काठमाडौं, १८ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् ।
चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन् ।चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ गएकी थिइन् ।
अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रुपमा सहभागी भएको हो ।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठन सहभागी भएका थिए । उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।
यसै कार्यक्रमको सिलसिलामा मन्त्री डा। राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा। राणाले दिइन् ।
भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको उनले बताइन् ।
मन्त्री डा। राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना र हङकङस्थित नेपालका महावाणिज्यदूत डा। विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधिहरू सहभागी थिए ।







प्रतिक्रिया दिनुहोस्