काठमाडौं १५ बैशाख । शिक्षक महासङ्घले आन्दोलनरत शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको विरोध गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर गरिरहने बताउनुभएको छ ।
महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि निरन्तर भइरहेको आन्दोलनमा हिजो झडप भएको थियो । झडपमा ६० जनाभन्दा धेरै शिक्षक तथा कर्मचारी घाइते भएका महासङ्घले जनाएको छ । प्रहरीले भने २६ जना घाइते भएको उल्लेख गरेको छ । आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सबिना कार्की पनि घाइते हुनुभएको छ । उहाँको आँखामा गम्भिर चोट लागेकाले उपचार भइरहेको छ ।
यसैबीच शिक्षक महासङ्घले आन्दोलनलाई माग पूरा नभएसम्म नरोक्ने भन्दै आज पनि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन शिक्षकहरुलाई आह्वान गरेको छ । शिक्षकका जायज माग सरकारले पूरा गर्न र बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न विज्ञहरुले सुझाव दिंदै आएका छन् ।







प्रतिक्रिया दिनुहोस्