काठमाडौ ५ साउन । नेकपा एमाले केन्द्रीय कमिटीको नवौं बैठक सुरु भएको छ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह बैठक सुरू भएको हो।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव, सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

केन्द्रीय सचिवालय र पोलिट्ब्युरो बैठकमा ती दस्तावेजमाथि भएको प्रारम्भिक छलफलपछि केन्द्रीय समिति बैठकमा पनि रायका लागि पेस गर्न लागिएको हो।
एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र मुख्य रूपमा विवाद छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि बाधा पार्ने विधानका व्यवस्था हटाउने कि नहटाउने भन्नेमा पनि एमालेभित्र मत विभाजित छ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधनको मसौदामा ती प्रावधान हटाएर ओलीका लागि मार्गप्रशस्त गर्न प्रस्ताव गरिएको छ।







प्रतिक्रिया दिनुहोस्