काठमाडौं १२ साउन,। सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् ।
बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार, सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उनले भने ।
उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उनले बताए ।
उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।
उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।
उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरेर उनीहरुलाई फर्काउने तयारी भइरहेको एसपी ओलियाले बताए। ५२ वर्षकी उर्मिला हायुका परिवार नै घर छाडेर गएको शुक्रबारदेखि हिँडेको खुलेको छ।
उर्मिलासँगै उनकी छोरी २७ वर्षकी कमला हायु, ज्वाइँ, बुहारी २३ वर्षकी कोमल माया हायु, छोरी २२ वर्षकी उषा हायु, १८ वर्षकी छोरी अस्मिता हायु, १२ वर्षकी छोरी शान्ता हायु, १० वर्षकी ओमकुमारी हायु, छोराहरु २९ वर्षका राजु हायु, २४ वर्षका हिमाल हायु, १६ वर्षका लालबहादुर हायु, १४ वर्षका बेगबहादुर हायु, १२ वर्षका सुवर्ण हायु, ११ वर्षका लक्की हायु, ४ वर्षकी नातिनी रियासा हायु र १ वर्षका नाती अर्जुन हायु रहेका छन्।







प्रतिक्रिया दिनुहोस्