रोज्नुभयो ?
- यहाँका मुख्य एजेन्डा के हुन् ?
- ओलीसँगको प्रतिस्पर्धाबारे के भन्नुहुन्छ ?
यी सबै प्रश्नमा बालेनले एक शब्द पनि बोलेनन् । उल्टै सञ्चारकर्मीलाई “बाहिर जानुस्” भन्दै कार्यकक्षबाट निस्कन आग्रह गरे । फोटो र भिडियो खिच्न खोज्दा पनि उनले रोके । बाक्लो सञ्चारकर्मी र समर्थकको भीडका बीच उनी कुनै औपचारिक प्रतिक्रिया नदिई कार्यालयबाट निस्किए ।
आचारसंहिता उल्लङ्घनको आरोप पनि
राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले बालेनका समर्थकहरूको ठूलो उपस्थितिलाई आचारसंहिता उल्लङ्घन भएको आरोप लगाएका छन् । निर्वाचन आयोगले तडकभडक र ठूलो भीड नगरी उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको थियो । तर बालेनका समर्थकहरूले दमकमा शक्ति प्रदर्शन गरेको संग्रौलाको भनाइ छ ।
झापा–५ को चुनावी तापक्रम
यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र हो, जहाँ उनी पटक–पटक ठूलो मतान्तरले विजयी हुँदै आएका छन् । गत निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएका थिए । यसपटक रास्वपाले बालेनलाई उतारेर ओलीलाई ‘जेनजी’ पुस्ताबाट चुनौती दिएको छ । तर बालेनको यो ‘साइलेंट’ शैलीले मतदातामा प्रश्न उठाएको छ— उनी जनतासँग बोल्न चाहँदैनन् कि एजेन्डा लुकाउन खोज्दैछन् ?
बालेनको यो व्यवहारले झापा–५ को चुनावलाई थप रोचक बनाएको छ ।








प्रतिक्रिया दिनुहोस्