काठमाडौ २२ असार । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन्। हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन्। नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्। यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ, उनले भने।
उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए। हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं। यही नै पार्टीको राइट टु द सेन्टर हो। कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन्। तर हामी आस्थावान् छौं। यही हाम्रो पार्टीको आधार हो, र यसको संरक्षण गर्नुपर्छ, महतको भनाइ थियो।
उनले संविधान निर्माणका बेला सनातन धर्म संस्कृतिको संरक्षणको विषय उल्लेख गरिएको स्मरण गर्दै भने, त्यो ऐतिहासिक निर्णय थियो, तर अहिले त्यो पहिचान कमजोर पार्ने प्रयास भइरहेको छ। पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ।
महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे।
महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ। यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन्।








प्रतिक्रिया दिनुहोस्