अध्यक्षमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ७ र सचिवमा २० उम्मेदवार, कुल ६४४ को उमेद्वारी
काठमाडौं १ पुस । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सकिएको छ। महाधिवेशन निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार पदाधिकारीमा तीव्र प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ७ र सचिवमा २० जनाको उम्मेदवारी परेको छ। केन्द्रीय कमिटी, अनुशासन आयोग र लेखा आयोग गरी कुल ६४४ जनाको मनोनयन दर्ता भएको आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिए। “उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ, ।
पदाधिकारीमा मुख्य प्रतिस्पर्धा
अध्यक्ष (१ पद, २ उम्मेदवार): केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मुख्य भिडन्त। ओली तेस्रो कार्यकालका लागि र पोखरेल पहिलो पटक अध्यक्ष दाबी गर्दै मैदानमा छन्।
उपाध्यक्ष (५ पद, ११ उम्मेदवार): रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, (ओली पक्ष), बिन्दा पाण्डे, परशुराममेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल (पोखरेल पक्ष) सहित स्वतन्त्र उम्मेदवारहरू।
महासचिव (१ पद, २ उम्मेदवार): शंकर पोखरेल (ओली पक्ष) र सुरेन्द्र पाण्डे (पोखरेल पक्ष)।
उपमहासचिव (३ पद, ७ उम्मेदवार): रघुवीर महासेठ, विष्णु रिमाल, लेखराज भट्ट (ओली पक्ष), योगेश भट्टराई, वैजनाथ भट्टराई (पोखरेल पक्ष) सहित अन्य।
सचिव (९ पद, २० उम्मेदवार): पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की, राजन भट्टराई (ओली पक्ष), गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ (पोखरेल पक्ष) सहित स्वतन्त्रहरू।
यो प्रतिस्पर्धाले पार्टीभित्र ओली र पोखरेलबीचको ध्रुवीकरण भएको छ । ओली पक्षले निरन्तरता र स्थिरताको नारा दिएको छ भने पोखरेल पक्षले पुस्तान्तरण र सुधारको एजेन्डा अघि सारेको छ।
अन्य आयोगमा पनि प्रतिस्पर्धा
केन्द्रीय कमिटी (३०१ सदस्यीय) मा सयौं उम्मेदवार छन्। अनुशासन आयोग र लेखा आयोगमा पनि दर्जनौं मनोनयन परेको छ। कुल ६४४ उम्मेदवारीले महाधिवेशनको रोचकता बढाएको छ।
मतदान विद्युतीय मेसिनबाट हुने तयारी छ। परिणामले पार्टीको भावी दिशा र जेनजी आन्दोलनपछिको सुधारको परीक्षा लिनेछ।
यो महाधिवेशन जेनजी आन्दोलनपछिको नयाँ परिवेशमा भइरहेको छ । यसल गर्दा युवा कोटा र संगठनात्मक नवीकरणलाई स्वीकार्न भने बाध्य पारेको छ।
ओली समूह फुट्दा पोखरेल पक्ष उत्साहित:
एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको समूहमा ठूलो भूकम्प गएको छ। ओलीका निकटतम र वर्षौंदेखि साथ दिएका कम्तीमा एक दर्जन प्रभावशाली नेताले उनको साथ छाडेका छन्। उम्मेदवारी मनोनयनको अन्तिम घडीमा ओली प्यानलबाट नाम नपरेपछि वा अपेक्षित पद नपाएपछि यी नेताहरू स्वतन्त्र उम्मेदवारी दिएका छन् वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल क्याम्पमा प्रवेश गरेका छन्। यसले पोखरेल पक्षलाई उत्साहित बनाएको छ र उनीहरूले यो आफ्नो रणनीति सफल भएको ठहर गरेका छन्।
प्रदीप ज्ञवालीः ओलीका रक्षाकवचको मौन असन्तुष्टि
ओलीका सबभन्दा विश्वासपात्र र राजनीतिक रक्षाकवचका रूपमा चिनिएका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै मौन विद्रोह गरेका छन्। महासचिव पदका बलिया आकांक्षी ज्ञवालीलाई ओलीले उपाध्यक्ष प्रस्ताव गरेका थिए। तर शंकर पोखरेललाई नै महासचिव दोहोर्याउने निर्णयपछि ज्ञवालीले ओली निवासमै गएर कुनै पदाधिकारीमा नबस्ने जानकारी गराए।
उनले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गरेर निराश मुडमा महाधिवेशनस्थलबाट बाहिरिए। “उहाँले महासचिव नहुने भए कुनै पदमा बस्दिनँ भन्ने अडान राख्नुभयो,” निकट एक नेताले भने।
मंसिर २७ को उद्घाटन सञ्चालन र विधान महाधिवेशनमा ओलीको प्रतिवेदन पढेका उनी महासचिव बन्नेमा आशावादी थिए।
ज्ञवालीको यो कदमले ओली समूहमा हलचल ल्याएको छ। सौम्य छवि र वैचारिक पकड भएका उनी ओलीका दस्तावेज लेखक र बचाउकर्ता थिए। उनको असन्तुष्टिले मतदानमा प्रभाव पार्न सक्ने विश्लेषण छ।
ओली समूहबाट बहिर्गमनः एक दर्जन नेताको असन्तुष्टि
प्रदीप ज्ञवाली : उपाध्यक्ष अस्वीकार, केन्द्रीय सदस्यमा मात्र।
काशीनाथ अधिकारीः संगठन विभाग प्रमुख, कुनै उम्मेदवारी नदिएर ‘एक्जिट’।
अग्नि खरेलः सचिवमा स्वतन्त्र।
रघुजी पन्तः उपाध्यक्षमा स्वतन्त्र।
लालबाबु पण्डितः सचिवमा स्वतन्त्र।
राजेन्द्र गौतमः उपमहासचिवमा स्वतन्त्र।
भीम आचार्यः उपाध्यक्षमा स्वतन्त्र, “चाकडी नगर्ने स्वभावले प्यानलमा परिनँ”।
गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठः पोखरेल पक्षबाट सचिव।
यी नेताले ओलीलाई सकसपूर्ण अवस्थामा साथ दिंंदै आएका थिए। “नेतृत्वले विवेक पुर्याएन, योगदान हेरेन,” ओली पक्षका एक पदाधिकारीले भने। शंकर पोखरेल, विष्णु रिमाल, राजन भट्टराई, भानुभक्त ढकाल, महेश बस्नेतलाई बढी विश्वास गर्दा अरू छुटेको भन्दै चर्को असन्तुष्टि व्यक्त भएको छ।
पोखरेल पक्षको उत्साह
पोखरेल पक्षले ओली समूहको फुटलाई आफ्नो रणनीति सफल भएको ठहर गरेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोकिएपछि पोखरेल पक्षले असन्तुष्टलाई तान्ने योजना बनाएको थियो। केही पद रिक्त राखेर यो रणनीति अपनाएका थिए।
“ओली पक्षमा असन्तुष्टि कति छ कति,” पोखरेल पक्षका एक नेताले भने, “प्रदीप ज्ञवालीजस्ताको निराशाले अध्यक्षले अन्दाज लगाउन सक्नुभएन। गोप्य मतदानमा फाइदा हुन्छ।” गोकर्ण विष्टले भने, “हामी उत्साहित छौँ, विजय सुनिश्चित छ।”
विधान संशोधनदेखि जेनजी विद्रोहसम्म
विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ बनाएको थियो। जेनजी आन्दोलनपछि ओली सत्ताच्युत भए। महाधिवेशन अगाडि बढाउन र आफ्ना नेतालाई समेट्न ओलीले विधान संशोधन गरेर पदाधिकारी १९ र कमिटी ३०१ बनाए। तर यो कदमले झनै असन्तुष्टि बढायो।
विद्या भण्डारीको सदस्यता रोकिएपछि पनि आन्तरिक विभाजन बढ्यो। पोखरेलले अध्यक्षमा चुनौती दिएपछि ओलीले बढी नेतालाई समेट्ने प्रयास गरे पनि सफल हुन गाह्रो पर्यो । मंगलबार मतदान हुँदैछ। ओली समूहको फुटले पोखरेल पक्षलाई बलियो बनाए पनि अध्यक्ष र महासचिवमा ओली र शांकर पोखरेल दोहरिने निश्चित जस्तै छ ।
एमाले केन्द्रीय कमिटी, अनुशासन र लेखा आयोगमा ६४४ उम्मेदवार [सूचीसहित]







प्रतिक्रिया दिनुहोस्