काठमाडौ ४ साउन । गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले नागरिकलाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन् । विशेषगरी इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव छ ।
खानेपानी अभावका लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठहर्याइएको छ ।
यसैबीच तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले पानीको मागको दबाव कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
इरानको राष्ट्रिय मौसम सेवाले हिजो अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता कायम भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै पुगेको जनाएको थियो ।
तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तीमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ । इरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू अहिले ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ खबरमा उल्लेख छ ।
अधिकारीहरूले सङ्कटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन् । यसको परिणाम स्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्