मैले सुनेको सबैभन्दा कामुक कुरा मध्ये यो एक थियो। मलाई चिनेका एक पुरुषले बताए अनुसार उनले एक गर्मीमा जेन अस्टिनका सबै उपन्यासहरू पढिरहेका छन्।
सुरुमा, मैले सोचेँ कि उनी महिलाहरूलाई मन पर्ने कुराहरू मन परेजस्तो नाटक गरिरहेका छन्, एक प्रकारको नारीवादी रणनीति। तर होइन, यो मान्छे साँच्चै ‘नर्थएङ्गर एबे’ पढ्न चाहन्थ्यो।
पुरुषहरू कम पढिरहेका छन्। कथासाहित्य बिक्रीको ८० प्रतिशत हिस्सा महिलाहरूले ओगट्छन्। ‘युवा पुरुषहरू प्राज्ञिक, भावनात्मक र सांस्कृतिक रूपमा पछाडि परेका छन्’ डेभिड जे. मरिसले न्यूयोर्क टाइम्सको एक निबन्धमा लेखेका छन्, त्यसको शीर्षक छ ‘साहित्यिक पुरुषहरूको लोप हुनु सबैका लागि चिन्ताको विषय हो।’
कथासाहित्यको यो खाडलले मलाई दुखी बनाउँछ। फोनमा हेरिरहने पुरुष सेक्सी हुँदैन। तर पुस्तक बोकेको पुरुष यति दुर्लभ भइसकेको छ, यति काल्पनिक वस्तु बनिसकेको छ कि ‘हट ड्यूड्स रिडिङ’ नामक एक लोकप्रिय इन्स्टाग्राम खाता नै त्यसको प्रमाणका रुपमा छ।
मेरो पुरुषहरूसँग भएका केही सबैभन्दा आकर्षक भेटघाटहरू पुस्तकहरूका बारेमा थिए।
माइक निकोल्सले एकपटक लस एन्जलसको एक डिनरमा मलाई हेरेर भनेका थिएः उनको मनपर्ने उपन्यास इडिथ व्हार्टनको ‘द हाउस अफ मिर्थ’ हो। म छक्क परेँ किनभने मैले त्यो पुस्तक बारम्बार पढेकी छु, यो राजनीतिमा सामान्य घटनाको उत्कृष्ट चित्रण हो। कसैले गलत कदम चाल्छ र त्यसबाट फर्कन सक्दैन, लज्जाको सर्पिलमा फस्छ। (यो डोनाल्ड ट्रम्पमा लागू हुँदैन।)
केही वर्षअघि म ढोकामा टम स्टपर्डलाई अन्तर्वार्ता लिन गएँ। यो नाटककारसँग कम्प्युटर छैन, र उनी सामाजिक सञ्जालमा छैनन्। उनी कारान डी’आचे फाउन्टेन पेनले लेख्छन्, जसको छ–कोणीय ब्यारेल हुन्छ।
स्टपर्डसँग जेन अस्टिन र चार्ल्स डिकेन्सका पहिलो संस्करणहरूले भरिएको रोमान्टिक देखिने बुककेस थियो। उनले गुनासो गरे अनुसार उनको पुस्तक सङ्ग्रहलाई ‘अमेरिकी चोरहरू’ ले नियमित रूपमा लुट्छन्।
यो मोहक थियो। मैले राल्फ फाइन्ससँग अन्तर्वार्ता लिँदा पनि त्यस्तै महसुस गरेँ, जब उनले शेक्सपियर र ताराहरूमुनि राति ३ बजे बेकेट पढ्न गर्न मन पराउने कुरा बताए।
उनले सम्झे अनुसार उनकी आमा, उपन्यासकार जेनिफर लाशले उनलाई शेक्सपियरका ‘हेन्री पाँचौं’ र ‘ह्यामलेट’ जस्ता रातको कथा सुनाउँथिन्।
‘मेरी आमाले भन्नुभयो, ‘म तिमीलाई एउटा कथा सुनाउँछु। यो एक युवकको कथा हो, जसका बुबा मरे, र ऊ एक युवा राजकुमार हो।’ र उनले आफ्नै शब्दमा कथा सुनाए ।’
राष्ट्रपति ट्रम्पले पुरुषत्वको क्रूर, आडम्बरी छवि प्रस्तुत गर्छन्। म सधैं डिकेन्सको ‘आवर म्युचुअल फ्रेन्ड’ पुनः पढेर र युजिन रेरेन, एक आलसी, उच्च वर्गको ब्यारिस्टरसँग फेरि प्रेममा परेर भाग्न सक्छु, जसमा पुरुषमा हुनुपर्ने हरेक गुण हुन्छ।
मैले मेरो साथी रिचर्ड ब्याबककसँग, जो एक पूर्व पत्रिका सम्पादक र उपन्यासकार हुन् र नर्थवेस्टर्नमा लेख पढाउँथे, पुरुषहरूको पढाइप्रतिको अनिच्छाबारे सोधेँ। उनको नयाँ उपन्यास ‘ए स्मल डिस्टर्बन्स अन द फार होराइजन’, जुन १९५४ मा नेभाडा मरुभूमिमा परमाणु बम परीक्षणको छायामा आधारित छ। यो तीन जना व्यक्तिहरूको जीवनको कथा हो, जसको जीवन एकअर्कासँग जोडिएको छ। ‘यो पुस्तक अपराध, व्यभिचार, हत्या, पहाडहरूमा पछ्याइ—तपाईंलाई थाहा छ, सामान्य दैनिक कुराहरूबारे को हो’ ब्याबककले हाँस्दै भनेका थिए ।
‘रोनाल्ड रेगनलाई वर्तमान सांस्कृतिक परिदृश्यको दोष नलगाउन’ उनले भने, ‘तर मलाई लाग्छ १९८० को दशकमा आएको धन र सम्पत्तिको लालसाले पुरुषहरूमा उपन्यासबाट केही सिक्न सकिन्छ भन्ने गलत धारणा ल्यायो। यदि तपाईं आफ्नो प्रतिद्वन्द्वीलाई कसरी हराउने भन्ने सुझाव भेट्न चाहनुहुन्छ भने, गैर–कथासाहित्य(नन फिक्सन) पढ्नु राम्रो।
‘त्यसैगरी, शिक्षा गणित र विज्ञानमा केन्द्रित हुनु, जसले राम्रो तलब दिने जागिरहरूको प्रवेशद्वार बन्न सक्छ, मानविकीको मूल्यलाई कम आँकिएको छ। र हामीले उपन्यासहरूले, परिदृश्यहरू, व्यक्तित्वहरू, विचारहरू, घटनाहरूलाई समेटेर कसरी दृष्टिकोण खोल्न र दिमागलाई अनुशासित गर्न सक्छ भन्ने कुरा पर्याप्त सुन्दैनौं।’
सुसान सन्टागले एकपटक के भनेकी थिइन् भने उपन्यासहरूले तपाईंको सहानुभूतिलाई विस्तार गर्न सक्छन्, तपाईंलाई ूसङ्कुचित र साँघुरो हुनबाटू जोगाउँछन्। यो आजको समयमा झनै आवश्यक छ जब सबैजना डरलाग्दा साना व्यक्तिगत उपकरणहरूमा(सोसल साइट) झुकेर बसेका छन्।
उनले कथासाहित्यलाई एक कुल्हाडीको रूपमा वर्णन गर्दै भनिन् ‘तपाईंलाई टुक्र्याउँछ ।’ तपाईंलाई तपाईंको कठोर बानी र प्राथमिकताहरूबाट हल्लाउँछ र ‘तपाईंले अन्यथा ध्यान नदिने कुराहरूको ख्याल गर्ने मोडेल दिन्छ।’
जस्तो कि ब्याबककले औंल्याए, सबैको कथासाहित्यको पतनले रोमान्स र ऐतिहासिक कथासाहित्य, परम्परागत रूपमा महिलाहरूले मन पराउने विधाहरूलाई, प्रमुख विधा बनाएको छ। तैपनि, उनले भने, उनी ‘पुरुषहरूले उपन्यास पढ्दैनन् भन्ने गुनासोमा अलिकति शङ्का गर्छन्,’ र उनले संकेत गरे अनुसार ‘मेरा साथीहरू उत्साहपूर्वक उपन्यासहरू पढ्छन्, कतिसम्म भने ‘अन्ना करेनिना’ र ‘मिडलमार्च’ जस्ता क्लासिकहरूमा फर्कन्छन्। केही उत्कृष्ट पुरुष लेखकहरूले ड्यानियल मेसनको ‘नर्थ वुड्स’ र बेन शटकको ‘द हिस्ट्री अफ साउन्ड’ जस्ता विचारशील, नाटकीय पुस्तकहरू लेखिरहेका छन्।’
केही वर्षअघि, मैले कोलम्बियाबाट अङ्ग्रेजी साहित्यमा मास्टर्स गर्दा लेखेकी थिएँः जब प्रविधिले हाम्रो मानवताबाट हामीलाई वञ्चित गरिरहेको छ, त्यसकारण हामीलाई मानविकी झनै आवश्यक भएको छ ।
‘फ्रान्केन्स्टाइन’ र ‘प्याराडाइज लस्ट’जस्ता कृतिहरूले शक्तिशाली, पुरुष प्रविधि जीनियसहरूको आत्ममुग्धतामा प्रकाश पार्छन्, जसले विश्वलाई हल्लाउने नयाँ प्रजाति, एआई, जन्माइरहेका छन्।
त्यसपछि, न्यूयोर्कका पल बर्गम्यानले मलाई उनको पुस्तक क्लबमा निम्तो पठाए—सबै पुरुषहरू, वकिलहरू र एक न्यायाधीश, जो ब्रुकलिन अमेरिकी वकिल कार्यालयमा एकअर्कालाई चिन्थे।
‘पछिल्लो ४५ वर्षदेखि’ बर्गम्यानले मलाई लेखेका थिए, ‘हामीले पढेका पुस्तकहरूमा हाम्रा विचारहरू साझा गरिरहेका छौं।’ के म ‘मिडलमार्च’मा केही सत्रहरूमा सामेल हुन सक्छु ?
प्रिय पाठक, म गएँ।
(मौरीन डाउड न्यूयोर्क टाइम्सकी विचार स्तम्भकार हुन्। उनले १९९९ मा विशिष्ट टिप्पणीकालागि पुलित्जर पुरस्कार पाएकी छन् । उनी हालै प्रकाशित ‘नोटोरियस’ पुस्तककी लेखिका हुन्।)
न्यूयोर्क टाइम्सबाट








प्रतिक्रिया दिनुहोस्