नेपालको इतिहास आन्दोलन र बलिदानीको लामो शृंखलाले भरिएको छ। हरेक चरणमा कुनै न कुनै रूपले युवाहरू अग्रपंक्तिमा उभिएका छन्, परिवर्तनको घोषणामा उनीहरूको आवाज मिसिएको छ, अनि सडकमा उनीहरूको पसिना मात्र होइन, रगतसमेत बगेको छ। तर दुर्भाग्य, हरेक पुस्ताको बलिदानलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थमा प्रयोग मात्र गरेका छन्। पञ्चायतकालदेखि बहुदलीय आन्दोलन, जनयुद्धदेखि मधेश आन्दोलन र पछिल्ला नयाँ पुस्ताका विद्रोहसम्म, रगत बगाउने सधैं युवा हुन् र त्यसको लाभ उठाउने सधैं सत्ताको वरिपरि घुम्ने नेतृत्व हो। हिजोको आन्दोलनमा दर्जनभन्दा बढी युवाको ज्यान गयो, सडक राताम्य भयो, परिवारहरू अनाथ भए, समाज आक्रोशित भयो, तर सिंहदरबारभित्रका नेताहरूको कुर्सी भने अडिग रह्यो। यस्तो पृष्ठभूमिमा प्रश्न गर्नु पर्ने हुन्छ—के साँच्चै यस्तो नेतृत्वलाई कुर्सीमा बसिरहन सुहाउँछ ?
लोकतन्त्र भनेको नागरिकको आवाजलाई सम्मान गर्ने प्रणाली हो। नागरिकलाई आफ्नो असन्तुष्टि पोख्ने अधिकार हुन्छ, र राज्यको दायित्व हुन्छ त्यो असन्तुष्टिलाई सम्बोधन गर्ने। तर नेपालमा जब जब जनता सडकमा उत्रिन्छन्, तब तब राज्यले उनीहरूलाई शत्रु ठान्छ। आवाजलाई सम्बोधन गर्नुको साटो लाठी, अश्रुग्यास र गोलीको भाषामा जवाफ दिन्छ। यसले लोकतन्त्रलाई खोक्रो बनाउँछ। नागरिक र राज्यबीचको विश्वास भत्काउँछ। हिजोको घटनामा ढलेका युवाहरूले आफ्ना माग राख्न सडक रोजेका थिए, तर उनीहरूको जवाफ दमनले दिइयो। उनीहरूको रगतले सडक धोइयो, तर नेतृत्व भने कुर्सीमै टाँसिएर आफ्नो सत्ता सुरक्षित राख्न व्यस्त रह्यो।
नेपालमा युवाहरू सधैं परिवर्तनको वाहक बने। २०४६ सालको आन्दोलनमा विद्यार्थी र युवाको अग्रसरताले बहुदल ल्यायो। २०६२÷६३ मा सडक तताउने फेरि युवा नै थिए, जसको बलिदानको परिणाममा राजतन्त्रको अन्त्य भयो। मधेश आन्दोलनमा पनि अधिकांश शहीदहरू कलिला युवाहरू नै थिए। र अहिले पनि, आक्रोशित पुस्ता नै सडकमा उत्रिएको छ। यसले देखाउँछ कि परिवर्तनको मूल्य सधैं युवा पुस्ताले चुकाउँछ, तर त्यसको सिँढी चढेर सिंहदरबार पुग्नेहरू भने उही पुराना नेताहरू हुन्छन्। उनीहरू कुर्सीमा पुग्छन्, सुविधा उपभोग गर्छन्, तर युवाको बलिदान बिर्सन्छन्।
नेतृत्वको कुर्सीमा बस्ने औचित्य तब हुन्छ, जब त्यो कुर्सी जनताको सुरक्षाको प्रतीक हुन्छ, जब त्यस कुर्सीमा बस्नेहरूले नागरिकको आँसु पुछ्छन्, जब उनीहरूले युवाको रगत बचाउन सक्दछन्। तर नेपालमा उल्टो भएको छ। यहाँ कुर्सी भनेको शक्तिको प्रतीक मात्र बनेको छ। कुर्सीमा बस्नेहरूले नागरिकको सुरक्षा होइन, आफ्नो सत्ता सुरक्षित गर्न प्राथमिकता दिन्छन्। त्यसैले प्रश्न स्वाभाविक हुन्छ—जब दर्जनौँ युवाको रगत बग्छ, जब निर्दोषहरूको चिहान सडकमा बन्छ, त्यतिबेला सिंहदरबारको आरामदायी कुर्सीमा बस्ने औचित्य रहन्छ त ?
राजनीतिक नेतृत्वको चरित्र नै यही हो—जनताको बलिदानबाट सत्ता प्राप्त गर्ने, तर त्यो बलिदानलाई छिट्टै बिर्सने। यही कारण आजसम्म नागरिक र नेताबीचको दूरी बढ्दो छ। हिजोका आक्रोशित युवाहरू आज फेरि निराश छन्। उनीहरूले देखेका सपनाहरू अधुरै छन्। रोजगारी छैन, अवसर छैन, न्याय छैन। जब राज्यले उनीहरूको भविष्य सुरक्षित गर्न सक्दैन, तब उनीहरू सडक रोज्छन्। सडकमा उत्रेर माग राख्दा उनीहरूलाई सुन्ने कोही हुँदैन। बरु प्रहरीको लाठी र गोलीले उनीहरूको आवाज थिचिन्छ। यसरी युवाको सपना मात्र होइन, जीवनसमेत चकनाचुर हुन्छ।
इतिहासले प्रमाणित गरेको छ कि जनताको रगतले भिजेको कुर्सी कहिल्यै स्थायी हुँदैन। पञ्चायतको अन्त्य, राजतन्त्रको पतन, अधिनायकवादी प्रवृत्तिको विफलता—यी सबै घटनाहरूले यही सत्य देखाउँछन्। जसको शासनमा जनता मर्छन्, जसको नेतृत्वमा सडकमा रगत बग्छ, त्यस नेतृत्वलाई लामो समय टिक्न सक्दैन। आज पनि यही हो। नेताहरू कुर्सीमा बसिरहेका छन्, तर ती कुर्सीको आधार कमजोर भइसकेको छ। जनताको आक्रोश चुप लागेर बस्दैन। युवाको रगत व्यर्थ जाँदैन। अब आवश्यक छ—नेतृत्वले आत्ममन्थन गरोस्। नागरिकको रगत बगिरहेको अवस्थामा आफ्नो कुर्सी सुरक्षित गर्न रमाउने प्रवृत्ति अन्त्य गरोस्। सत्ता भनेको सुविधा होइन, जिम्मेवारी हो भन्ने सम्झनु आवश्यक छ। नागरिकको सुरक्षा गर्न नसक्ने, युवाको भविष्य सुरक्षित गर्न नसक्ने नेतृत्वलाई सिंहदरबारमा बस्ने नैतिक अधिकार छैन। यदि नेतृत्व अझै पनि कुर्सीमा बसिरहन्छ भने त्यो कुर्सी जनताको श्रापले भरिन्छ। र इतिहासको कठघरामा त्यो नेतृत्व दोषी ठहरिनेछ।
दर्जनभन्दा बढी युवाको रगत सडकमा बगेको आजको पृष्ठभूमि केवल एउटा दुःखद घटना मात्र होइन, यो नेपाली समाज र राजनीतिका लागि गहिरो चेतावनी हो। जब नेतृत्व नागरिकको पीडाप्रति संवेदनशील हुँदैन, जब सत्ताको कुर्सी नागरिकको बलिदानको थुप्रोमा टेकेर बसाइन्छ, तब त्यो कुर्सी स्वतः अस्थायी हुन्छ। त्यसैले आजै प्रश्न उठाउन जरुरी छ—के नेताहरूलाई अझै पनि कुर्सीमा बस्ने औचित्य छरु उत्तर स्पष्ट छ—जहाँ युवाको रगत बग्छ, त्यहाँ नेतृत्वले कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसकेको हुन्छ।








प्रतिक्रिया दिनुहोस्