काठमाडौं ६ असोज । गत भदौ २४ गते भएको आगजनीमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सकित देशभरका ४८ वटा कार्यालयमाथि आक्रमण आगजनी भएको छ । आक्रमणमा कम्तीमा १० करोड रुपैयाँको क्षति भएको कांग्रेसले जनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भदौ २४ गते भएको आगजनीमा केन्द्रीय कार्यालयमा मात्रै १० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । ३६ केन्द्रीय नेताको घरमा आगजनी र तोडफोड भएको उनले बताए ।
‘जेनजी आन्दोलनको दोस्रो दिन हाम्रो केन्द्रीय कार्यालय पनि विभिन्न समूहले तोडफोड आगजनी गरेका छन् । यसको हामीले प्रारम्भिक अनुमान निकाल्दा १० करोड रुपैयाँको क्षति भएको छ । इन्जिनियरहरूले थप अध्ययन अनुसन्धान गरेपछि क्षतिको अंक थप बढ्न सक्छ,’ विश्वकर्माले भने, ‘सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको निवासमा क्षति भएको छ ।’
देशभरका ४८ वटा पार्टी कार्यालय भवनमा आगजनी भएको उनले बताए । विश्वकर्माका अनुसार देशभर गरेर १३२ नेताको घरमा आगजनी भएको छ ।
पार्टी सभापति देउवाको बूढानीलकण्ठको निवास, उपसभापति पूर्णबहादुर खड्काको सुर्खेतको निवास, महामन्त्री गगन थापाको काठमाडौंका रातोपुलको निवास, विश्वप्रकाश शर्माको झापाको निवास र ललितपुरको डेरामा आगजनी भएको छ । कोषाध्यक्ष उमेश श्रेष्ठको चितवनस्थित घरमा आगजनी भएको उनले जानकारी दिए ।
सहमहामन्त्री महेन्द्र यादवको धनुषाको घरमा पनि आगजनी गरिएको छ । त्यस्तै, पूर्व पदाधिकारीहरुमा शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा। रामशरण महत, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहितका नेताको घरमा आगजनी भएको विश्वकर्माले जानकारी दिए ।
कांग्रेस पार्टीको ऐतिहासिक विरासत जोडिएको विराटनगरको कोइराला निवास, ललितपुरको बाँडेगाउँमा कृष्णप्रसाद भट्टराईको नाममा खोलिएको आश्रममा समेत आगजनी भएको छ ।
‘लुटेर, ठगेर, बदमासी गरेर पैसा कमाएको होइन : डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनमा आफ्नो पनि घर जलाइएकोप्रति दु:ख र आक्रोश प्रकट गरेका छन् । आफूले अमेरिकामा कमाएको पैसाले घर जोडेको र भ्रष्टाचार नगरेको उनको भनाइ छ ।
अमेरिकामा आफूले छात्रवृत्तिमा पढेको र सँगै गएकी पत्नीले काम गरेर पैसा कमाएको महतले सम्झिए । यसकै लगानीबाट भएको आम्दानीले अरु चिज थपेको बताए । डा. महतले भने, ‘लुटेर, ठगेर, बदमासी गरेर पैसा कमाएको होइन । जहिले जहिले पदमा पुगेँ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेको छु ।’
महतको भनाइ उनकै शब्दमाः
मैले प्रतिस्पर्धामा नाम निकालेर अमेरिकाको छात्रवृत्ति पाएँ, कसैले निगाह गरेर होइन । ०४६ सालको आन्दोलनको ७ जना सञ्चालक समितिको सदस्य हुँ । यो देशको लोकतन्त्रलाई स्थापित गर्ने प्रक्रिया हामीले अगाडि बढायौं । लोकतन्त्र आउनुभन्दा अगाडि नै मैले प्रतिस्पर्धाबाट छात्रवृत्ति प्राप्त गरेको थिएँ । त्यसबेला लोकतन्त्र चाहनेले पासपोर्ट पनि पाईंदैनथ्यो । त्यो अवस्थामा म जान नपाउने भएँ । लोकतन्त्र आयो र पढ्न गएको हो ।
श्रीमती पनि सँगै गएकी थिइन् । मेरो छात्रवृत्ति र उनले काम गरेर यो घरजग्गा जोडेको हो । यसकै लगानीबाट आर्जेको आम्दानीबाट अरु चिज थपेको हो । म जहिले–जहिले पदमा पुगेँ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेको छु । लुटेर, ठगेर, बदमासी गरेर कमाएको होइन ।
अहिले हाम्रो समाजमा यस्तो खाले मानसिकता देखिएको छ कि कसैले मिहिनेत गरेर प्रगति गर्यो भने पनि बदमासै हुने । राजनीतिमा पनि असल नियतले इमान्दारिताका साथ काम गर्नेहरु पनि सबै बदमास हुने ? त्यो खाले बहस, निस्कर्षले हामीलाई कहाँ पुर्याउँछ ? त्यतातर्फ हामी समाजले सोच्न जरुरी छ ।
म सात कक्षादेखि जेल जान थालेको । यत्तिकै ल्याएर कसैले ठ्याक्क राखेको मान्छे होइन । म पनि नवयुवा थिएँ । अधिकारका लागि लडेको हुँ । हामीले पनि धेरै आन्दोलनको नेतृत्व गर्यौं । कति अनुशासनका साथ आइयो । अनुशासनको विकल्प छैन । पार्टीभन्दा व्यक्तिभन्दा माथि उठेर देश र जनतालाई मात्र केन्द्रविन्दू बनाएर काम गर्नुको विकल्प छैन । मैले सत्तामा हुँदा पनि नेतृत्वसँग जुधेर बसेको हो ।
यो धमिलो पानीमा खेलेर आफ्नो रोटी सेकाउने प्रवृत्तिसँग होसियार होउँ । विभिन्न पार्टी पंतिका मानिसहरु आन्दोलनमा प्रवेश भएको सुनेको छु । के नियतले गरे ? किन त्यो गरे ? यसको सबै पार्टीले मूल्यांकन गर्नुपर्छ । जो जो त्यस्तो प्रवृत्तिमा संलग्न छन्, नेतृत्वले त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।
जुन पार्टीले ०७ सा अघिदेखि लड्या लड्यै गर्यो, त्यसमाथि नै आक्रमण भएको छ । विपी कोइरालाको पुस्तैनी घर पनि छोडेनन् । कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध काम गरेर गल्ति गर्यो भन्न खोज्या हो ? वीपीले गल्ति गरे ? गणेशमान सिंह, जसको चाक्सीबारीबाट ४६ सालको आन्दोलन अघि बढ्यो, गणेशमानले गल्ति गर्यो ? हामी लोकतन्त्रका लागि बर्षौंवर्ष आफ्नो रगत पसिना सम्पूर्ण समय बगायौं । तिमीहरुले गल्ति गर्यौ भन्या हो ?








प्रतिक्रिया दिनुहोस्