काठमाडौं ४ फागुन । जनमत पार्टीका नेताहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका छन् । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले हतियार प्रदर्शन गरेका हुन् ।
अब्दुल खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए ।
यस्तै उनीहरू ९उपाध्यक्ष र जिल्ला इञ्चार्ज० डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर साथै हिँडाएका थिए । जिल्ला इञ्चार्जसमेत रहेका जमसेदले भेटघाट र डुलाएको फोटो र भिडियो फेसबुकमा राखेका थिए । खुलेआम हतियार प्रदर्शन गरेको भनेर आलोचना भएपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएका थिए ।
प्रहरी भन्छ लाइसेन्स प्राप्त हतियार हुन्
जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इञ्चार्ज शेष जमसेदसँग सोधपुछ समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले लाइसेन्स प्राप्त हतियार भएकाले सोधपुछपछि छाडेको जानकारी दिए ।
उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको बन्दुकहरुको इजाजत पत्र भएको देखियो । इजाजत प्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने व्यवस्था रहेकाले हामीले जमसेदलाई सोधपुछ पछि छाडेका छौं ।’
जमसेद भन्छन् स् सामाजिक सञ्जालमा राख्नु भूल भयो
जनमत पार्टीका रौतहट इञ्चार्ज शेख जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने बेलामा उक्त तस्वीर खिचिएको दाबी गरेका छन् ।
तर सामाजिक सञ्जालमा राख्नु आफ्नो भूल भएको उनले बताएका छन् ।
‘दुवै बन्दुक इजाजत प्राप्त हुन् तर सामाजिक सञ्जालमा राख्नु भूल भयो, मैले सो पोष्ट हटाइसकेको छु,’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्