काठमाडौ ७ असार । पहिरोले अवरुद्ध गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
चन्द्रकोट गाउँपालिका–७ सिस्ने भीरमा सडकमाथिबाट खसेको ढुङ्गासहितको पहिरो केही भाग पन्छाएपछि गएरातिदेखि सडक आंशिकरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ । हिजो दिउँसोपछि सडक पूर्णरुपमा अवरुद्ध थियो ।
यस्तै गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध छ । कालीगण्डकी गाउँपालिका–१ गरगरेमा पहिरो खसेपछि दुई दिनदेखि यो सडक बन्द भएको हो । सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच पहिरोले गुल्मीको चन्द्रकोट गाउँपालिकामा चार घरपरिवार विस्थापित भएका छन् । चन्द्रकोट गाउँपालिका–१ सराङ्मा हिजो बेलुका घर माथिबाट पहिरो खसेपछि चार वटा घर उच्च जोखिममा परेका हुन् ।
घर जोखिममा परेपछि विस्थापित परिवार स्थानीय र आफन्तकोमा आश्रय लिएर बसेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्