ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई एकसाथ तीन ठूला झट्का: मस्कले छोड्नुको ६ कारण यस्तो


एबीसी न्यूज

काठमाडौं, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र विरोधको सामना गरिरहेका छन् । आलोचनाले घेरिएका उनलाई शुक्रबार एकैसाथ तीन ठूला झटका लागेका छन् ।

ट्रम्पका सबैभन्दानिकट सहयोगी एलन मस्क सरकारबाट अलग भएका छन् । त्यसपछि ट्रम्पको ‘रेकिप्रोकल ट्यारिफ’ अमेरिकी अदालतले गैरकानुनी भन्दै रोक लगाएको छ । अर्कोतिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ट्रम्पको पक्षमा उभिन अस्वीकार गरेका छन् ।

टेस्लाका मालिक एवम् अमेरिकी अर्बपति इलन मस्क ट्रम्पको चुनावी अभियानसँग जोडिएका पात्र हुन् । अघिल्लो चुनावमा ट्रम्प हार्दा उनी विपक्षमा थिए। तर यसपटक उनले ट्रम्पको चुनावी अभियानमा २ हजार करोड रुपैयाँभन्दा बढी सहयोग दिए ।

जसका कारण उनी ट्रम्पका विश्वासिला सहयोगीमा गनिन थाले। ट्रम्पले राष्ट्रपति पदको शपथ लिएपछि मस्कलाई मन्त्रीसरह ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ (डीओजीई) प्रमुखको जिम्मा दिए।

यो विभागको काम सरकारी फजुल खर्च कटौती गर्नु थियो। तर मस्कले यो पदबाट राजीनामा दिने घोषणा गरे। उनले लेखे, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभारी छु, जसले मलाई अनावश्यक खर्च कटौती गर्ने अवसर दिनुभयो।’

अमेरिकी संसदमा ट्रम्पको ‘बिग एन्ड ब्यूटीफूल बिल’ पारित भयो, जसको मस्कले विरोध गरे। मस्कको भनाइ थियो, ‘डीओजीईको उद्देश्य खर्च कटौती गर्नु हो, तर उक्त विधेयक त्यसको विरोधमा छ।’

यसमा इनकम ट्याक्स घटाउने, ओभरटाइम, टिप्स र सामाजिक सुरक्षाबाट प्राप्त आम्दानीमा पनि कर छुट दिने प्रस्ताव थिए। मस्कले २०२६ को मध्यावधि चुनावअघि ट्रम्पको टिमलाई १०० मिलियन डलर दिने वाचा गरेका थिए, तर रकम नदिएपछि ट्रम्पका सहयोगीहरू रिसाए।

डोनाल्ड ट्रम्पले चुनावअघि नै १०० भन्दा बढी देशमाथि रेसिप्रोकल ट्याक्स लगाउने घोषणा गरे। यसका लागि उनले सन् १९७७ को ‘इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर एक्ट’ प्रयोग गरे।

यो निर्णयको अमेरिका लगायत विश्वभर विरोध भयो। सेयर बजार खस्किन थालेपछि उक्त ट्यारिफमा रोक लगाइयो।

अमेरिकाको ‘कोर्ट अफ इन्टरनेशनल ट्रेड’ का तीन न्यायाधीशको बेन्चले ट्रम्पको ट्यारिफ निर्णयमाथि रोक लगाउँदै भन्यो, ‘ट्रम्पको ट्यारिफ कानूनविरुद्ध छ, त्यसैले यसलाई स्वीकार गर्न सकिँदैन ।’ ट्रम्प प्रशासनले यस निर्णयविरुद्ध अपिल गर्ने तयारी गरिरहेको छ।

चुनावअघि ट्रम्पले रूस–युक्रेन युद्ध रोक्ने दाबी गरेका थिए। राष्ट्रपति बनेपछि फेब्रुअरी २०२५ मा उनले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुरा गरे।

त्यसपछि २८ फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की व्हाइट हाउस पुगे। त्यहाँ ट्रम्पले सबैको अगाडि चिच्याउँदै भने ‘तपाईंले युद्ध सुरू गर्नु हुँदैनथ्यो, तपाईं रूससँग सम्झौता गर्न सक्नुहुन्थ्यो।’

तर अहिले रूसले युक्रेनलाई करिब करिब पूर्ण रूपमा ध्वस्त बनाउन लागिसकेको छ । ट्रम्पले पनि यसलाई रोक्न सकेका छैनन्।

किन बिग्रियो मस्कसँग सम्बन्ध ?

दुनियाँकै सबैभन्दा धनी व्यक्ति तथा टेस्ला–स्पेसएक्सका मालिक एलन मस्क फेरि एकपटक चर्चाको केन्द्रमा छन्। यसपटक उनको निर्णयले सम्पूर्ण विश्वलाई चकित बनाएको छ। २९ मे २०२५ मा उनले ट्रम्प प्रशासनबाट आफू अलग हुने घोषणा गरे।

त्यही एलन मस्क जसले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको विजयमा महत्वपूर्ण भूमिका खेले । उनले शपथग्रहणको १३० दिनमै ट्रम्प सरकारबाट विदा लिएपछि धेरैलाई यो कदम चकित तुल्याउने बन्यो। अब प्रश्न उठेको छ — यी १३० दिनमा यस्तो के भयो, जसले मस्कलाई यस्तो निर्णय लिन बाध्य बनायोरु

१. ‘बिग एन्ड ब्यूटीफुल बिल’मा मतभेद

१७ मे २०२५ मा अमेरिकी संसदले ट्रम्पको ‘बिग एन्ड ब्यूटीफुल बिल’ पारित गर्‍यो, जसमा आयकर, ओभरटाइम, टिप्स र सामाजिक सुरक्षामा कर कटौती गर्ने प्रावधान थिए। मस्कले यस विधेयकको खुलेरै विरोध गरे। उनका अनुसार डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो । तर यो बिलले अर्को १० वर्षमा २।३ ट्रिलियन डलर घाटा पुर्‍याउन सक्ने छ। मस्कले यसलाई ‘फजुलखर्च’ भन्दै खारेज गर्नुपर्ने माग गरे। यहीँबाट ट्रम्प र मस्कबीचको सम्बन्धमा दरार सुरु भयो।

२. एक्स एआईले यूएई डाटा सेन्टरको ठेक्का नपाउनु

२२ मे २०२५ मा ओपन एआईले यूएईमा एआई डाटा सेन्टर बनाउने ठेक्का प्राप्त गर्‍यो, जुन मस्कले आफ्नी कम्पनी एक्सएआईका लागि चाहेका थिए। वल स्ट्रीट जर्नलका अनुसार मस्कले यूएईलाई धम्की दिएका थिए — ‘यदि ठेक्का एक्सएआईलाई नदिए ट्रम्प रिसाउनेछन्।’ तर ट्रम्पले ओपनएआईलाई अनुमोदन गरे। यसपछि मस्कले ट्रम्प र उनका सल्लाहकार डेभिड स्याक्सको निष्पक्षतामाथि प्रश्न उठाए। अनि सम्बन्ध झन् बिग्रियो।

३. १०० मिलियन डलर दिने वाचा पुरा नगर्नु

मस्कले २०२६ को मध्यावधि चुनावका लागि ट्रम्पको टिमलाई १०० मिलियन डलर सहयोग गर्ने वाचा गरेका थिए, तर उनले त्यो सहयोग पुरा गरेनन्।

ट्रम्प समर्थकहरू यसबाट असन्तुष्ट भए। यद्यपि मस्कले सन् २०२४ को चुनावमा २५० मिलियन डलर खर्च गरेका थिए, तर पछिल्लो वाचा नपुगेपछि उनीप्रतिको भरोसा घट्न थाल्यो।

४. मार्को रुबियोसँग बहस र ट्रम्पको पक्षपात

८ मार्च २०२५ को एक क्याबिनेट बैठकमा मस्क र विदेशमन्त्री मार्को रुबियोबीच चर्को बहस भयो। मस्कले रुबियोमाथि कर्मचारी कटौती नगरेको आरोप लगाए। जवाफमा रुबियोले १५ सय कर्मचारी स्वेच्छाले सेवानिवृत्त भइसकेको बताए। बहस बढेपछि ट्रम्पले रुबियोको पक्ष लिँदै उनको प्रशंसा गरे, जसले मस्कलाई अपमानित महसुस गरायो।

५, टेस्ला र मस्कका कारोबारमा दबाव

मस्कका कम्पनीहरू विशेषगरी टेस्लाले व्यापक विरोधको सामना गर्न थाल्यो । टेस्लाका कारहरू तोडफोड गरिए, शोरूममा पनि आगजनी भयो। लगानीकर्ताहरूले मस्कलाई आफ्नो ध्यान टेस्ला, स्पेसएक्स लगायत व्यावसायिक कामतर्फ केन्द्रित गर्न दबाव दिन थाले।

६. ट्रम्प प्रशासनसँग बढ्दो तनाव

ट्रम्पका केही विश्वासिला सल्लाहकार, जस्तै स्टीभ ब्यानन, मस्कलाई एक ‘बाहिरी’ धनी वर्गको प्रतिनिधि मान्थे, जो मागा (मेक अमेरिका ग्रेट अगेन) विचारधारासँग मेल खाँदैन। मस्कले ट्रम्पका धेरै निर्णयहरूमा हस्तक्षेप गर्नुका साथै डीओजीईमा धेरै समय बिताउनु उनीहरूलाई मन परेको थिएन।

७. के मस्क पूर्ण रूपमा अलग भए ?

यद्यपि मस्कले डीओजीईबाट औपचारिक रूपमा राजीनामा दिएका छन्, केही विश्लेषकहरूको अनुमानमा उनी अझै अनौपचारिक रूपमा ट्रम्पका सल्लाहकारको रूपमा संलग्न रहन सक्छन्।

ट्रम्पले मस्कको प्रशंसा गर्दै भनेका छन् — ‘म उनलाई जतिसक्दो आफ्नो साथमा राख्न चाहन्छु।’ तर मस्कले भने २०२६ को चुनावका लागि आफ्नो राजनीतिक खर्च कटौती गर्ने घोषणा गरेका छन्। अब उनी आफ्ना मुख्य कम्पनीहरू — टेस्ला, स्पेसएक्स, न्यूरालिंक — मा ध्यान केन्द्रित गर्ने देखिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com