नागरिक सरकार बनाउनु नै अहिलेको उत्तम निकासको प्रारम्भ विन्दु हुनसक्छ ।
विशेष सम्पादकीयः जनताका हक अधिकारमाथि चर्को अपमान र तिरस्कारको परिणाम जेनजी पुस्ताले आक्रोश व्यक्त गर्दा देश अशान्त भएको छ । सम्पूर्ण सुरक्षा संयन्त्र सोमवार दिउँसोदेखि नै असफल भएको छ । लाग्दैछ सुरक्षा निकायले पनि हात उठाएको हुनपर्छ । तसर्थ देशलाई थप जल्न नदिनका लागि तत्काल प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुको कुनै पनि विकल्प थिएन । यदि उनी अझै टसमस नभएको भए राष्ट्रपतिले ओलीलाई पदमुक्त गर्नु पर्ने अवस्था आइसकेको थियो ।
अब एकमात्र संवैधानिक बैधताको निकायका रुपमा रहेको राष्ट्रपतिले सर्वपक्षीय तथा सर्वदलीय छलफलको आयोजना गरी नागरिक सरकार बनाउनु नै अहिलेको उत्तम निकासको प्रारम्भ विन्दु हुनसक्छ ।
यस्तो सरकारले एकवर्षभित्र ताजा जनादेशमा जानु नै उत्तम उपाय हुनेछ । जनताले विभिन्न चरणका आन्दोलनबाट प्राप्त गरेका हक अधिकारको संरक्षणका लागि देशभरका जागरुक नागरिकले आफूलाई कुनै पनि दलका बँधुवा मजदुर नवनीकन सचेत र जिम्मेवार नागरिकका रुपमा सोच्नु आवश्यक छ ।

देश जलिरहेका बेला उत्तेजना र आक्रोश भन्दा पुराना दलहरुको विस्थापन र सुन्दर नेपाल बनाउने नयाँ पुस्ताको चाहना पूरा गर्न पनि जिम्मेवार नागरिकको सवैभन्दा ठूलो जिम्मेवारी हुनुपर्दछ । देशले जति भोग्नु, हिंसा, हत्या र आतंकको कालो छायाँ पटक पटक भोग्नु हुँदैन । राजनीतिक संकटलाई सुझबझुपूर्ण राजनीतिक तरिकाबाट नै समाधान गरिनु पर्दछ ।
पछिल्लो निर्वाचनदेखि अहिलेसम्म मन्चन भएका सरकारका नाटक र दलहरुको अर्कमण्यताले पूराना सवै दल तिनका अगुवाहरुको औचित्य समाप्त गरेकोमा अब कसैले पनि विवाद गरिरहनु आवश्यक छैन । नेपाली नागरिक र जिम्मेवार सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारी, पत्रकार र नगारिक अगुवा सवैले निकट छिमेकी बंगलादेश र श्रीलंकाबाट गम्भर पाठ सिक्नु पर्दछ ।
बंगलादेशको प्रयोग असफलताको बाटोमा अग्रसर छ भने श्रीलंकाको बाटो अर्थात् राजनीतिक समाधानले देश सम्हालिएको छ । नेपालको बाटो पनि श्रीलंकाबाट नेपालले धेरै गम्भीर शिक्षा लिन सक्छ ।








प्रतिक्रिया दिनुहोस्