काठमाडौं २ फागुन । विकास आर्थिक मामिला तथा सुशासन समितिकोे दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ लाई समितिमा पास गरी मूल समितिलाई बुझाएको छ।
राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्य संयोजक रहेको दिगो विकास उपसमितिले यो प्रतिवेदन आज मुल समिति सभापति कमला पन्तलाई प्रतिवेदन बुझाएको हो।
‘यो प्रतिवेदन गहकिलो दस्तावेज बनेको छ,’ पन्तले भनिन्,‘यो दस्तावेज सरकारलाई मार्ग निर्देशन दिन सहयोगी बन्ने छ।’
उपसमितिको सदस्यहरूमा सांसदहरू वामदेव गौतम, जितजंग बस्नेत, भुवन बहादुर सुनार र सावित्री मल्ल थिए। उक्त समितिले यो प्रतिवेदन लामो समयको छलफल र अध्ययनबाट तयार पारेको समितिका संयोजक डाक्टर शाक्यले जानकारी दिए।
यो प्रतिवेदन तयार पार्न राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पररापष्ट्र मन्त्रालय, अर्थमन्त्रालय, वाणिज्य तथा आपुर्ति मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन महासंघ, निजी क्षेत्रलगायत सरोकारवाला निकायसँग बैठक गरिएको शाक्यको भनाइ छ।
नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए पनि अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकका सर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापि मान्यता छ।
यी शर्तहरुमध्ये संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक पूरा गरेको भए पनि अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन।








प्रतिक्रिया दिनुहोस्