काठमाडौ १० साउन । दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत खोटाङको फोक्सिङटार सुनकोशी नदीको मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ ।
मोटरेबल पुल गएको वर्ष असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।
फोक्सिङटारमा गएको पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो ।
निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो ।
विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिनुभयो ।
फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सीधा यातायात बन्द भएको छ ।
सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रका लागि आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको रेग्मीले बताउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्