सम्पादकीयः इतिहासमा एक दिन एक पटक आउँछ भन्ने घटना नेपालमा २० वर्षको बीचमा तीन पटक फरक फरक रुपमा नेपाली समाजलाई जरैसम्म हल्लाउनेगरी भएका छन्। ०६२–६३को जनआन्दोलनले राजतन्त्रलाई इतिहासको गर्तमा पुर्याइदियो । ०७२ को महाभुकम्पको प्राकृतिक विपत्तिले नेपाली समाजको राजनीतिक तथा भावनात्मक संवेदनालाई समेत हल्लाउनेगरी आयो । उत्कर्षमा नयाँ संविधान जारी गर्ने सुँडेनीका रुपमा कारकको काम गर्न पुगेको थियो । त्यसलगत्तैको विश्व महामारीले दुनियालाई हल्लाउँदा नेपाललाई उतिसारो हल्लाउन सकेन । अन्ततः तीन दलीको शासकीय बेइमानी, घात र प्रतिघातको उत्कर्षमा जेनजी आन्दोलनको नाममा विध्वंसको पटाक्षेप हुँदै गर्दा प्रमुख दलका मुखियाहरुले अकल्पनीय रुपमा नेपाली समाजका अगाडि आत्मसमर्पण गर्ने सुखद घटना उदांगिएको छ । यद्यपि दुई सय पचासवर्ष पुरानो सामन्ती प्रणाली ध्वस्त पार्न सफल बनेको दस्तावेज संविधानसभाबाट बनेको संविधानलाई दाग भने अवश्य नै लागेको छ ।
राष्ट्रपतिले उदार लोकतन्त्रप्रति आफ्नै प्राणको बाजी लगाउन समेत तयार बनेकै कारण उनकै शब्दमा अनेक जुक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ, प्रतिगामी शक्तिहरुको आशा चरम निराशामा परिणत भएको छ । तर इतिहासम कहिल्यै खडा नभएको भूराजनीतिक जोखिम व्यवहारिक रुपले नै दैनिक रुपले सामना गर्नुपर्नेगरी उभिएको छ । भूराजनीतिक चुनौतिसँगको व्यवहारमा हेलचक्राईं गरिएमा नेपालभन्ने देशको भूगोल इतिहासको विषय बन्न पनि सक्नेछ भन्ने तथ्यलाई मौजुदा शासक र पुरातनपन्थी बन्न पुगेका मठाधिशहरुको कथित लोकतान्त्रिक पार्टीका अधिकारीहरुले कुन संवेदनशीलताका साथ आत्मसाथ गर्न सक्छन् त्यसमै निर्भर गर्नेछ । यतिबेला जेनजी आन्दोलनका नाममा के के भयो भन्ने विषय एक जण्ड शिक्षा भन्दा बढी बनाएर गनगन गर्नुको कुनै तुक छैन । जब राजनीतिले लिकछाडेर, दाइभाउजु, बा र नानीका बामा गिरेपछि यस्तो तमासा नभएर के होस् ।
संघीय निर्वाचनको घोषणा भएको परिवेशमा प्रमुख दलहरुले आफ्ना दलको मुहारमा पोतिएका भ्रष्टाचार र दुराचारको हिलो सफा गरेर जनताका बीचमा जानेगरी जति छिटो तयार हुन्छन्, त्यति नै चाँडो नेपाली समाजको कहर कम हुनेछ । पूव प्रधानमन्त्रीहरु विशेषगरी ओली, दउेउवा र प्रचण्डले सक्रिय राजनीतिबाट सन्यासको घोषणा जति चाँडो गर्नेछन्, उति नै सहज रुपमा एमाले, नेका र माकेको जीवन जोगिन सक्ने बाटो खुला नै हुनेछ । यदि यी तीन मुखियाहरुले अझै पनि आफ्नो दलको घाँटी अँठ्याइराख्ने धृष्टता गरिरहे हो भने आगामी निर्वाचनपछि यी पार्टीहरु इतिहासको प्रजापरिषद् बन्नेमा कुनै दुविधा छैन । यो तथ्यलाई हालै उनीहरुले आफ्नो जीउ जोगाउन सेनाको घेरामा स्वघोषित रुपमा थुनिन तयार भएको निरिहताको प्रमाण भन्दा ठूलो तथ्य अरु केही आवश्यक छ र ? त्यसमाथि बा, राजनेता र दाजु भनेर पुजिएको ठान्ने नेताहरुलाई लछारपछार पार्दा, लखेट्दा उनीहरुका निवासलाई खुलेआम वित्याँस पार्दा कहींकतै चरोमुसो निस्कन नसकेबाटै उनीहरुका लाखौं सदस्यता र कथित युवा नवमण्डले संगठनको टाटपल्टाईले ती दलका दलपतिहरुप्रतिको चरम वितृष्णालाई उजागर गरेको छ । यस्तो दुनियाँका अघि स्थापित भएको तथ्य र सत्यलाई कुनै पनि किसिमको किन्तु, परन्तु र आदि, इत्यादिको कुतर्क गर्नु भनेको दिउँसै रात पारेजस्तै हो । मुख्य राजनीतिक दलहरुमध्ये पनि नेका, एमाले र माकेका मुखियाहरुले तत्कालै सक्रिय राजनीतिबाट अबकाशको घोषणा गर्नु बचेखुचेको इज्जत जोगउने उपाय पनि हुनेछ । उनीहरुको असफलता र नालायकीका लागि कुनै दृष्टान्त वा फेहरिस्तको चांग लगाउनुको अब कुनै अर्थ हुँदैन ।
कथंम् यी दलका असफल मुखिया र कायर मनुवाहरुले पद ओगटिरहने मुढेबल गरिरहन्छन् भने त्यहाँ बाँकी जति जीउँदो रहेका छन्, उनीहरुले खुलेआम विद्रोहको झण्डा उठाएर नयाँ र साझा वाम पार्टी गठन गर्ने हदसम्मको अभियानलाई अघि बढाउन कुनै आलटाल गर्ने सुविधा छैन र हुने छैन । किन कि चुनाव आइनैहाल्यो । यद्यपि राजनीतिक आत्महत्या गर्ने छुट भने सवैलाई हुनेछ । जसरी जेनजी आन्दोलनको राप र ताप सहन नसकेर केही युवाहरुले आत्महत्या गरेको समाचार जो बनिरहेको छ ।

तसर्थ यतिबेला राजनीतिक परिवर्तनको सुईलाई पछिल्तिर घुमाउने षडयन्त्र सफल नभएर मूलत परिवर्तकारी संविधानकै लिकमा रहेकाले चुनावको तयारी गर्नु, त्यसका लागि आजका जनताले खोजेको समाधान दिनेगरी आफ्नै शरीरको धुलो मैलो पखालेर जनतामा जानुको कुनै विकल्प छैन । अस्थिरता र संक्रमणकालको फाइदा उठाएर छ महिने म्यादी सरकारले सत्ताको आयू लम्वाउनतर्फ लाग्ने खतरा जतिसुकै बेला हुने भएकाले देशलाई चुनावी बाटोमा लैजानु र आगमी चुनावलाई सफल पार्नुको कुनै विकल्प छैन भनिएको हो । चुनावपछि बन्ने संसदमा गच्छेअनुसारको दाउपेचका लागि त फेरि पनि अवसर र मन्च अवस्य नै मिल्नेछ । त्यो स्वभाविक संसदीय राजनीतिको खेल नै हो । त्यो बेलासम्म पुग्दा आजको जेनजी पुस्ताले उनीहरुको कल्पना, सपना र यथार्थबीचको अन्तरलाई पनि आत्मसाथ गर्नेछ ।
त्यो बेला कथित रुपले विदेशी दान, दातव्य, धाप आश्रय र प्रवर्धन क्षणिक युवा मनस्थिति माथिको दोहन थियो भन्ने स्वयं भावी जेनजी पुस्ताले राम्रैसँग आत्मसाथ गर्ने सन्दर्भ पनि अवश्य नै उपलव्ध हुनेछ ।








प्रतिक्रिया दिनुहोस्