काठमाडौ ४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज डाकेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द गरिएको छ ।
सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबरै नगरी बैठक राख्ने बालेनको तयारीमा ब्रेक लागेको हो । उपमेयर, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले कार्यपालिकालगायतका बैठक राख्न मेयरलाई निरन्तर दबाब दिँदै आएका छन् ।
प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर उनले आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए । तर, सदस्य सचिवबिनाको बैठकबारे सदस्यहरूले वैधानिकताको कुरा उठाएपछि मेयर पछि हटेका हुन् ।
समितिको सदस्यसमेत रहेकी कार्यपालिका सदस्य अनिता कार्की ढोली ले आजलाई बैठक डाकिएपनि मेयरको सचिवालयबाट नबस्ने सूचना आएको बताइन् ।
उनले नेपाल प्रेससँग भनिन्, ‘हिजो मेयरज्यूकै सचिवालयबाट बैठक भनेर खबर आएको थियो । आज फेरि नबस्ने भयो भनेर खबर गर्नुभयो । अब कहिले बस्छ थाहा छैन ।’
प्रशासकीय अधिकृत गुरागाईँले पनि बैठक डाकिएकोबारे आफूलाई केही थाहा नभएको बताए ।
असार १० सम्ममा स्थानीय तहले बजेट पेश गरी मसान्तासम्म पारित गरिसक्नुपर्ने कानूनी बाध्यता छ । तर, मेयर संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि महानगरमा अन्योल भएको छ ।
उक्त समितिको सदस्यमा उपमेयर सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की ढोली छन् ।
महानगरको कार्यपालिका र नगर सभा पनि अनिश्चित छ ।








प्रतिक्रिया दिनुहोस्