काठमाडौ ९ असार । ओभरपास सञ्चालनमा आएपछि ललितपुरको ग्वार्कोमा गाडीको जाम आधाले घटेको छ । पहिलेको तुलनामा जाम आधाले घटेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी दीपक गिरीले भने ओभरपास सञ्चालनमा आएपछि चक्रपथको सातदोबाटो–कोटेश्वर खण्ड हुँदै चल्ने गाडीलाई सहज भएको बताउनुभयो । अब जामको समस्या धेरै कम भएको उहाँको भनाइ छ ।
ग्वार्कोमा बनेको ओभरपास तीन दिनअघि गएको शुक्रवारदेखि सञ्चालनमा आएको हो । आठ लेनको सडकमध्ये बीचको चार लेनमा ओभरपास बनाइएको छ ।
ग्वार्कोमा रोक्न तथा मोडिन नपर्ने गाडी मात्रै ओभरपासबाट गुड्ने गरेका छन् । ग्वार्कोमा यात्रु झार्ने र चढाउने लोकल गाडीहरु भने ओभरपासबाट नभएर पुरानै दायाँ–बायाँको सडकबाट चलिरहेका छन् । काठमाण्डौको कलङ्कीमा भने चक्रपथ ओहोरदोहोर गर्ने सबै गाडी अन्डरपासबाटै गुड्नुपर्छ ।
कलङ्कीमा ओर्लने तथा त्यहाँबाट चढ्ने यात्रु खसीबजार या मकालु पेट्रोलपम्पसम्म पुग्नुपर्छ । तर ग्वार्को ओभरपासमा भने यस्तो व्यवस्था नभएको र लोकल बस ओभरपाससँगै दायाँ बायाँको लेनबाट समेत चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । ओभरपासबाट चल्ने गाडी ग्वार्को चोकमा रोक्न मिल्दैन । त्यसैले लोकल गाडी ओभरपासबाट नभइ दायाँ बायाँको लेनबाट गुड्ने गरेका हुन् ।
ओभरपास मुनिबाट गुड्ने गाडीले पहिलेझैं ट्राफिक सङ्केतको पालना गर्दै यात्रा गर्नुपर्ने हुन्छ । यद्यपि, पहिलेको जस्तो लामो समय जाममा बस्नुपर्ने अवस्था भने अहिले छैन ।








प्रतिक्रिया दिनुहोस्