नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चुनौती दिनुभएको छ । आफ्नाे निजी निवासमा आज पत्रकार सम्मेलन गर्दै नेता केसीले रास्वपा सांसदहरूलाई चुनाैती दिनुभएकाे हाे ।
गएकाे फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाण्डाैकाे तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजुको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनी आरोप लगाएका थिए । त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केसीले आधार र प्रमाणविना रास्वपा सांसदहरूले बदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको दाबी गर्नुभयो ।
संसद्मा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न कांग्रेस नेता केसीले चुनौती दिनुभयो । रास्वपा सांसदहरू खनाल र श्रेष्ठले आफ्नो चरित्र, शाख, प्रतिष्ठामाथि गरेकाे प्रहारलाई कानूनी उपचारको बाटो लिने उहाँले चेतावनी दिनुभयो ।
केसीले आफूले कानून विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्