काठमाडौं, ४ असार । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबिच बालुवाटारमा झन्डै चार घण्टा छलफल भएको छ । बुधबार अपराह्न चार बजेदेखि झन्डै ८ बजेसम्म शीर्ष नेताहरूबिच मुलतस् सरकार सञ्चालन, संसद्को अवरोध र विधेयकहरूका बारेमा छलफल भएको हो ।
बालुवाटार बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्का सहभागी थिए ।
‘दुई दलको नियमित छलफल हो । छलफलका क्रममा सरकारका कामकारबाही र डेलिभरी कसरी प्रभावकारी बनाउने,संसद्को अवरोध खुलाएर विधेयकहरू कसरी चाँडो अघि बढाउने र बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ’, छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।
उनका अनुसार संसद्को फुल हाउस र समितिमा भएका विधेयकहरूलाई अघि बढाउनुपर्ने पक्षमा दुई दलका नेताहरू सहमत भएका छन् ।
यही असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने सरकारले शिक्षकहरूसँग सहमति गरेको थियो तर उक्त विधेयक समितिमा छलफल नै भएको छैन । अर्कोतिर निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्थाले अघि बढ्न सकेको छैन । नेता खड्काले शीर्षकपिच्छे कुरा नभएपनि ती विधेयकहरू समेत अघि बढाउनेबारे छलफल भएको बताए ।







प्रतिक्रिया दिनुहोस्