काठमाडौ १० साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले दुई खेल अगावै जितेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला ३–० ले जितेको हो ।
वेस्ट इन्डिजले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो । टिम डेबिडले अस्ट्रेलियाका लागि सबैभन्दा कम बलमा शतक बनाउँदै कीर्तिमान बनाए । उनले ३७ बलमा छ चौका र ११ छक्काको सहयोगमा एक सय दुई रन बनाए । डेबिडले स्कटल्याण्डविरुद्ध जोस इङ्ग्लिसले ४३ बलमा शतक पूरा गरेको रेकर्ड तोडेका हुन् । वेस्ट इन्डिजका रोमारियो शेफर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए ।
त्यसअघि वन्डर पार्क क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको वेस्ट इण्डिजले चार विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाइ होपले एक सय दुई रनको शतकीय पारी खेले ।
अस्ट्रेलियाका नाथन एलिस, एडम जाम्पा र मिचेल ओविनले समान एक विकेट लिए । शृङ्खलाअन्तर्गत चौथो खेल भोलि हुनेछ । पाँचौ तथा अन्तिम खेल मङ्गलवार हुनेछ । यस अघि यी दुई देशबीच भएको तीन खेलको टेस्ट शृङ्खलामा पनि अस्ट्रेलियाले क्लीन स्वीप गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्